कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बैजनाथपुर रंगशालामा पिच निर्माणबारे अख्तियारको छानबिन

विनु तिम्सिना

विराटनगर — उपभोक्ता समितिमार्फत विराटनगर महानगर १९ बैजनाथपुर क्षेत्रीय रंगशालामा भएको क्रिकेट पिच निर्माणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । 

बैजनाथपुर रंगशालामा पिच निर्माणबारे अख्तियारको छानबिन

इटहरीस्थित अख्तियारको टोलीले बुधबार इन्जिनियरसहितको सहभागितामा मैदान निरीक्षण गरेको छ । अख्तियारले जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत र पिच निर्माणका लागि कार्यालयले करारमा नियुक्त गरेका दुई इन्जिनियरलाई लिएर स्थलगत अनुगमन गरेको हो ।

अख्तियारका प्रतिनिधिले क्रिकेट मैदानको लागत स्टमेट बनाई मूल्यांकन रिपोर्ट तयार पार्ने सिभिल इन्जिनियर मिथिलेश मण्डल र दीपेन्द्रकुमार साहसँग मैदानमै आवश्यक जानकारी लिए ।

यस विषयमा अख्तियारको गम्भीर ध्यानाकर्षण भएको र अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले बताए । ‘अनुसन्धानका भित्री पाटा अहिले नै भन्न मिल्दैन,’ उनले भने, ‘यस विषयमा स्थलगत निरीक्षण गरिएको छ, आवश्यक कागजपत्र झिकाएर अख्तियारले आवश्यक अनुसन्धान गरिरहेको छ ।’

टोलीले पिच निर्माण लागि खनिएको खाल्डो नापजाँच गर्नुका साथै क्रिकेट पिच बनाउन प्रयोग भएको ईंटा, बालुवा र गिटीको विवरण संकलन गरेर लगेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख बस्नेतले बताए । मैदान निर्माणका क्रममा स्वास्थ्य कार्यालय र उपभोक्ता समितिबीच भएको सम्झौतापत्र, उपभोक्ता समितिले बुझाएको बिलभर्पाइ र भुक्तानीका विवरणसमेत अख्तियार टोलीले लगेको उनले बताए । ‘अख्तियारबाट इन्जिनियरसहित टोली आएको थियो,’ उनले भने, ‘टोलीले मैदानको स्थलगत निरीक्षण गर्दै नापजाँच पनि गरेको छ । उपभोक्ता समितिले बुझाएका बिलभर्पाइ, भुक्तानीको विवरणलगायतका कागजपत्र लगेको छ ।’

प्रदेश १ सामाजिक विकास मन्त्रालयले ८५ लाख बजेट जिल्ला स्वास्थ्य कार्यालय मोरङलाई अख्तियारी दिएर क्रिकेट मैदान निर्माणका लागि निकासा दिएको थियो । त्यसमध्ये स्वास्थ्य कार्यालयले टेण्डर प्रक्रियाबाट ४२ लाख रुपैयाँमा पिच रोलर, ग्रास कटर, म्याट आदि खरिद गरेको जनाएको छ ।

४३ लाख रुपैयाँ बजेट अन्तर्राष्ट्रिय स्तरको पिच निर्माण गर्न कार्यालयले उपभोक्ता समितिसँग सम्झौता गरेको थियो । तर समितिले २८ लाख रुपैयाँबराबरको काममात्र सम्पन्न भएको भन्दै बिलभर्पाइ पेस गरेको थियो । जसमा कार्यालयले निरीक्षण गरी २६ लाख ५७ हजार रुपैयाँ भुक्तानी दिएको प्रमुख बस्नेतले बताए ।

उपभोक्ता समितिले मंगलबार फिल्डमा पत्रकार सम्मेलन गर्दै साढे दुई फिट गहिरो खाल्डो खनेर पाँच ट्रिपर फोडुवा गिटी, ५ ट्रिपर बालुवा र ३५ हजार ५ सय थान ईंट्टा बिछ्याउदा उक्त रकम खर्च भएको बताएको थियो ।

उपभोक्ता समितिले समयमै काम सम्पन्न गर्न नसकेको भए पनि पुनः काम गर्ने बताउँदै आएको छ । तर पिच निर्माणका लागि सम्झौता भएको रकममध्ये १५ लाख रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको छ । अब उक्त शीर्षकमा बजेट नभएको सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले यसअघि नै बताएका छन् ।

सम्झौताअनुसार उपभोक्ता समितिले ४३ लाख बजेटमा पाँच वटा पिच बनाउनुपर्ने थियो । पाँचवटा पिच बनाउन २० लाख बढी खर्च हुने अन्तर्राष्ट्रिय अम्पायर तथा क्युरेटर शिरीष उपाध्यायले बताए । मैदान मिलाउनेदेखि माटो पुर्नेलगायत अरु धेरै काम गर्नुपर्ने भएकोले फिर्ता भएबराबरको रकमले पिच बन्नसक्ने अवस्था छैन ।

प्रकाशित : श्रावण ३२, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?