कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तेन्दुलकरको कीर्तिमानतिर कोहली

एएफपी

पोर्ट अफ स्पेन — विराट कोहलीले स्तरीय प्रदर्शन गर्दै क्रिस गेललाई ओझेलमा पारेपछि भारतले वर्षाद्वारा प्रभावित एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ ।

बुधबार ट्रिनिडाडस्थित क्विन्स पार्क ओभलमा तेस्रो तथा अन्तिम खेलमा पाएको सफलतापछि भारतले शृंखला पनि जितेको छ ।


गेलले ४१ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ७२ रन बनाएपछि वेस्ट इन्डिजले ३५ ओभरमा २४४–७ को स्कोर बनायो । त्यसपछि डकवर्थ लुइस पद्धतिमा भारतलाई २ सय ५५ रनको नयाँ लक्ष्य दिइएको थियो । कोहलीले अविजित १ सय १४ रन बनाएपछि भारतले १५ बलअगाडि नै २ सय ५६ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो । किमो पाउलको बलमा विकेटकिपर साई होपले ११ रनमात्र बनाएको समयमा कोहलीको क्याच छाड्नु वेस्ट इन्डिजलाई निकै महँगो पर्‍यो ।


यो कोहलीको लगातार दोस्रो शतक हो । ९९ बलको इनिङ्समा १४ चौका प्रहार गरेका उनले म्यान अफ द म्याच र म्यान अफ द सिरिजको पुरस्कार पनि जिते । कोहलीको एकदिवसीय अन्तर्राष्ट्रियमा ४३ औं शतक हो । उनी सर्वाधिक शतक बनाउनेमा भारतकै सचिन तेन्दुलकरभन्दा ६ शतकले पछाडि छन् । कोहलीलाई श्रेयस ऐयरले पनि राम्रो साथ दिए । ऐयरले ४१ बल खेली ३ चौका र ५ छक्का प्रहार गर्दै ६५ रन बनाई तेस्रो विकेटमा कोहलीसँग १ सय २० रन जोडे ।


शृंखलाको पहिलो खेल वर्षाले रद्द बनाएको थियो । दोस्रो खेलमा भारतलाई जिताउनेक्रममा कोहलीले नै शतक बनाएका थिए ।


श्रीलंकाको संघर्ष

गल– देव्रेहाते स्पिनर एजाज पटेल गलमा ५ विकेट लिने न्युजिल्यान्डको पहिलो बलर बनेका छन् । उनको यो प्रयासमा श्रीलंका पहिलो टेस्टको दोस्रो दिन २२७–७ को संघर्षमय अवस्थामा छ । न्युजिल्यान्डको पहिलो इनिङ्स २ सय ४९ रनमै खुम्चिएको थियो ।


एन्जेलो म्याथ्युज र कुशल मेन्डिस ब्याटिङमा हुँदा श्रीलंकाले राम्रो आधार तयार पारेको थियो । म्याथ्युज चिया समयअगाडिको अन्तिम बलमा आउट भए । यहीबीचमा श्रीलंकाले १८ रनको अन्तरमा ५ विकेट गुमाएको थियो ।

मेन्डिसले ५३ र म्याथ्युजले ५० रन बनाए ।


१४३–२ को श्रीलंका १६१–७ को स्थितिमा पुगेको अवस्थामा निरोसान डिकवेला र सुरङगा लकमालले आठौं विकेटमा ६६ रन जोडे । डिकवेला ३९ र लकमाल २८ रनमा खेलिरहेका छन् ।


श्रीलंका अझै २२ रनले पछाडि छ । मुम्बईमा जन्मिएका पटेलले २९ ओभर बलिङ गर्दै ७६ रन खर्चेर ५ विकेट लिएका हुन् । न्युजिल्यान्डले २०३–५ को अघिल्लो दिनको स्कोरमा ४६ रनमात्र जोड्न सक्यो । रस टेलर अघिल्लो दिनकै स्कोर ८६ रनमा आउट भए । लकमालले ४ विकेट लिए । टिम साउथी १४ रनमा रनआउट भए ।

प्रकाशित : श्रावण ३१, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?