१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नयाँ शैली पस्कँदै युभेन्ट्स

एएफपी

मिलान — युभेन्ट्सले सिरी ए को नयाँ सिजन अबको सप्ताहन्त सुरु गर्दै छ, नयाँ प्रशिक्षक माउरिजियो सारीको नेतृत्वमा । लगातारको लिग च्याम्पियन युभेन्ट्सले फेरि एकपल्ट उपाधि जित्ने उद्देश्य राखेको छ ।

नयाँ शैली पस्कँदै युभेन्ट्स

यसका लागि टोलीले जोखिम उठाएको छ, भेट्रान प्रशिक्षक सारीमाथि । नौपल्ट लगातार उपाधि जित्ने अभियानमा रहेको युभेन्ट्सले शनिबार पार्माको सामना गर्नेछ । त्यस दिन बेन्चमा सारी भने हुने छैनन्, किनभने ६० वर्षीय प्रशिक्षकलाई निमोनिया भएको छ ।

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीमा एक वर्ष बिताएयता उनी फेरि इटाली फर्केका छन् । उनको चेल्सी बसाइ संघर्षपूर्ण रह्यो ।


त्यसअगाडि उनले नेपोलीमा तीन वर्ष बिताएका थिए । उनलाई भित्र्याएर युभेन्ट्सले आफ्नो परम्परा तोड्ने प्रयास गरेको छ । यसअघि क्लबलाई पाँच लिग उपाधि दिलाउने मासिमिलियानो एलेग्री जहाँ स्वच्छ र सफा छविका छन्, त्यहीं सारी लगातार चुरोट खाइरहनुपर्ने परम्पराबाट टाढा छन् । उनी सुट पाइन्टमा देखिँदैनन् ।


घरेलु फुटबलमा लगातार सफल रहे पनि क्लबमाथि आरोप छ, टिमले रक्षात्मक खेलमा बढी जोड दिन्छ । त्यसैले क्लब मालिकको इच्छा हो, टिमले आक्रामक फुटबल खेलोस्, जसलाई हेरेर दर्शक मख्ख परोस् । त्यसको अभावमा युभेन्ट्सका समर्थक इटालीमै कम भइरहेको पनि बताइएको थियो । त्यसैले विश्वास गरिएको छ, सारी आएयता युभेन्ट्सले आक्रामक फुटबल खेल्नेछ, जसले समर्थकलाई लोभ्याउने छ, भलै उनले चेल्सीका लागि एउटै उपाधि जितेका छन्, गत सिजनको युरोपा लिग ।


प्रशिक्षक माउरिजियो सारी। तस्बिर : एएफपी


गोलरक्षक जियानलुइजी बुफोन फेरि एकपल्ट टुरिन फर्केका छन् पेरिस सेन्ट जर्मेनबाट । उनलाई के विश्वास छ भने टिमको खेल्ने शैली परिवर्तत हुँदा त्यसले पक्कै पनि फाइदा गर्नेछ । ‘युरोपेली च्याम्पियन्स लिग जित्ने उद्देश्यमा छ युभेन्ट्स । त्यसैले नयाँ शैली अपनाउँदा राम्रो हुनेछ,’ ४१ वर्षीय बुफोनले भने, ‘सारीको फुटबल शैली नयाँ छ, उनी खासमै जोमिख उठाउन चाहँदैनन् । न त यो क्रान्तिकारी नै छ, त्यसैले टिममा सबै नयाँ हुनेछ ।’


यस सिजन युभेन्ट्सलाई दुई क्लबले चुनौती पेस गर्नेछ, कार्लो एन्सेलोट्टीको नेपोली र एन्टोनियो कोन्टेको इन्टर मिलान । तर सारीको अबको युभेन्ट्सको उद्देश्य ३६ औं पल्ट लिग जित्ने त हुने नै छ । त्यो भन्दा पनि मुख्य लक्ष्य हुनेछ सन् १९९६ यता च्याम्पियन्स लिग जित्ने । यसका लागि सारीको मुख्य खेलाडी हुनेछ क्रिस्टियानो रोनाल्डो । सारी मान्छन्, रोनाल्डो खेलमा एक्लै फरक पार्न सक्ने खेलाडी हुन् । डच स्टार म्याथिज डी लिग्टले डिफेन्स सम्हाल्ने छन् ।


उनलाई साथ दिने छन्, भेट्रान जियोर्जियो चिलिनी र लियोनार्दो बुनुची । गत सिजन युभेन्ट्स डी लिग्टकै अयाक्सको हातबाट पराजित हुँदै युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । यसै सिजनका लागि भनेर युभेन्ट्सले पीएसजीका एडरिन राबोट र आर्सनलका पूर्व स्टार आरोन राम्सीलाई भित्र्याएको छ । दुवैका लागि क्लब मोटो रकम पारिश्रमिक तिर्न तयार भएको छ । दुवै खेलाडी टिमले स्थानान्तरणमा नि:शुल्क पाएको थियो ।


युभेन्ट्सका खेलकुद निर्देशक फाबियो पाराटिसी पनि मान्छन्, सारी आएयता युभेन्ट्सले फरक ढंगले खेल्नेछ । उनले भनेका छन्, ‘सारी आएयता हामी खुसी छौं । डी लिग्ट आएपछि टिम अझ बलियो भएको छ । अब हाम्रो टिमको सबै क्षेत्र बलियो छ र गज्जबको टिम बनेको छ ।’ ब्राजिली लेफ्ट ब्याक एलेक्स सान्द्रो मान्छन्, सारी आएयता देखिने गरेर टिममा परिवर्तन आउन थालेको छ । ‘हामी सबै लिग कहिले सुरु भनेर पर्खिरहेका छौं,’ उनले भने ।

प्रकाशित : भाद्र ५, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?