कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पहिलो खेल कुवेतमै खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०२२ मा हुने फिफा विश्वकपको छनोटअन्तर्गत पहिलो खेल काठमाडौंको सट्टा कुवेतमा खेल्ने अखिल नेपाल फुटबल संघको प्रस्ताव कुवेतले स्विकारेको छ ।

नियमित तालिकाअनुसार काठमाडौंमा हुनुपर्ने खेल दशरथ रंगशालाको पुनर्निर्माण सम्पन्न नभएका कारण पहिले अवे खेल खेल्न एन्फाले प्रस्ताव गरेको थियो ।

शुक्रबार कुवेत फुटबलले दुई देशबीचको तालिका हेरफेर गर्ने प्रस्तावमा स्वीकृति जनाएको हो । योसँगै नेपालले सबै होम खेल आफ्नै भूमिका खेल्ने निश्चित भएको हो ।

एन्फाले चाइनिज ताइपेई र जोर्डनसँग पनि तालिका हेरफेरका लागि प्रस्ताव गरेको थियो । दुवै देशले यसअघि नै स्वीकृत गरे पनि कुवेतले दुवै खेल आफ्नै भूमिका हुनुपर्ने अडान राख्दै आएको थियो । एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा) ले कुवेतको अडान अस्वीकार गरेपछि एन्फाको प्रस्तावमा सहमत हुन कुवेत बाध्य भएको हो ।

कुवेतको सहमतिपछि भदौ १९ मा हुने खेल कुवेतमा हुनेछ । अस्ट्रेलियासँगको खेलतालिका पहिला नै निर्धारण भएबमोजिम हुनेछ । नयाँ तालिकाअनुसार नेपालले आफ्नो पहिलो होम खेल मंसिर ३ मा खेल्नेछ । एन्फा र राष्ट्रिय खेलकुद परिषद्ले यसबारे कुराकानी गरिरहेको र त्यस समयमा खेल आयोजना गर्न नसक्ने अवस्था भएमा तटस्थ स्थलमा खेल आयोजना गरिनेछ ।

‘हामीले खेलकुद मन्त्रालय र राखेपसँग समन्वय गरिरहेका छौं । यदि हामीले मंसिर ३ मा खेल आयोजना गर्न संरचना तयार पार्न सकेनौं भने तटस्थ स्थानमा लगेर खेलाउने छौं,’ एन्फा प्रवक्ता किरण राईले भनेका छन् । कतारमा हुने विश्वकप–२०२२ र चीनमा हुने एसिया कप–२०२३ को छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै कुवेत, चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलिया छन् ।


विश्वकप–२०२२ छनोट

परिवर्तित खेलतालिका

कुवेतविरुद्ध नेपाल, भदौ १९

चाइनिज ताइपेईविरुद्ध नेपाल, भदौ २४

अस्ट्रेलियाविरुद्ध नेपाल, असोज २३

जोर्डनविरुद्ध नेपाल, असोज २८

नेपालविरुद्ध कुवेत, मंसिर ३

नेपालविरुद्ध चाइनिज ताइपेई, चैत १३

नेपालविरुद्ध अस्ट्रेलिया, चैत १८

नेपालविरुद्ध जोर्डन, जेठ २२, २०७७

प्रकाशित : श्रावण २५, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?