कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युजिल्यान्डलाई टेलरले उकासे

एएफपी

गल — रस टेलरले अविजित अर्धशतक बनाउँदै वर्षाले प्रभावित श्रीलंकाविरुद्धको पहिलो टेस्टमा न्युजिल्यान्डको गति कायम राखेका छन् । स्पिनर अकिला धनञ्जयले बुधबार ५ विकेट लिएपछि न्युजिल्यान्ड धर्मराएको अवस्थामा टेलरले महत्त्वपूर्ण इनिङ्स खेलेका थिए ।

न्युजिल्यान्डलाई टेलरले उकासे

वर्षाले पहिलो दिनमा पूरा खेल हुन नदिँदा न्युजिल्यान्ड ५ विकेट गुमाई २ सय ३ रनको अवस्थामा छ । भोजन समयमा भ्रमणकारी टोली ७१–३ को अवस्थामा पुग्दा टेलरले गलमा अविजित ८६ बनाउँदै उकासेका हुन् । धनञ्जयले चौथो पटक टेस्टको एक इनिङ्समा ५ वा सोभन्दा बढी विकेट लिएका हुन् ।


गत वर्ष उनको बलिङ एक्सनमा शंका गरिएपछि धनञ्जयले नयाँ हिसाबमा बलिङ गरेका थिए । टेलरले हेनरी निकोलससँग चौथो विकेटमा १ सय रनको साझेदारी गर्नुअघि स्पिनर धनञ्जयले कप्तान केन विलियम्सनसहित ३ विकेट सुरुआतमै लिएका थिए । न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिकासँगको यसअघिको टेस्टमा बेवास्ता गरिएका धनञ्जयले निकोलसलाई ४२ र त्यसपछि बीजे वाटलिङलाई १ रनमा आउट गरी न्युजिल्यान्डलाई थप दबाबमा ल्याएका थिए ।


‘मेरो बलिङ एक्सनमा त्यस्तो ठूलो परिवर्तन केही भएको छैन । मलाई केही परिवर्तन गर्नु थियो, जुन मैले स्पिन बलिङ प्रशिक्षक पियाल विजेतुङ्गाको मदतमा गरेको थियो,’ धनञ्जयले भने, ‘म उनलाई मेरो बलिङको भिडियोहरू पठाइरहेको हुन्थे र त्यसबारे छलफल गर्थें । अहिले म आफ्नो एक्सनलाई लिएर निकै खुसी छु ।’ टेलरलाई मिचेल सान्टनरले ८ रन बनाएर साथ दिइरहेका छन् ।


टेलरले श्रीलंकाको तीव्र र स्पिनलाई राम्रोसँग बुझेर खेल्दै टेस्टमा आफ्नो ३१ औं अर्धशतक बनाए । उनलाई धनञ्जयको बलिङ खेल्न पनि खासै समस्या भएन । धनञ्जयले टेलरलाई विभिन्न खाले बलहरू फालेका थिए । गलमा न्युजिल्यान्डका खेलाडीको टेस्टमा यो उच्च स्कोर हो । टिम म्याकइन्टोसले बनाएको ६९ रन गलमा न्युजिल्यान्डका खेलाडीको टेस्टमा यसअघिको उच्च स्कोर थियो । न्युजिल्यान्डलाई यस मैदानमा टिक्न निकै गाह्रो परेको विगत छ । यहाँ खेलिएको तीनै टेस्टमा टोलीले पराजय भोगेको छ ।


‘यहाँ खेल्न निकै गाह्रो हुन्छ । बल यसअघिभन्दा कति स्पिन हुने हो थाहा हुँदैन । तर हामीले बल टर्न हुन्छ भनेर अनुमान गरिरहेका थियौं,’ निकोलसले गलको विकेटबारे भने, ‘टेलर र मिचेलले केही राम्रो साझेदारी गरेमा वा तल्लोक्रममा कसैले रन हानेमा त्यो महत्त्वपूर्ण हुनेछ, किनभने यस्तो विकेटमा ब्याटिङ गर्नु निकै कठिन छ ।’


ओपनरद्वय जित रावल र टम लाथमले ६४ रन जोडेर न्युजिल्यान्डलाई राम्रो सुरुआत दिलाएका थिए । धनञ्जय बल निकै टर्न गराई विकेट लिन सुरु गरे । लाथमलाई ३० रनमा विकेटपछाडि क्याचआउट गराएका धनञ्जयले त्यसको तीन बलपछि विलियम्सनलाई शर्ट मिडविकेटमा श्रीलंकाली कप्तान दिमुथ करुणारत्नेबाट क्याच गराए । विलियम्सनले खाता खोल्न पनि भ्याएनन् । भोजनअगाडि अन्तिम ओभरमा धनञ्जयले रावललाई गुगली बलमा स्लिपमा ३३ रनमा क्याच गराए ।


विश्व टेस्ट च्याम्पियनसिपमा श्रीलंका र न्युजिल्यान्ड दुवैको यो पहिलो खेल हो । वर्षाका कारण २२ ओभरको खेल हुन सकेन ।

प्रकाशित : श्रावण ३०, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?