१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रिमियर लिगका तीन संकेत

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिगको रोमान्चक नयाँ सिजन सुरु भइसकेको छ । उपाधि दाबेदार टोली म्यानचेस्टर सिटी र लिभरपुलको गोल वर्षाका साथै भिडियो असिस्टेन्ट रेफ्री (भार) विवाद समाचारका हेडलाइन बनेका छन् । विश्वमै सबैभन्दा धेरै हेरिने प्रिमियर लिगको नयाँ सिजनको पहिलो साता समाप्तिमा देखिएका तीन मुख्य विषय एएफपी स्पोर्ट्सले यसरी उल्लेख गरेको छ :

प्रिमियर लिगका तीन संकेत

म्यानचेस्टर सिटी र लिभरपुलको संकल्प

युरोपियन च्याम्पियन लिभरपुलले नर्विच सिटीविरुद्ध ४–१ को सानदार जितसाथ प्रिमियर लिगको उपाधि यात्रा सुरु गरेको छ । जर्मन प्रशिक्षक योर्गन क्लोप नेतृत्वको लिभरपुल सन् १९९० पछि पहिलोपल्ट प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा छ । उसले पहिलो हाफमै चार गोल गरेर सिटीको दबदबा समाप्त गर्ने दृढ संकल्प प्रस्तुत गर्‍यो । तर सिटीले त्यो भन्दा पनि उत्कृष्ट जितसाथ जवाफ दियो । लन्डन रंगशालामा सिटीले वेस्ट ह्यामको पोस्टमा ५ गोल गर्न सफल भयो । ग्याब्रियल जेससले गोलको खाता खोलेपछि रहिम स्टर्लिङले ह्याट्रिक पूरा गरे । वैकल्पिकका रूपमा आएर सर्जियो अगुइरो पेनाल्टीमा गोल गर्न सफल भए ।


गत सिजन लिभरपुललाई १ अंकले पछि छोड्दै सिटीले प्रिमियर लिगको उपाधि लगातार दोस्रोपल्ट जितेको थियो । शीर्ष २ स्थानमा उनीहरूको वर्चस्व यस्तो थियो कि वर्षौंको मिहिनेतले त्यो टिम निर्माण भएको थियो । यहाँसम्म कि टोटेनहमका स्ट्राइकर ह्यारी केनले पनि सिटी र लिभरपुलको स्तर समाउन टोटेनहमले धेरै कुरामा सुधार गर्नुपर्ने बताएका छन् ।


केनले अन्तिम समयमा २ गोल गरेपछि लिगको पहिलो खेलमा टोटेनहमले एस्टोन भिल्लामाथि ३–१ को जित रचेको थियो । ‘लिभरपुलले एउटा मानक तयार गर्‍यो, त्यसपछि सिटीले । हामीलाई थाहा छ कि यो निकै कठिन र लामो सिजन हुनेवाला छ,’ केनले भने, ‘हामीले जितको सुरुआत त गरेका छौं तर अझै सुधार गर्नुपर्ने ठाउँ धेरै छन् ।’



नयाँ सिजन, नयाँ युनाइटेड

पछिल्लो सिजनको अन्तिम ६ खेलमा जित हासिल गर्न नसकेको म्यानचेस्टर युनाइटेडका लागि नयाँ सिजनमा तीव्र सुरुआत आवश्यक थियो । ट्रान्सफर अवधिमा युनाइटेडले मात्र ३ खेलाडी अनुबन्ध गरेको थियो । यी तीनै खेलाडीमा ह्यारी मगायर, आरोन वान बिसाका र डानियल जेम्सको डेब्यू खेलमा ओले गनर सोल्सायर नेतृत्वको टोली युनाइटेडले चेल्सीमाथि ४–० को प्रभावशाली जित निकाल्यो ।


विश्व कीर्तिमानी ८० मिलियन पाउन्डमा लेस्टरबाट आएका डिफेन्डर मगायरको उपस्थिति र वान बिसाकासँगको संयोजनले युनाइटेडको टाउको दुखाइ बनेको रक्षापंक्ति पहिलो खेलदेखि नै प्रभावशाली देखिएको छ । वैकल्पिकका रूपमा आएर गोल गरेका जेम्सले पनि नयाँ आशा देखाए । मार्कुस रासफोर्डको दुई र एन्थोनी मार्सलको एक गोलले युनाइटेडको जित निश्चित गरिसकेको थियो ।


युनाइटेडको अन्तिम दुई गोलमा पाउल पोग्बाको उल्लेख्य योगदान रह्यो । प्रि–सिजनभर अन्य क्लबसँगको अनुबन्धको रूपमा चर्चामा रहेका पोग्बा आफैंले ‘नयाँ चुनौती’ को इच्छा व्यक्त गरेका थिए । नतिजामा युनाइटेड हाबी देखिए पनि खेलभर चेल्सीले बल पोजिसन राखेको थियो । शट अन टार्गेट पनि उसैको धेरै थियो । तर पुनः एकपल्ट ओल्ड ट्राफोर्डमा घरेलु टोलीका लागि आशाका किरणहरू छरिएका छन् ।


विवादमुक्त रहेन भार

च्याम्पियन्स लिग र अन्य प्रमुख प्रतियोगितामा विवाद सिर्जना गरेपछि भारलाई यस सिजनदेखि प्रिमियर लिगमा पनि लागू गरियो । सुरुआती समिक्षामै यो व्यवस्थाका लागि अधिकांसको सकारात्मक प्रतिक्रिया छैन । भार प्रणाली यसअघि इंग्ल्यान्डको एफए कप र लिग कपमा लागू गरिसकिएको हो । गोल, पेनाल्टी वा अन्य निर्णायक क्षणमा हुने आशंका मेटाउनका लागि यसको प्रयोग सुरु भएको हो ।


तर वेस्ट ह्याममाथि सिटीको ५–० को जित र लेस्टरको वोल्भससँग गोलरहित बराबरीको नतिजापछि प्रशिक्षक र खेलाडीले नै भारले सही र निष्पक्ष नतिजा दिने क्षमतामा शंका गरेका छन् । लेस्टरविरुद्धको खेलमा लिन्डर डेन्डोन्करको गोल आफैं टिममेट विली बोलीको पाखुरामा लागेर रद्द गरिएकोमा वोल्भसका कप्तान कोनर कोडी आक्रोशित थिए । ‘त्यो गोल नै थियो । मानिसले हामीसँग भार छ भन्लान् र ह्यान्ड भएको निर्क्यौल पनि गर्लान् तर त्यति बेला विलीले बल देखेका थिएनन्,’ कोनरले भने, ‘हामीले भविष्यमा

आफ्नो हात मैदानबाहिरै राखेर खेल्नुपर्ने भएको छ ।’


रहिम स्टर्लिङ अफसाइड देखिएपछि सिटीका ग्याब्रियल नेससको गोल भारले रद्द गरिदिएको थियो । प्रिमियर लिगमा भारद्वारा रद्द भएको पहिलो गोल हो त्यो । त्यस घटनामा प्रशिक्षक पेप ग्वार्डिओला पनि सन्तुष्ट थिएनन् ।

प्रकाशित : श्रावण २८, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?