कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इंग्लिस प्रिमियर लिग : सिटीको रवाफ

एएफपी

लन्डन — रहिम स्टर्लिङको ह्याट्रिक सहयोगमा वेस्ट ह्यामलाई ५–० को फराकिलो अन्तरले हराउँदै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा अभियान सुरु गरेको छ ।

इंग्लिस प्रिमियर लिग : सिटीको रवाफ

पेप ग्वार्डिओला नेतृत्वको टोली सिटीलाई लगातार तीनपल्ट प्रिमियर लिगको उपाधि जित्ने अवसर छ । यो उपलब्धि अहिलेसम्म दुईटा क्लबले मात्र पाएका छन् । शुक्रबार रातिको लिगको उद्घाटन खेलमा लिभरपुलले आफ्नै मैदानमा नर्विच सिटीमाथि ४–१ को जित दर्ता गरेको थियो ।


क्लबका कीर्तमानी गोलकर्ता सर्जियो अगुइरोलाई प्रतिस्थापन गरी पहिलो रोजाइमा परेका गाब्रियल जेससले प्रशिक्षक ग्वार्डिओलाको विश्वास जित्दै २५ औं मिनेटमा पहिलो गोल गरेका थिए । सिटीले दोस्रो हाफमा बाँकी ४ गोल गरेको हो । पछिल्लो सिजनको गतिशील लय कायमै राखेको संकेत देखाएका स्टर्लिङले ५१ र ७५ औं मिनेटमा गोल गरी टिमलाई ३–० को अग्रता दिलाएका हुन् ।


चौथो गोल सिटीले पेनाल्टीमा गरेको हो । ८६ औं मिनेटमा बैकल्पिक स्ट्राइकर अगुइरोको पेनाल्टी प्रहार वेस्ट ह्यामका गोलरक्षक लुकाज फावियन्स्कीले रोकेका थिए । तर गोलरक्षक फावियन्स्की समयभन्दा चाँडै गोललाइनबाट अघि बढेको भन्दै भिडियो असिस्टेन्ट रेफ्री (भार) ले पुनः पेनाल्टी अनुमति दियो । दोस्रो प्रयासमा अगुइरोले गल्ती गरेनन् ।


खेलको अन्तिम समयमा स्टर्लिङले व्यक्तिगत ह्याट्रिकसहित सिटीको ५–० को जित निश्चित गरे । सिटीको यो नतिजाले शुक्रबार राति लिभरपुलको जितलाई छायाँमा पारिदिएको छ । गत सिजन सिटीभन्दा १ अंक कम भएपछि लिभरपुल प्रिमियर लिग जित्नबाट वञ्चित भएको थियो ।


सिटीका प्रशिक्षक ग्वार्डिओलाले लिभरपुललाई माथ दिन आफ्नो टोलीले गत सिजनभन्दा उत्कृष्ट प्रदर्शन आवश्यक पर्ने बताएका थिए । लगातार नवौं सिजनसम्म सुरुआती जितसाथ सिटीले उत्कृष्ट प्रदर्शन गरेको हो ।


लन्डन रंगशालामा सिटीले पछिल्लो ४ खेलमा १७–१ को गोलअन्तर कायम राखेको छ । यसको अर्थ सिटीले वेस्ट ह्यामलाई उसको मैदानमा प्रतिखेल ४ गोलभन्दा बढी गरेको छ । त्यसलाई यस खेलमा पनि निरन्तरता दियो । ग्वार्डिओलाले क्लब कीर्तिमानी अनुबन्ध गरेका स्पेनिस मिडफिल्डर रोडरीलाई प्रिमियर लिगको पहिलो खेलमै उतारे । रोडरीले वेस्ट ह्यामका घातक मिडफिल्डर म्यानुयल लान्जिनीलाई उनकै पेनाल्टी एरियामा व्यस्त बनाइराखे । तर खेलभर उनले डरलाग्दो आक्रमण बुन्न सकेनन् भने गोलका लागि पास उपलब्ध गराउन सकेनन् ।


बर्नान्डो सिल्भाको स्थानमा रियाद माहरेजलाई सुरुआती टिममा राख्नु ग्वार्डिओलाको अर्को आश्चर्यजनक निर्णय थियो । तर विंगरको पोजिसनमा दायाँ क्षेत्रबाट उनले विपक्षीमाथि निरन्तर खतरा उत्पन्न गरिरहे । स्टर्लिङको पछिल्लो दुई गोलका लागि उनैले पास उपलब्ध गराएका हुन् ।


वेष्ट ह्यामसँगको खेलअघि सिटीका माहरेजलाई इंग्ल्यान्डको एन्टी डोपिङ एजेन्सीले खेल्न स्वीकृति दिएको थियो । गत महिना अफ्रिका कप अफ नेसन्सको उपाधि जितेपछि नाकको शल्यक्रिया गराएका थिए । त्यसको मेडिकल प्रतिवेदन पेश गर्न ढिला गरेका कारण माहरेजले गत साता लिभरपुलसँगको कम्युनिटी सिल्डको खेल गुमाएका थिए ।


चोटका कारण गत सिजन लामो समय बेन्चमै बिताएका बेल्जियन मिडफिल्डर केभिन डी ब्रुयनले पनि यस सिजन उत्कृष्ट सुरुआत गरेका छन् । स्टर्लिङको पहिलो गोलका लागि सटिक पास उपलब्ध गराउने क्रममा उनले वेस्ट ह्यामको रक्षापंक्तिमाथि उत्कृष्ट ड्रिब्लिङ गरेका थिए ।


७५ औं मिनेटमा वेस्ट ह्यामले एउटा उत्कृष्ट अवसर पायो । टोलीका जाभियर हर्नान्डेज र लान्जिनीको प्रहार सिटीका ब्राजिलियन गोलरक्षक एल्डरसनले एकपछि अर्को बचाउ गरेका थिए ।


यसअघि सिजनको नयाँ सदस्य नर्विच सिटीविरुद्धको जितसँगै लिभरपुलले उपाधि यात्रा सुरुआत गरेको थियो । नर्विचका कप्तान ग्रान्ट हान्लेको आत्मघाती गोलसँगै लिभरपुलले सातौं मिनेटमै अग्रता बनाएको थियो । मोहम्मद सलाह, भर्जिल भान डाइक र डिभोक ओरिगीले गोल गर्दा पहिलो हाफमै नर्विच ४–० ले पछि परेको थियो । पहिलो खेलमै बेहोर्नुपरेको निराशाजनक नतिजाका कारण नर्विचलाई लामो सिजनका लागि नयाँ रणनीति आवश्यक देखिएको छ ।


दोस्रो हाफमा लिभरपुलले भने आक्रामक रणनीतिबाट पछि हटेको थियो । यसबीचमा तिमु पुक्कीले नर्विचका लागि एक गोल फर्काए । युरोपियन च्याम्पियन लिभरपुलले प्रिमियर लिगको ३० सिजनदेखिको उपाधि खडेरी तोड्न प्रयासरत छ । गत सिजन क्लब कीर्तिमान ९७ अंक जोडे पनि म्यानचेस्टर सिटीले १ अंकको अग्रता बनाउँदै लिग जितेको थियो ।


प्रशिक्षक योर्गन क्लोपको टोलीका लागि योभन्दा निकै नै कठिन खेल आउँदै छ । तर गत सिजनको अन्तिम ९ खेलमा लगातार जितका साथै म्याड्रिडमा युरोपियन च्याम्पियन बनेको लिभरपुलले त्यही रवाफ सुरुदेखि नै कायम राख्ने रणनीति लियो । च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा नायक बनेका ओरिगीले फाइनलमा टोटेनहमविरुद्ध चारमध्ये २ गोल गरेका थिए ।


बेल्जियन स्टार ओरिगीले साडियो मानेको स्थानमा टिमको सुरुआती स्थान पाएका थिए । गत महिना सेनेगललाई अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुर्‍याएका मानेलाई आराम दिइएको थियो ।


भारको सिकार जेसस

लन्डन (रोयटर्स)– प्रिमियर लिगमा पहिलोपल्ट प्रयोग गरिएको भिडियो असिस्टेन्ट रेफ्री (भार) को पहिलो सिकार बनेका छन् म्यानचेस्टर सिटीका ग्याब्रियल जेसस । साबिक विजेता सिटीले वेस्ट ह्यामविरुद्धको खेलमा जेससको गोल भीएआरले अस्वीकृत गरिदिएको छ ।


खेलको ५३ औं मिनेटमा जेससले रहिम स्टर्लिङको पासमा उत्कृष्ट मुभ लिँदै व्यक्तिगत दोस्रो र टिमलाई ३–० को अग्रता दिलाएको ठानेका थिए । तर बक्सभित्र दौडिरहेको समयमा स्टर्लिङ केही मात्र अफसाइड देखिएपछि भीएआरले गोल अस्वीकृत गरिदिएको हो ।


प्रिमियर लिगमा पहिलोपल्ट भारको प्रयोग गरिएको हो । यो प्रविधि यसअघि विश्वकप र च्याम्पियन्स लिग जस्ता उच्चस्तरको प्रतियोगितामै प्रयोग गरिसकिएको छ । तर भारको रिभ्यू प्रणालीबारे खेलाडी, प्रशिक्षक र निराश समर्थकबाट मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?