कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लिभरपुललाई सुपर कप

एएफपी

इस्तानबुल — गोलकिपर एड्रियनले टम्मी अब्राहमको प्रहार रोकेपछि लिभरपुलले चेल्सीलाई पेनाल्टीमा ५–४ ले हराएर बुधबार यूईएफए सुपर कप जितेको छ । इस्तानबुलमा भएको आकर्षक खेल अतिरिक्त समयसम्म २–२ को स्थितिमा टुंगिएको थियो ।

लिभरपुललाई सुपर कप

मोहम्मद सलाहले लिभरपुलको पाँचौं क्रममा प्रहार गर्दासम्म पेनाल्टीमा सबै प्रहार सफल भएको थियो । त्यसपछि वैकल्पिक खेलाडी अब्राहमको प्रहारलाई एड्रियनले असफल पारे । नयाँ खेलाडीका रूपमा भित्रिएका एड्रियनले एलिसन बेकर घाइते भएपछि दोस्रो खेलमा मात्रै अवसर पाएका हुन् ।


‘लिभरपुललाई स्वागत छ । यो साता आकर्षक रह्यो । टिमका लागि म वास्तवमै खुसी छु । लिभरपुलबाट खेल्न पाउँदा खुसी छु र समर्थकबाट पनि खुसी छु,’ १० दिनअघि सम्झौता गरेका एड्रियनले भने । यो लिभरपुलको सुपर कपमा चौथो जित हो । उसले पछिल्लोपल्ट सन् २००५ मा इस्तानबुलमा च्याम्पियन्स लिग जितेसँगै सुपर कपमा सफलता हात पारेको थियो । लिभरपुलले यससहित युरोपेली प्रतियोगिताको १३ ट्रफी कब्जा गर्‍यो ।


‘दुवै टिमका लागि यो निकै कठिन खेल रह्यो । यो सबै जितसँग सम्बन्धित छ र अन्त्यमा त्यो हामीले हासिल गर्‍यौं,’ लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले भने ।


सुरुमा लिभरपुलका लागि साडियो माने स्टार बने । उनले ओलिभर जिरुडले चेल्सीलाई पहिलो हाफमा दिलाएको अग्रता तोड्दै बराबरी गरेपछि खेल ९० मिनेटसम्म १–१ को बराबरी टुंगियो । अनि मानेले क्लोपको टिमलाई ९५ औं मिनेटमा अगाडि बढाए ।


तर फ्रान्सेली रेफ्री स्टेफनी फ्रापार्टले चेल्सीलाई पेनाल्टी अवसर दिइन् । एड्रियनको सम्पर्कमा अब्राहम लडेपछि पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गर्दै खेल बराबरी गरे । फ्रापर्ट युरोपेली फुटबलमा पुरुषको मुख्य प्रतियोगिता खेलाउने पहिलो महिला निर्णायक बनेकी छन् ।


पेनाल्टी सुटआउटमा जोर्गिन्होले पनि गोल गरे तर त्यसले चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डलाई पहिलो ट्रफी दिलाउन सकेनन् । लाम्पार्डले चेल्सी खेलाडीका रूपमा सुपर कप दुईपल्ट गुमाएका थिए ।


‘खेल हार्नु निराशाजनक हो तर जसरी खेल्यौं त्यसले चेल्सीको सिजन केही हुनसक्छ । हामी ठीक छौं,’ लाम्पार्डले भने । उनले उनले २० वर्षे मासोन मोन्ट र २१ वर्षे अब्राहमलाई बेन्चमै छाडेपछि यो सिजन युवा खेलाडीलाई अवसर दिने जनाएका छन् । चोटबाट फर्किएका एनगोलो कान्टेले पनि खेले । जिरुडसँगै क्रिस्टियन पुलिसिचले पनि पहिलो रोजाइमा डेब्यू गरे ।


भान डाइकसँग मेसी र रोनाल्डो प्रतिस्पर्धी

पेरिस (बीबीसी)– लिभरपुलका भर्जिल भान डाइक र इंग्ल्यान्डकी लुसी ब्रोन्ज यूईएफए प्लेयर अफ द इयर अवार्ड २०१८–१९ को मनोनयनमा परेका छन् ।


लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो पनि पुरुषतर्फ अवार्डको मनोनयनमा परेका छन् । गत वर्ष यो अवार्ड लुका मोड्रिचले जितेका थिए । ब्रोन्ज महिलातर्फ अवार्डका लागि लियोनका सहकर्मी एडा हेगेनबर्ग र एमान्डिन हेनरीसँगै परेकी हुन् । लियोनकी २७ वर्षीया राइट–ब्याक र नेदरल्यान्ड्सका २८ वर्षे भान डाइक शीर्ष तीनको सूचीमा पहिलोपल्ट परेका हुन् ।


नर्वेली स्ट्राइकर हेगेनबर्ग र फ्रान्सेली मिडफिल्डर हेनरीसँगै लियोनबाट युरोपेली च्याम्पियन्स लिग जितेकी ब्रोन्जले फ्रान्समा सम्पन्न महिला विश्वकपमा इंग्ल्यान्डलाई सेमिफाइनल पुर्‍याउन मुख्य भूमिका खेलेकी थिइन् । प्रोफेसनल फुटबलर्स एसोसिएसन अफ द इयर २०१८–१९ को अवार्ड जितेका भान डाइक लिभरपुलको च्याम्पियन्स लिग र सुपर कप विजेता टिमका महत्त्वपूर्ण सदस्य हुन् ।


बार्सिलोना र अर्जेन्टिनाका फरवार्ड मेसीले यूईएफएको यो व्यक्तिगत अवार्ड सन् २००९ यता तीनपल्ट जितेका छन् भने युभेन्ट्स र पोर्चुगलका रोनाल्डो २००८ यता चारपल्ट उत्कृष्ट खेलाडी भएका छन् । हेगेनबर्ग २०१६ मा महिलातर्फकी विजेता हुन् । हेनरी पाँच सिजनयता चौथोपल्ट मनोनयनमा परेकी हुन् ।

प्रकाशित : श्रावण ३१, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?