उज्वेकिस्तान पहिलोपल्ट फाइनलमा

पाँचौं सेन्ट्रल जोन भलिबल

काठमाडौँ — एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलको उपाधिका लागि शनिबार किर्गिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् ।  लगनखेलस्थित आर्मी क्लबको कभर्डहलमा बिहीबार भएको सेमिफाइनलमा किर्गिस्तानले साबिक विजेता तुर्कमेनिस्तान र उज्वेकले पहिलो संस्करणको उपविजेता माल्दिभ्सलाई हराएर उपाधि भिडन्त पक्का गरेका हुन् । 

किर्गिस्तान पाँच संस्करणमा तेस्रोपल्ट फाइनल पुग्दा उज्वेक पहिलोपल्ट उपाधि नजिक बनेको हो । उज्वेकिस्तानले नेपाली भूमिमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा रोक्यो । अघिल्लो दिन नेपाललाई स्तब्ध पार्दै सेमिफाइनल पुगेको माल्दिभ्सले २५–२०, २५–१९, २५–२१ को सेटमा नतिजा सुम्पेको थियो । उज्वेकले स्पाइकबाट ३९ र विपक्षीको अनावश्यक गल्तीबाट २२ अंक बटुलेको थियो । उच्च स्कोरर सुलायमनले स्पाइकबाट १३ अंक जोडे । माल्दिभ्सले स्पाइकबाट ३४ र विपक्षीको गल्तीबाट २० अंक बटुल्दा टोलीका लागि अली अजामले १८ अंक जोडे । अलीले स्पाइकबाट १५ अंक बटुले ।


दुई छिमेकीबीचको सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानविरुद्ध पनि सोझो सेटमा नतिजा निकाल्यो । किर्गिजले २५–१७, २५–१८, २५–२२ ले सफलता पाएको थियो । तेस्रो संस्करणमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई फाइनलमा हराएर पहिलोपल्ट सेन्ट्रल जोनको उपाधि जितेको थियो । किर्गिस्तानका खेलाडीले स्पाइकबाट कुल ५२ अंक बटुले । केनबेक एक्लैले स्पाइकबाट २२ अंक जोडे । तुर्कमेनिस्तानले स्पाइकबाट ३६ अंक लिएका थिए । नुरीएभले १५ अंक बटुले ।


सेमिफाइनल पराजित तुर्कमेनिस्तान र मादिल्भ्सबीच तेस्रो स्थानको प्लेअफका प्रतिस्पर्धा हुनेछ । आयोजक नेपाल र अफगानिस्तानबीच पाँचौं स्थानको प्लेअफमा भेट हुनेछ । दुवै खेल शुक्रबार हुनेछ । समूह चरणका तीनै खेलमा पराजित बंगलादेश प्रतियोगितामा सातौं भएको छ । बंगलादेश दोस्रो संस्करणको विजेता र साबिक उपविजेता टोली हो ।

प्रकाशित : भाद्र ५, २०७६ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?