क्रिकेटकी खेलाडी, फुटबलकी रेफ्री

सन्जु पौडेल

रूपन्देही — विद्यालय जाँदा टिफिनका बेला जुन खेल पायो, त्यही खेलमा भाग लिने गर्थिन् । कुनै निश्चित खेलमा भाग लिन नपाएकाले उनी विद्यालयकै ‘अलराउन्डर’ थिइन् । तीव्र गतिमा दगुर्थिन् । मौका जुरे जतिका खेलमा प्रतिस्पर्धा गरिरहिन् । सबैभन्दा धेरै दौडमा रुचि रह्यो उनको । त्यो देखेर खेल शिक्षकले क्रिकेट खेल्न हौस्याए ।

क्रिकेटकी खेलाडी, फुटबलकी रेफ्री

स्थानीय बुटवल पब्लिक स्कुलमा अध्ययनरत उनले राम्रो क्रिकेट खेल्न थालिन् । अभ्यासलाई निरन्तरता दिँदै प्रतियोगितामा भाग लिन थालिन् । त्यही बेला खेल शिक्षकले विद्यालय छाडे । त्यसपछि तिलोत्तमा–४ की कृति सेनको क्रिकेट मोहमा बिराम लाग्यो ।

खेल्न भने छाडिनन् । जुनै खेल भए पनि शनिबार साथीसँग खेल्ने, सिक्ने गर्थिन् । साथीको लहलहैमा फुटबल खेल्न थालिन् ।


उनको खेलकौशल देखेर अखिल नेपाल फुटबल संघ (एन्फा) का जिल्ला सदस्य घनश्याम श्रेष्ठले एकेडेमीमा खेल्न बोलाए । त्यही हौसलाले उनको टोली एन्फा एकेडेमीमा गएर खेल्न थाल्यो । एन्फामा आवासीय रूपमा बसेर अभ्यास गर्ने विद्यार्थीको जर्सी र बुट हुन्थ्यो । उनीहरू स्पोर्टस सुज र सामान्य कपडामा खेल्थे । ‘जर्सी लाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले स्मरण गरिन्, ‘घरमा किन्दिनु भन्न सक्दिनथें, स्टक रहेका जर्सी लाउन पाएपछि खुसी भयौं ।’


उनले एकेडेमीका अग्रज विद्यार्थीको बुट पनि लगाउन पाइन् । ‘त्यही बुट सिलाउँदै लाउँदै, बल खेल्न सिक्न थालें,’ उनले भनिन्, ‘कसरी खेल्ने, के गर्ने भन्ने एकेडेमीका खेलाडी र प्रशिक्षकबाट सिकिन्थ्यो ।’ एकेडेमीमा फुटबल सिकिरहेकी थिइन् । त्यही बेला भैरहवामा क्षेत्रीय क्रिकेटका लागि छनोट प्रतियोगिता हुने जानकारी पाइन् । कृति त्यता हानिइन् । अन्ततः छनोट नै भइन् ।


०७० को सुरुमा क्षेत्र ४ को प्रतिनिधि भएर उनी क्रिकेट प्रतियोगितामा भाग लिन गइन् । ‘हाम्रो टोलीले हार्‍यो,’ उनले भनिन्, ‘तर राम्रो सिकाइ भयो ।’ यता फुटबलमा पनि राम्रै प्रदर्शन गरिरहेकी थिइन् । त्यही वर्ष उनलाई एकेडेमीबाट रौतहट जिल्लामा खेल्न जाने अवसर मिल्यो । जुनियर खेलाडी कृतिले एक साता रौतहटमा खेलिन् । त्यहाँ उनले एक गोल गरेकी थिइन् । त्यही गोलले उनलाई फुटबलमा फडो मार्न सघायो । मौका मिल्दा उनी फुटबल र क्रिकेटका साथ कबड्डी पनि खेल्थिन् ।


फुटबल र क्रिकेट दुवै खेलमा बराबर अघि बढिरहिन् । पश्चिमाञ्चलबाट खेल्दै प्रदेश ५ की खेलाडी बनिन् । फुटबलमा जुनियर भए पनि क्रिकेटमा उमेर समूहका प्रतियोगिता खेल्न थालिन् । राष्ट्रपति कप, सातौं राष्ट्रिय खेलकुदलगायत थुप्रै प्रतियोगितामा भाग लिइन् । सिक्दै प्रतियोगिताहरूमा सहभागिता जनाइरहिन् । फुटबलमा अग्रपंक्तिमा खेलिन् । अहिलेसम्म सहभागिता जनाएको क्रिकेट प्रतियोगितामा दुईपल्ट डकआउट भएकी उनले ४५ रनको व्यक्तिगत उच्च स्कोर बनाएकी छन् ।


०७३ सालमा इन्डो–नेपाल कबड्डी भएका बेला कृतिको घुँडाको लिगामेन्ट च्यातियो । त्यसपछि एक वर्षसम्म आराम गर्नुपर्‍यो । त्यसले उनलाई निराश तुल्यायो । आराम गर्ने समयमा उनी अरूले खेलेको हेर्ने र रेफ्रीबाट प्रत्येक साँझमा गर्ने समीक्षा सुन्ने गर्थिन् । त्यसले उनलाई विस्तारै रेफ्रीतर्फ आकर्षित गरायो । आराम अवधिमा उनले फुटबलका नियम र रेफ्रीको भूमिकाबारे बुझिन् । घाउ निको हुँदै गयो । मन रेफ्रीतिर गयो ।


सुनेकै आधारमा रेफ्री गर्ने मौका पाइन् । व्यावसायिक रेफ्रीसरह हेडसेट उनीसँग थिएन । एकेडेमीमा खेल हुँदा प्राप्त मौकामा उनले मोबाइलमा एयरफोन जोडेर त्यसकै माध्यमबाट बाहिर बसेका अग्रज रेफ्रीको आवाज सुनेर मैदानमा खेलाइरहेकी थिइन् । कसैले उनको तस्बिर लिएछ । तस्बिरमा एयरफोन प्रस्ट देखिएको थियो । उक्त तस्बिर केन्द्रमा पुग्यो । त्यहाँबाट सेनलाई सिकाउने रेफ्रीलाई फोन गरी एयरफोन लगाएर खेल खेलाउन दिएको प्रति प्रश्न गरे ।


तर कृतिको सिक्ने चाहना रोक्न नसकेर त्यसो गरेको जवाफ पठाएपछि उनको प्रशंसा भयो । त्यो प्रशंसाले अब उनी रेफ्रीको काम गर्न सक्ने फोर्थ अफिसियल र लाइन रेफ्री बन्न पुगेकी छन् ।


पछिल्लो समय उनले काठमाडौंमा सम्पन्न उपमेयर कपमा रेफ्रीको भूमिका निभाइन् । उनी सिक्दै गरेकी र सानी पनि भएकाले सेन्टर रेफ्रीको जिम्मा पाइनन् । उनलाई त्यही कुरा खडकयो ।


अक्सफोर्ड माविमा बीबीएस चौथो सेमेस्टर पढिरहेकी उनलाई अभिभावकले खेल्नबाट वञ्चित गरेका छैनन् । ‘तर पढेर जागिर गर्न दबाब दिनुहुन्छ,’ उनले सुनाइन्, ‘खेलबिना जिन्दगी चल्दैन । पैसा कमाउने कुरा त्यस्तै हो, हातखुट्टाले सकुन्जेल खेलमा सरिक हुन्छु ।’ जागिर खाएपछि खेल सञ्चालन भएका बेला लामो समयसम्म बिदा नपाइने भएकाले केही आँट्न नसकेको उनले बताइन् ।

‘आफैं खेल्दा होस् या खेलाउँदा धेरथोर कमाइ भइरहेको छ,’ उनले भनिन्, ‘यसमै खुसी छु ।’


खेलबाहेक केही सोच्न नसक्ने उनले सुनाइन् । फागुनमा बुटवलस्थित एन्फा एकेडेमीमा रेफ्री तालिम सञ्चालन भयो । उक्त तालिम लिएपछि उनले रेफ्री लाइसेन्स पाएकी हुन् । त्यसपछि अन्तरस्कुल छात्रछात्रा फुटबलमा सेन्ट्रल रेफ्री बनेर खेलाइन् । ‘खेलाडीलाई खेलाउन पाए अझ रमाइलो हुन्छ,’ उनले भनिन् । लिगामेन्टको समस्याले गर्दा रेफ्रीतिर होमिएकी उनले भनिन्, ‘यो पनि मेरा लागि ठूलो उपलब्धि हो ।’

प्रकाशित : श्रावण ३०, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?