एभीसी सेन्ट्रल जोन भलिबल : नेपाललाई चोटको चिन्ता

कुशल तिमल्सिना

काठमाडौँ — पहिलोपल्ट नेपालमा हुने एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलको तयारीमा रहेको नेपाली टोली मुख्य खेलाडीहरूको चोटका कारण समस्यामा परेको छ ।

एभीसी सेन्ट्रल जोन भलिबल : नेपाललाई चोटको चिन्ता

अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलका क्रममा कप्तान इम रानामगर र मुख्य स्पाइकर धनबहादुर भट्टले चोट बोके । सोमबार सुरु हुने प्रतियोगिताका लागि उनीहरू फिट हुने अपेक्षा गरिएको छ ।


नेपालका दुई सिनियर खेलाडी बुधबार अफगानसँग पहिलो खेल्दा चोटग्रस्त भएका हुन् । इमको पिडौंलाको मांसपेसीमा समस्या देखिएको छ भने धनबहादुरको एङ्कलमा चोट लागेको छ । दुवैको बुधबारै स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरू बिहीबार अफगानिस्तानसँगको दोस्रो मैत्रीपूर्ण खेलमा बेन्चमा बसे ।


‘पिडौंलाको मंसपेसीमा समस्या छ । हिजो (बुधबार) एक्सरे गर्दा नसामा सामान्य समस्या भए पनि ठूलो समस्या नरहेको भनिएको छ । दुई दिन आराम गरी शनिबार ट्रेनिङमा फर्कने छु । प्रतियोगिताका लागि फिट हुन प्रयास गर्नेछु,’ कप्तान इमले भने ।


सेन्ट्रल जोन भलिबलका चारै संस्करण खेलेका इम र धनबहादुर आफ्नै देशमा हुन लागेको पाँचौं संस्करण पनि गुमाउन चाहँदैनन् । तेस्रो संस्करणमा तेस्रो भएको नेपालले फाइनलमा पुगेर ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्य लिएको छ ।


नेपाली टोलीका सहायक प्रशिक्षक जगदीश भट्ट सिनियर र अनुभवी खेलाडीको चोटले नेपालको प्रदर्शन खस्कन सक्नेमा चिन्तित छन् । तर अफगानसँगको मैत्रीपूर्ण खेलमा युवा खेलाडीको प्रदर्शनबाट सन्तुष्ट उनी उनीहरूले घरेलु समर्थकलाई निराश बन्न नदिनेमा दृढ देखिन्छन् ।


‘इम र धनबहादुर आ–आफ्नो पोजिसनमा नम्बर एक हुन् । उनीहरूबाट नेपालले पूरै प्रतियोगितामा निर्णायक प्रदर्शनको अपेक्षा गरेको थियो,’ सहायक प्रशिक्षक भट्टले भने, ‘चोट सामान्य भए पनि प्रतियोगिताभर नियमित प्रदर्शन गर्न सक्छन् भन्ने अझै विश्वस्त छैन । तर हामीले सोमबारसम्म उनीहरू पूर्ण फिट हुन्छन् भन्ने अपेक्षा गरेका छौं ।


‘अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा युवा खेलाडीको प्रदर्शन साँच्चै लोभलाग्दो देखियो । इम र धनबहादुरको अनुपस्थितिका बाबजुद दोस्रो खेलमा उनीहरूले अफगानी आक्रमण डटेर सामना गरे । घरेलु कोर्ट र समर्थकबीच उनीहरूले प्रतियोगिताका हरेक खेलमा यस्तै प्रदर्शन गर्न सक्छन् भन्ने आशा लागेको छ,’ भट्टले थपे ।


नेपाली टोलीका मुख्य प्रशिक्षक हान आविङ पनि सिनियर खेलाडीको अनुपस्थितिमा युवा खेलाडीबाट देखिएको प्रदर्शनबाट सन्तुष्ट छन् । चोटग्रस्त इमको स्थानमा बिहीबार हरिहजुर थापालाई खेलाइएको थियो । प्रशिक्षक हानले उनले आफ्नो जिम्मेवारी शतप्रतिशत निभाएको बताए ।


‘इमको चोट गम्भीर छैन तर भविष्यमा कस्तो हुन्छ थाहा छैन । इम नभए पनि आज हरिले उत्कृष्ट सेटरको रूपमा प्रदर्शन गरेको छ,’ हानले भने, ‘परिवारमा एउटा सदस्यलाई चोट लाग्दा समस्या हुन्छ नै तर उसको अनुस्थिति अन्यले कभर गर्न सक्नुपर्छ । हामीसँग क्षमतावान १४ खेलाडी छन् ।’


अफगानिस्तान फेरि पराजित

अफगानिस्तासँगको मैत्रीपूर्ण खेल शृंखला २–० ले जितेर नेपालले सेन्ट्रल जोन भलिबलको तयारीलाई करिब अन्तिम रुप दिएको छ । दोस्रो खेलमा नेपालले २–० को सेटमा पछि परेको स्थितिबाट पुनरागमन गरी ३–२ को सेटमा खेल आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा पनि नेपाल ३–२ कै सेटमा विजयी भएको हो ।


नेपालले सुरुआती सेट २२–२५, १५–२५ ले गुमायो । तेस्रो सेटको सुरुमा लगातार अंक जोडेको अफगानिस्तानले ४–० को अग्रता बनायो । त्यसलाई उसले मध्यसम्म कायम राख्यो । खेलको अन्त्यतिर राजेन्द्र विष्ट र टेकराज अवस्थीको केही उत्कृष्ट स्पाइकमा नेपालले पुनरागमनसहित सेट २६–२४ ले जित्यो ।


लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहलमा सम्पन्न खेलको चौथो र पाँचौं सेटमा नेपालले सुरुदेखि अग्रता बनायो । परम्परागत समस्यामा रहेको रिसिभ र ब्लकमा पनि नेपाली खेलाडीले सुधारिएको प्रदर्शन गरे । चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पारेर खेल २–२ को बराबरी गरेको नेपालले अन्तिम सेट १५–१२ ले जित्यो ।


प्रतियोगिताको तीन दिनअघिको यो जितले नेपाली टोलमीमा उत्साह बढेको छ । प्रशिक्षक हानले सुरुआती दुई सेटमा योजनाअनुसारको प्रदर्शन नभए पनि त्यसपछिका सेटमा अफगानिस्तानलाई दबाबमा राख्न सकिएकोमा खुसी व्यक्त गरे । ‘पहिलो र दोस्रो सेटमा हामीले योजनाअनुसार प्रदर्शन गर्न सकेनौं, खेलाडीहरू आत्तिएका देखिन्थे । त्यसपछिका सेटमा राम्रो खेले । समग्र प्रदर्शनमा अझै सुधार गर्नुपर्छ,’ उनले भने, ‘इमको स्थान लिएका सेटर हरिहजुरको प्रदर्शन सानदार थियो ।’


दोस्रो खेलभर बेन्चमा रहेका कप्तान इमले पनि सुरुआती २ सेट दबाबमा देखिए पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन भएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘पहिलो खेल जितेकाले दोस्रो पनि जित्नका लागि दबाब बढ्यो । त्यसैले खेलाडीहरू सुरुमा आत्तिए । पछिल्लो तीन सेटमा घरेलु कोर्ट र समर्थकको हौसलाले पनि उनीहरूले आफ्नो लय भेट्टाए । पछिल्ला सेटमा हामीले ब्लकमा सुधार गर्‍यौं । रिसिभमा पनि केही परिवर्तन पायौं तर पर्याप्त अझै छैन ।’


प्रतियोगिताको तयारीका लागि नेपालले साउन दोस्रो साता भारतको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण शृंखला आयोजना गरेको थियो । अन्तिम समयमा भारतीय टोली नआएपछि अफगानिस्तानसँगको खेलमा नेपालले आफ्नो क्षमता परीक्षण गरेको हो ।


अफगानसँगको खेलपछि मात्र प्रतियोगितामा आफ्नो लक्ष्य निर्धारण गर्ने बताएका प्रशिक्षक हानले घुमाउरो शैलीमा फाइनलसम्मको सपना देखेको प्रतिक्रिया दिए । ‘प्रतियोगिताका लागि अझै संगठित प्रदर्शन गर्नुपर्छ । हामीले एकपछि अर्को खेलमा सकारात्मक नतिजा ल्याउने हो । हरेक खेल जित्ने हाम्रो रणनीति हुनेछ,’ दुई महिनायता नेपाली टोलीको प्रशिक्षण सम्हालेका डच नागरिक हानले भने ।

प्रकाशित : श्रावण ३१, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?