कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोनाको खराब सुरुआत

एएफपी

म्याड्रिड — बार्सिलोनाले स्पेनिस ला लिगामा उपाधि रक्षा अभियान बिर्सनलायक हिसाबमा थालेको छ । खेलको अन्तिम समयमा वैकल्पिक खेलाडी अर्टिज अडुरिजले गरेको सनसनीपूर्ण भलीमा एथलेटिक बिलबाओले बार्सिलोनालाई १–० ले पराजित गर्‍यो । त्यसबाहेक बार्सिलोनाले चोटका कारण लुइस स्वारेजलाई पनि गुमाउन पुग्यो । 

बार्सिलोनाको खराब सुरुआत

स्वारेजले पिडौंला तन्किएका कारण ३७ औं मिनेटमा मैदान छाडेका थिए । यस सिजनको सकिएपछि संन्यास लिने घोषणा गरिसकेका अडुरिजले ८८ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । उनले एक्रोब्याटिक भलीमा गरेको प्रहारले बार्सिलोनाका गोलरक्षक मार्क एन्ड्रे टेर स्टेगनलाई जिल्याएको थियो ।


सिजन सुरु हुनुअघि घाइते भएका लियोनल मेसीबिना खेलेको बार्सिलोनाले खेलमा अधिपत्य कायम राखे पनि गोल गर्न चुकेको थियो । स्वारेज कति समयका लागि बाहिरिने निश्चित छैन । मेसी पनि मैदानमा फर्किने बेला भएको छैन । यसले बार्सिलोनालाई नेयमरलाई पुनः भित्र्याउनुपर्छ भन्ने दबाब थपिएको छ । जुलाईमा एट्लेटिको म्याड्रिडबाट आएका एन्टोइन ग्रिजमनमाथि स्वारेज र मेसीको भार लिनुपर्ने जिम्मेवारी आएको छ ।


गत सिजनमा ला लिगामा आठौं स्थानमा टुंग्याउँदा पनि बिलबाओले बार्सिलोनालाई फेब्रुअरीमा गोलरहित बराबरीमा रोकेको थियो । अडुरिजले गोल गर्नुअघि टोली पुनः अर्को महत्त्वपूर्ण अंक नजिक पुगेको थियो । अडुरिजले आफ्नो २० वर्षे खेलजीवनमा २ सयभन्दा बढी गोल गरेका छन् ।तर उनका लागि यो भने सबैभन्दा स्मरणीय रूपमा रहने छ ।


बार्सिलोनाका लागि एउटै खुसीको पक्ष भनेको फ्रान्क डी जोङको प्रदर्शनलाई लिएर थियो । सर्जियो बुस्केटको स्थानमा खेलाइएका डी जोङले उच्चस्तरीय प्रदर्शन गर्दै आफ्नो छनोट सही साबित गरिदिए । त्यसको तुलनामा ग्रिजमन भने केही अत्तालिएजस्तो देखिन्थे ।


कोटिन्हो बायर्नतर्फ

बायर्न म्युनिखले आक्रामक मिडफिल्डर फिलिप कोटिन्होलाई एक सिजनका लागि लोनमा बार्सिलोना पठाएको छ । अर्को सिजन पनि आवश्यक परेमा बायर्नले कोटिन्होको अनुबन्धित रकम बुझाउनुपर्नेछ । जर्मन च्याम्पियन्स टोलीले आगामी केही दिनमै २७ वर्षे ब्राजिली खेलाडी क्लबमा आबद्ध भइसक्ने जनाएको छ ।


बायर्नका प्रमुख कार्ल हेन्ज रुमेन्जीले भने, ‘उनको नामभन्दा पनि हामीलाई स्तर चाहिएको छ ।’ बार्सिलोना शुक्रबार ला लिगाको सुरुआती खेलमा बिलबाओसँग पराजित हुँदा दर्शकदीर्घामा रहेका कोटिन्हो २०१८ को जनवरीमा लिभरपुलबाट १४ करोड २० लाख पाउन्डमा नोउ क्याम्प आएका थिए । बार्सिलोनाबाट ७६ खेलमा २१ गोल गरे पनि उनले अपेक्षा गरेअनुरुप प्रदर्शन गर्न सकेका थिएनन् । उनी विभिन्न क्लबमा जाने भनेर जोडिएका थिए ।


बार्सिलोनाले नेयमरलाई लिनेक्रममा पेरिस सेन्ज जर्मेन (पीएसजी) लाई कोटिन्होसँगै अनुबन्धित रकम १० करोड युरो दिन सहमत भएको जनाइएको थियो । तर त्यसलाई पीएसजीले सहमत जनाएन । यसै महिनामात्र टोटेनहमले उनलाई लोनमा लिने इच्छा त्यागेको थियो । उनी आर्सनल र लिभरपुलमै फर्किने सम्भावना पनि देखिएको थियो ।

प्रकाशित : भाद्र १, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?