१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पाथीभरा गोल्डकप : मोरङ टाइब्रेकरमा विजयी

आनन्द गौतम

(ताप्लेजुङ) — पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली हाबी हुँदा आयोजक जिल्ला ताप्लेजुङका दुवै टिम बाहिरिएका छन् । शुक्रबार मोरङको बेलबारी क्लबले आयोजक ताप्लेजुङ ११ लाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको छ ।

अघिल्लो दिन उद्घाटन खेलमा पोमुकेछाङ स्पोर्टिङ क्लब इलामको रेडहर्ससँग ३–० ले हारेको थियो ।


शुक्रबार निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । पेनाल्टीमा बेलबारीका सबै पाँचै खेलाडी गोल गर्न सफल भए । ताप्लेजुङका विकाश शेर्पाले पेनाल्टी विपक्षी गोलकिपरले पञ्च गरेर बाहिर पठाएपछि घरेलु टोलीले पराजय भोग्नुपर्‍यो । बेलबारीबाट पृथ्वी चौधरी, विवेक थापा मगर, मौसम सुब्बा, सञ्जु श्रेष्ठ र शंकर राईले गोल गरे । ताप्लेजुङका कृष राई, सन्तोष लिम्बु, मनिराज लिम्बु र सुशील लिम्बुले गोल गरेका थिए । दुवै टोलीले नयाँ पुस्ताका खेलाडी मैदान उतार्दा खेल प्रतिस्पर्धात्मक बनेको थियो । पाएका अवसरमा दुवै गोल गर्न असफल रहे ।


९० मिनेटपछि रेफ्रीले अतिरिक्त समय नथपी सिधै पेनाल्टी शुटआउटमा लगेका थिए । साँझ पर्न लागेको र समय पर्याप्त नभएका कारण टाइब्रेकरमा निर्णय लिनुपरेको रेफ्रीले जनाए ।


म्यान अफ द म्याच बेलबारीका कप्तान सूर्य श्रेष्ठ भए । उनले ५ हजार रुपैयाँ पाए । सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा शनिबार फिदिम स्पोर्टिङ क्लब पाँचथर र रेडहर्स क्लब इलामबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित : श्रावण ३१, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?