१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इंग्लिस प्रिमियर लिग : हेर्नलायक ५ खेल 

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबार सुरु हुँदै छ । सुरुआती केही साताका प्रमुख ५ खेल यस्तो हुनसक्छ :

इंग्लिस प्रिमियर लिग : हेर्नलायक ५ खेल 

वेस्ट ह्यामविरुद्ध म्यानचेस्टर सिटी, अगस्ट १०

पछिल्लो सिजन म्यानचेस्टर सिटीले लिग उपाधि जित्न अन्तिम दिनसम्म कुर्नुपरेको थियो । यसक्रममा टोलीले लिभरपुलको चर्को चुनौती सामना गर्नुपर्‍यो । अन्तिम दिन सिटी १ अंकको अग्रताले मात्र लिग उपाधि जित्न सफल रह्यो । त्यो पनि लगातार दोस्रो सिजन । लिभरपुलसँगै अरू टिमको बलियो चुनौती पाखा लगाउन सिटीको प्रदर्शन त्यस्तै अब्बल दर्जाका हुनुपर्नेछ । यसको पहिलो सर्त हुनेछ ठोस सुरुआत । यस्तोमा सिटीको पहिलो खेल हुनेछ वेस्ट ह्यामविरुद्ध । सिटीले पछिल्ला चार खेलका लागि वेस्ट ह्यामको भ्रमण गर्दा सबैमा जित निकालेको छ । त्यसमाथि १७ गोल पनि गरेको छ ।


म्यानचेस्टर युनाइटेडका डानियल जेम्स । २१ वर्षे जेम्स युनाइटेडका नयाँ अनुबन्धित खेलाडी हुन् । स्वान्सी सिटीबाट व्यावसायिक डेब्यू गरेका उनी वेल्सका हुन् ।

म्यानचेस्टर युनाइटेडविरुद्ध चेल्सी, अगस्ट १०

फ्रान्क लाम्पार्ड खेलाडी छँदा चेल्सीका ‘लेजेन्ड’ थिए । अहिले उनी प्रशिक्षक भएका छन् । चेल्सीले आफ्नो पहिलो खेलका लागि म्यानचेस्टरको घरमा खेल्दा सबैको आँखा यिनै लाम्पार्डतर्फ केन्द्रित हुनेछ । म्यानचेस्टरको जिम्मेवारी यस्तै युवा प्रशिक्षकको हातमा छ, ओले गनर सोल्सायरका रूपमा । उनी पनि लिगमा राम्रो सुरुआत चाहन्छन् । गत सिजनको प्रदर्शन म्यानचेस्टरका लागि सुखद रहेन । यसपल्ट म्यानचेस्टरको पहिलो लक्ष्य हुनेछ, युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने । यो काम गर्न सकेन भने निश्चित रूपमा यी नर्वेली प्रशिक्षकको जागिर पनि दाउमा पर्न सक्छ ।


चेल्सीका युवा स्टार क्रिस्टियन पुलिसिक । बोरुसिया डर्टमन्डबाट व्यावसायिक करिअर सुरु गरेका २० वर्षे पुलिसिक जनवरीमा चेल्सी आएका हुन् । उनी कीर्तिमानी रकममा अनुबन्धित हुने अमेरिकी खेलाडी हुन् ।


म्यानचेस्टर सिटीविरुद्ध टोटेनहम, अगस्ट १७

यी दुवै टिमका समर्थक नभएकाहरू चाहन्छन्, म्यानचेस्टर सिटी र टोटेनहम भिड्दा त्यो खेलले युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको झल्को देओस् । इतिहाद मैदानमा भएको त्यस खेलमा टोटेनहम ४–३ ले पराजित रह्यो, तर घरबाहिरको गोल मदतले टोली सेमिफाइनल पुग्न सफल पनि रह्यो । त्यसको बदला लिँदै सिटीले लगत्तै भएको लिग खेल भने १–० जित्यो । यही जितले त हो लिगमा सिटीको पकड अझ बलियो भएको ।


लिभरपुलविरुद्ध आर्सनल, अगस्ट २४

सन् १९९० यता लिग जित्न नसकेर निराश रहँदै आएको लिभरपुलले गत सिजन विजेता बनेको म्यानचेस्टर सिटीलाई निकै नजिकबाट चुनौती दियो । योर्गन क्लोपले आफ्नो पहिलो ठूलो खेलमा आर्सनलका सामना गर्दा देखिनेछ, यसपल्ट यही लिभरपुलको खेल कस्तो हुनेछ भनेर । डिसेम्बरमा रोबर्टो फिर्मिनोको दुई गोल मदतले लिभरपुलले आर्सनललाई ५–१ ले हराएको थियो । उनाइ इम्रेको नेतृत्वमा आर्सनल अझै पुनर्निर्माणको क्रममा छ । विश्वास गर्न सकिन्छ लिभरपुलले फेरि एकपल्ट आफ्नो लन्डन क्लबविरुद्ध राम्रो खेल्नेछ ।


आर्सनलका डानियल सेवलोस । २३ वर्षे स्पेनिस मिडफिल्डर सेवलोस यसै सिजन लोनमा रियल म्याड्रिडबाट आएका हुन् ।

आर्सनलविरुद्ध टोटेनहम, सेप्टेम्बर १

यसपल्ट पहिलो उत्तरी लन्डन डर्बीको साइत चाँडै जुरेको छ । आर्सनलले यो खेलको आतिथ्यता गर्नेछ । यस खेलमा आर्सनलले त्यो खेल कसरी खेल्नेछ, त्यसले पूरा लिगमा उसले तय गर्ने बाटो पनि निर्धारण गर्नेछ । गत सिजन टोटेनहमविरुद्धका दुई खेलमा आर्सनलले ४ अंक बटुलेको थियो । तर समग्रमा भने आर्सनल एक अंकको दूरीले पाँचौं स्थानमा रह्यो । यसक्रममा आर्सनल लगातार चौथोपल्ट टोटेनहमभन्दा अंक तालिकामा पछाडि परेको थियो ।


कम्युनिटी सिल्डमा लिभरपुलका रोबर्टो फिर्मिनो र म्याचेस्टर सिटीका अलेकजेन्डर जिनचेन्को एयर बलमा जुध्दै । दुवै आ–आफ्नो टोलीका भरपर्दा खेलाडी हुन् । युक्रेनका जिनचेन्को २०१६ जुलाईदेखि सिटीमा छन् भने ब्राजिली स्टार फिर्मिनोले भने २०१५ को जुलाईयता लिभरपुलबाट खेलिरहेका छन् ।

प्रकाशित : श्रावण २३, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?