२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एभीसी सेन्ट्रल जोन भलिबल : इतिहास कोर्ने लक्ष्य

कुशल तिमल्सिना

काठमाडौँ — दुई वर्षअघि माल्दिभ्समा सम्पन्न एभीसी सिनियर मेन्स सेन्ट्रल जोन प्रतियोगितामा तेस्रो हुँदै नेपालले भलिबल इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको थियो । त्यही प्रतियोगिताको पाँचौं संस्करण घरेलु कोर्टमै अर्को सातादेखि आयोजना हुँदै छ । नेपालले ऐतिहासिक फाइनलको लक्ष्यअनुसार तयारीलाई अन्तिम रूप दिइरहेको छ ।

एभीसी सेन्ट्रल जोन भलिबल : इतिहास कोर्ने लक्ष्य

यसअघिका चारै संस्करणमा राष्ट्रिय टोलीबाट खेलेका कप्तान इम रानामगर र धनबहादुर भट्ट मात्र अहिले छन् । इम आफ्नो टिमको तयारीबाट पूर्ण सन्तुष्ट त छैनन् तर घरेलु कोर्ट र समर्थक टिमका लागि आत्मविश्वासको हतियार हुने उनले बुझेका छन् ।


‘यति ठूलो प्रतियोगिताका लागि २ महिनाको तयारी कम नै हो । भारतसँगको खेल रद्द भएपछि मैत्रीपूर्ण खेल पनि खेल्न पाएनौं । अफगानिस्तानसँग अन्तिम समयमा अभ्यास खेल खेल्दै छौं, यही हामीलाई परीक्षण हुनेछ,’ नेपाल पुलिस क्लबबाट व्यावसायिक भलिबल खेल्दै आएका इमले भने, ‘यसअघि पनि तयारी यस्तै हुने गरेको थियो । यसपल्ट हाम्रो परम्परागत समस्याको रूपमा रहेको रिभिस र ब्लक सुधारमा धेरै प्रयास गरेका छौं । हामीलाई घरेलु कोर्ट र दर्शकको साथ हुनेछ ।’


इमले फाइनलको लक्ष्य बताए पनि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नेदरल्यान्ड्सका हान अविङका अनुसार अफगानिस्तानसँगको खेलपछि मात्रै टिमको लक्ष्य निर्धारण हुनेछ । उनी अभ्यासको उपलब्धि खेलमा हेर्न आतुर छन् । त्यसकै लागि नेपाल भलिबल संघले भारतसँग मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो । अन्तिम समयमा खेल रद्द गरिएपछि निराश बनेका प्रशिक्षक अविङ प्रतियोगिताको अन्तिम समयमै भए पनि अफगानिस्तानसँग अभ्यास खेल हुन लागेकोमा खुसी छन् ।


‘प्रतियोगिताअगाडि हामीलाई मैत्रीपूर्ण खेल जरुरी थियो । मैले जिम्मेवारी लिएपछि स्थानीय प्रशिक्षकहरूसँग छलफल गरी सर्भर, ब्लक र रिसिभमा केन्द्रित रहेर प्रशिक्षण गराएको थिएँ । धेरै सुधार भएजस्तो लाग्छ, अफगानिस्तानसँगको खेल हाम्रा लागि परीक्षण हुनेछ,’ प्रशिक्षक हानले थपे, ‘अफगानिस्तानसँगको खेलपछि मात्रै हामीले प्रतियोगिताका लागि रणनीति बनाउनेछौं र लक्ष्य निर्धारण गर्नेछौं ।


उनले आफ्नो टिमको बलियो पक्ष आत्मविश्वास र टिम स्पिरिट भएको बताए । राष्ट्रिय टिमको छनोट गर्न निकै कठिन भएको स्मरण गर्दै उनले नेपालकै उत्कृष्ट १४ जना खेलाडी छनोट गरेको दाबी गरेका छन् । ‘नयाँ र पुराना खेलाडीको मिश्रण टिममा छ । धेरै प्रतिस्पर्धापछि उनीहरू छनोट भएका हुन् । टिममा पर्न नसकेका खेलाडीहरू पनि कम क्षमताका होइनन्, उनीहरू आगामी प्रतियोगिताहरू टिममा आउन सक्छन्,’ प्रशिक्षक हानले भने ।


‘हाम्रो बलियो पक्ष आत्मविश्वास हो । सबै खेलाडी फिट छन्, क्षमतावान छन् र धेरै जम्प गर्न सक्छन् । टिम स्पिरिटमा भिजेका छन्,’ उनले थपे, ‘प्रतियोगिता भनेको परीक्षा हो, जित या हार हाम्रो हातमा हुँदैन । किनभने मैले विपक्षीको प्रदर्शन कमजोर बनाउन सक्दिनँ । हामीले आफ्नो प्रदर्शन राम्रो गर्ने हो । हामीले आत्मविश्वास र टिम स्पिरिटका साथ आफ्नो खेल खेल्ने हो ।’ उनले खेलाडीको क्षमता र टिम एकताका आधारमा राम्रो एक्स्पोजर पाएमा उत्कृष्ट टिम बन्ने भविष्यवाणी पनि गरेका छन् ।


नेपालले २०७२ सालमा पहिलो एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल खेलेको थियो । त्यसयता नेपालले पहिलोपल्ट आयोजना गर्न लागेको यस प्रतियोगिता भलिबल संघको इतिहासमै सर्वाधिक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगितामा अहिलेसम्मको अनुभवबारे इमले भने, ‘पहिलो संस्करणमा हामी कमजोर थियौं, किनभने प्रतिद्वन्द्वीबारे जानकारी नै थिएन । रणनीति बनाउन पनि सकेनौं,’ उनले भने, ‘त्यसयताका प्रतियोगितामा हामीले क्रमशः सुधार गर्‍यौं, तेस्रो संस्करणमा त माल्दिभ्समा तेस्रो भयौं । प्रतिस्पर्धीहरूबारे हामी पूर्ण जानकार छौं ।’


प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, अफगानिस्तान, उज्वेकिस्तान, कीर्गिस्तान र साविक विजेता तुर्कमिनिस्तान सहभागी हुनेछन् । इमले बंगलादेश र माल्दिभ्सबाहेक बाँकी ४ टोली उच्चस्तरको रहेको भन्दै सचेत हुनुपर्ने बताए । ‘माल्दिभ्स र बंगलादेश हाम्रै स्तरको हो । बाँकी ४ टोलीका खेलाडीलाई उचाइको फाइदा छ,’ उनले भने, ‘तर हामी घरेलु कोर्टमा खेल्दै छौं ।’


नयाँ प्रशिक्षक आएपछि फिटनेसलाई विशेष ध्यान दिइएको छ भने रणनीति केही परिवर्तन भएको छ । ‘अहिलेसम्म हामीले २ नम्बर जोनबाट खेल्नेलाई रिसिभरको रूपमा प्रयोग गर्ने गरेका थियौं । नयाँ प्रशिक्षकले उनीहरूलाई ‘वेट एट्याकर’ का रूपमा प्रयोग गरेका छन्, त्यसअनुसार अभ्यस्त भइसकेका छौं,’ डच प्रशिक्षकबारे इमले भने, ‘हामीले यसअघि पनि इरानी र नेदरल्यान्ड्सकै प्रशिक्षकबाट प्रशिक्षित भइसकेका छौं । उहाँले केही फरक गर्ने प्रयास गर्नुभएको छ ।’


प्रतियोगिताका लागि खेलतालिका निर्धारण गरिसकिएको छैन । प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म आयोजना हुनेछ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहल पुनर्निर्माणको क्रममा रहेकाले लगनखेलस्थिन त्रिभुवन आर्मी क्लबको कभर्डहलमा प्रतियोगिता सन्चालन हुनेछ । करिब साढे २ करोड बजेटको अनुमान गरिएको प्रतियोगिताको तयारी भलिबल संघले अन्तिम चरणमा पुर्‍याएको छ ।


भलिबल संघले आइतबार घोषणा गरेको १४ सदस्यीय नेपाली टोलीमा ३ नयाँ अनुहार छन् । प्रशिक्षणमा रहेका १६ मध्येबाट १४ जनाको अन्तिम टिम छनोट गरिएको टिम म्यानेजर मंगल श्रेष्ठले जानकारी दिए ।


३ नयाँ खेलाडी


प्रतिस्पर्धात्मक छनोटबाट छानिएका ३ खेलाडीले सेन्ट्रल जोन प्रतियोगितामार्फत पहिलोपल्ट राष्ट्रिय टोलीको जर्सी लगाउँदै छन् । पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका त्रिभुवन आर्मीका राजेन्द्र विष्ट र दुर्गा खडका तथा एपीएफका टेकराज अवस्थीले प्लेइङ सेटमा स्थान बनाउने प्रयास गर्ने बताए । वषौंको सपना पूरा भएकोमा उनीहरू गदगद छन् । राजेन्द्रले तेस्रो, टेकराजले दोस्रो र दुर्गाले पहिलो प्रयासमै राष्ट्रिय टोलीमा छनोट हुन सफल भए ।


राजेन्द्र विष्ट, त्रिभुवन आर्मी

दार्चुलाका राजेन्द्रले स्कुल पढदादेखिकै सपना पूरा भएको बताए । उनले २०६६ सालमा विद्यालयस्तरीय प्रतियोगिता हुँदै राष्ट्रपति रनिङ सिल्ड र क्षेत्रीय टोलीमा समावेश भएका थिए । २०६८ सालमा सेनामा भर्ती भए पनि २०७० देखि मात्र त्रिभुवन आर्मी क्लबमा आएका राजेन्द्रलाई अन्तर्राष्ट्रिय खेलाडीको सपना पूरा गर्न ६ वर्ष लाग्यो ।


‘सन् २०१६ मा तेस्रो सेन्ट्रल जोनदेखि नै क्याम्पमा परेर बाहिरिनुपरेको थियो । तेस्रो प्रयासमा राष्ट्रिय टोलीमा आउन पाउँदा सपना पूरा भएजस्तो लागेको छ,’ ओपनर स्पाइकरको भूमिकामा खेल्ने २५ वर्षीय राजेन्द्रले भने, ‘लगातार असफल भए पनि मैले हरेस खाइनँ, निरन्तर प्रयास गरिरहेँ, प्रशिक्षक र सिनियर दाइहरूले पनि सहयोग गर्नुभयो । मेरो स्पाइकिङ र रिसिभ राम्रो छ, सुरुआती टिममै पर्ने प्रयास गर्नेछु ।’


टेकराज अवस्थी, डडेलधुरा

सुदूरपश्चिम प्रदेशकै अर्को जिल्ला डडेलधुराका २२ वर्षे टेकराज अवस्थी पनि ओपन स्पाइकर पोजिसनकै हुन् । ४ वर्षदेखि एपीएफमा आबद्ध उनले गाउँबाट आएर राष्ट्रिय टोलीसम्मको आफ्नो यात्रालाई निकै ठूलो मानेका छन् । स्कुलस्तरमा कराँते खेल्ने उनले उमेरसँगै उचाइ बढेपछि भलिबलमा लागेको बताए । ‘परिवारको साथ र मेरो मिहिनेतले मैले यो यात्रा तय गरेको हो, मेरो पोजिसनमा धेरै प्रतिस्पर्धा हुन्छ । सबैको साथ पाए आफूलाई प्रमाणित गर्नेछु,’ उनले भने ।


दुर्गाबहादुर खड्का, रामेछाप

रामेछापका दुर्गाबहादुर खड्काले त्रिभुवन आर्मी क्लबमा आएपछि भलिबलको आधारभूत ज्ञान लिएका हुन् । २०७२ सालमा नेपाली सेनामा आबद्ध भएको २ वर्षपछि मात्रै उनले भलिबल खेल्न थाले । कपिलकिशोर श्रेष्ठ र जगदीश भट्टले भलिबल सिकाएको बताउने २५ वर्षीय दुर्गाले मिडिल ब्लकरको पोजिसनमा खेल्छन् ।


पहिलो प्रयासमै राष्ट्रिय टोलीमा स्थान बनाउन सकेकोमा उनलाई विश्वास नै लागेको छैन । ‘म टिममा परेँ भन्ने थाहा पाउँदा विश्वास नै लागेको थिएन, राष्ट्रिय खेलाडीले भरिएको आर्मी टिमबाट पनि मैले नियमित खेल्ने अवसर पाएको धेरै भएको थिएन,’ उनले भने, ‘टिममा परेपछि सुरुआती ६ जनाभित्र पर्ने आशा स्वाभाविक रूपमा हुन्छ । म पनि प्रयास गर्नेछु, प्रशिक्षकले सिकाउनुभएको सीप कार्यान्वयन गर्नेछु ।


नेपाली टिमः

सेटर : इम रानामगर (कप्तान), हरिहजुर थापा

लिब्रो : ईश्वर थापामगर, विनोद चन्द

आउटसाइड हिटर

४ नम्बर जोन (स्पाइकर) : राजीव (धनबहादुर) भट्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, राजेन्द्र विष्ट

मिडिल ब्लकर

३ नम्बर जोन (क्विकर) : हरि अधिकारी, दुर्गा खडका र दीपकराज जोशी

अपोजिट

२ नम्बर जोन (अलराउन्डर) : विशाल विक, राजकुमार निरौला र नरेन्द्र गिरी

प्रकाशित : श्रावण २७, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?