चुनौती बेहोर्दै रिबेरी

एएफपी

मिलान — बायर्न म्युनिखका लिजेन्ड फ्रान्क रिबेरीले सिरी ‘ए’ क्लब फिओरेन्टिनासँग दुईवर्षे सम्झौता गर्दै बुधबार अन्तिमपल्ट चुनौती बेहोर्न लागेको बताएका छन् । फ्रान्सेली विंगरले ‘फ्रि–एजेन्ट’ को रूपमा गत मेमा १२ सिजनपछि बायर्न छाडेका हुन् ।

उनले बायर्नमा छँदा बुन्डेसलिगामा सर्वाधिक नौ उपाधिका लागि ‘केइजर फ्रान्क’ को उपनाम पाएका थिए । उनले बायर्नबाट क्लब स्तरमा २३ उपाधि जिते । उनी ३६ वर्षे उमेरमा पनि माथिल्लो स्तरको फुटबल खेल्नलाई निरन्तरता दिन चाहन्छन् । टस्कन क्लबसँग वार्षिक ४४ लाख डलर तथा बोनससहितको दुईवर्षे सम्झौतामा सहमति पनि जनाए ।


‘फ्रान्क रिबेरी हाम्रो हुन् ∕ लिजेन्डलाई स्वागत छ ∕,’ अमेरिकी स्वामित्वको क्लबले बैजनी रङको जर्सीसँगै फिओरेन्टिनाको मफलरमा रिबेरीको फोटो देखाएको छ । त्यसपछि रिबेरी र उनका पत्नी वाहिबाले इन्स्टाग्राममा ‘नयाँ चुनौतीका लागि तयार’ भन्दै निजी विमानमा चढेको फोटो पोस्ट गरेका छन् ।


रिबेरीलाई सन् १९८२ को विश्वकप विजेता र फिओरेन्टिनाका लिजेन्ड जियानकार्लो एन्टोग्नोनीले स्वागत गरेका थिए । जियानकार्लो क्लबको व्यवस्थापन पक्षमा संलग्न छन् । उनले इटाली सर्न मनाएका बायर्नका पूर्व सहकर्मी लुका टोनी (जो फिओरेन्टिनामा पनि खेलेका थिए) सहित हजारौं दर्शकलाई सम्बोधन गरे । ‘म खुसी छु । यहाँ म परिवारसहित आएको छु,’ रिबेरीले भने, ‘मैले फिओरेन्टिनासँग गत सातादेखि कुरा गरिरहेको थिएँ । लुका टोनीसँग पनि कुरा गरेँ । उनले फिओरेन्टिना महान् क्लब भएको बताए र सहर सुन्दर भएको पनि । मलाई पनि इटालियन मनपर्‍यो । मैले सुधार गर्नुपर्ने भए पनि यो बोल्छु ।’


रिबेरीले यसअघि टर्किस क्लब गालातासारे र फ्रान्सेली क्लब मार्से, ब्रेस्ट र मेट्जबाट खेलेका थिए । ‘मेरो लागि यो महत्त्वपूर्ण हो कि दुई वर्षको सम्झौता गरेको छु,’ रिबेरीले भने, ‘अर्को महत्त्वपूर्ण पक्ष म मेरो परिवारसँगै हुनेछु । अर्को दुई वर्ष उच्चस्तरको फुटबल खेल्ने भएकोमा म धेरै खुसी छु ।’


गत सिजन सिरी ‘ए’ मा १६ औं स्थानमा रहे पनि फिओरेन्टिनाले यसपालि ऐतिहासिक सफलता हात पार्ने महत्त्वाकांक्षा राखेको छ । क्लबका नयाँ मालिक इटालियन–अमेरिकी मिडिया व्यवसायी रोको कोमिसोका लागि रिबेरी पहिलो ठूलो अनुबन्ध हो । ‘भोलि उनलाई पूरा सहरसामु प्रस्तुत गर्नेछौं । हामी आर्टेमियो फ्रान्ची रंगशाला खोल्नेछौं, जहाँ उनलाई सबैले स्वागत गर्न सक्छन् । हामीले रंगशाला भरिने अपेक्षा गरेका छौं, जसका लागि च्याम्पियन (रिबेरी) योग्य छन्,’ कोमिसोका प्रतिनिधि जोए बारोनले भने ।


युवा वर्चस्व र प्रतिभावान फेडेरिको चिएसा, डुसान भ्लाहोभिच र निकोला मिलेन्कोभिचहितको महत्त्वाकांक्षी टिमका लागि रिबेरीको अनुभव महत्त्वपूर्ण हुनसक्छ । ‘फ्रान्क नेता हुन्,’ टोनीले भने, ‘जसले उनलाई बुझेका छैनन्, उनलाई निश्चित व्यवहारले आबद्ध गर्छन् । उनी लकर रूममा मित्रवत् छन् र युवालाई सहयोग गर्छन् ।’


रिबेरीले पहिलो खेल शनिबार गत वर्षको उपविजेता नेपोलीविरुद्ध खेल्न सक्छन् । फिओरेन्टिनाले सिरी ‘ए’ को उपाधि सन् १९५६ र १९६९ मा जितेको थियो ।

प्रकाशित : भाद्र ५, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?