कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

विराज टोली बाहिर

मलेसियन सुपर लिग च्याम्पियनविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि कप्तान विराज महर्जन टिममा परेनन् । प्रशिक्षक कालिन भन्छन्– फिटनेस एउटा पक्ष हो तर प्रशिक्षणमा विराजभन्दा अरु खेलाडीहरू राम्रो देखिए ।
राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमको तीन वर्षयता कप्तानी गर्दै आएका विराज महर्जन नेपाली टिममा स्थान बनाउन असफल भएका छन् । मलेसियन सुपर लिग च्याम्पियन जोहर दारुल ता‘जिम एफसीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि शुक्रबार घोषित २३ सदस्यीय नेपाली टिममा पर्न परेनन् ।

विराज टोली बाहिर

‘फुटबल प्रतिस्पर्धात्मक खेल हो । यसमा स्थान पाउन खेलाडीहरू कडा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमा विराज पछाडि पर्नु ठूलो कुरा होइन,’ राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिनले भने, ‘फिटनेस एउटा पक्ष हो तर प्रशिक्षणमा विराजभन्दा अरु खेलाडीहरू राम्रो देखिए । अभ्यासमा उनीहरू मिहिनेती देखिए । त्यसैले टिममा पक्कै पनि उत्कृष्ट खेलाडीले नै स्थान पाएका छन् ।’


राइट–ब्याकमा विराजको स्थान अजित भण्डारी वा दिनेश राजवंशी वा सरोज दाहालले लिन सक्छन् । विश्वकप २०२२/एसियन कप २०२३ को लागि भइरहेको प्रशिक्षणमा कालिनले उनीहरूलाई राइट–ब्याकमा अभ्यास गराइरहेका छन् । ‘हामीसँग विराजको स्थानमा खेलाउन तीन विकल्प छ । तीनै खेलाडी मिहिनेती छन्, राम्रा छन् । कसले खेल्ने भन्ने अन्तिम समयमा मात्रै निर्णय लिनेछौं,’ कालिनले भने ।


नेपाली टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहोर दारुलविरुद्ध भदौ ९ मा पासर गुडाङ रंगशालामा खेल्दै छ । उक्त खेलमा नेपाली टिमको कप्तानबारे पनि निर्णय भइनसकेको उनले बताए । नेपालले विश्वकप छनोटको पहिलो खेलमा भदौ १९ मा कुवेतविरुद्ध खेल्नेछ ।


मलेसियामा मैत्रीपूर्ण खेलपछि स्वदेश फर्केर विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टिमको घोषणा गर्ने पनि मुख्य प्रशिक्षक कालिनले बताए । ‘त्यसमा आफूलाई राम्रो देखाएर विराज टिममा फर्कन सक्छन्,’ उनले भने । बंगबन्धु गोल्डकप च्याम्पियन तथा यू–२३ टिमको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता टोलीका कप्तान विराज राइट–ब्याकमा खेल्दै आएका थिए ।


मुख्य प्रशिक्षकको रूपमा कालिनले गत मार्च महिनामा नेपाली टिम सम्हलोयता स्थापित खेलाडीहरू टिममा स्थान पाउन संघर्षरत छन् । उनले कप्तान विराजलाई बेन्चमै राखेर केही खेलमा अरुलाई अवसर दिएका थिए । विराज सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली फुटबलर पनि हुन् ।


सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भइरहेको प्रशिक्षणमा २८ खेलाडी सहभागी थिए । त्यसमध्ये विराजसहित त्रिदेव गुरुङ, विमल पाण्डे, सुवास गुरुङ र रवि सिलवाल मलेसिया यात्रा गर्ने २३ सदस्यीय टिममा छनोट भएनन् ।


पछिल्लोपल्ट चाइनिज ताइपेईविरुद्ध १–१ मा टुंगिएको मैत्रीपूर्ण खेलमा टिममा नरहेका फरवार्ड विमल घर्तीमगर मलेसिया यात्रालाई फर्किएका छन् । उनी माल्दिभ्सको टीसी स्पोर्ट्सबाट धिवेही प्रिमियर लिग खेलिरहेका छन् । मिडफिल्डर हेमन गुरुङले पनि टिममा पुनरागमन गरेका छन् ।


इन्डोनेसियन सुपर लिगमा पर्सिजा जकार्ताका लागि व्यस्त रहेकाले रोहित चन्द र जापानी क्लबमा ‘ट्रायल’ दिन पुगेकाले गोलकिपर किरण चेम्जोङलाई मलेसिया यात्रामा समावेश नगरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।


जोहोर दारुलविरुद्ध खेल्ने नेपाली टिम

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्स : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन

धिमाल, सुमन अर्याल

मिडफिल्ड : सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल

श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,

विशाल राई

फरवार्ड : विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?