२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपोलीलाई ब्युँताउँदै एन्सेलोट्टी

एएफपी

मिलान — ठूला क्लबमा भएको प्रशिक्षकको फेरबदलबीच पनि बच्न सफल कार्लोस एन्सेलोट्टीसामु यसपल्ट नेपोलीलाई ब्युँताउँदै ३० वर्षयता पहिलोपल्ट सिरी ए उपाधि दिलाउने अवसर हुनेछ ।

नेपोलीलाई ब्युँताउँदै एन्सेलोट्टी

इन्टर मिलानमा पनि एन्टोनियो कोन्टे आएपछि इटालीको घरेलु लिगमा युभेन्ट्सको वर्चस्व यसपालि तोडिने विश्वास छ । तर शनिबार सुरु हुने यसपल्टको लिगमा युभेन्ट्सलाई पन्छाउने सबैभन्दा बलियो प्रतिद्वन्द्वी मानिएको नेपोली नै हो ।


गत सिजनको उपविजेता नेपोलीले लिग नजितेको पनि तीन दशक भइसकेको छ । जति बेला टोलीले सन् १९८७ र १९९० मा लिग जितेको थियो । त्यति बेला टिममा थियो अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोना । एन्सेलोट्टीको टिमले शनिबार फिओरेन्टिनाको सामना गर्नेछ ।


त्यसअघि माउरिजियो सारीको युभेन्ट्सले सामना गर्नेछ पार्माको । उसको ध्यान भने नवौंपल्ट लगातार लिग जित्नुमा हुनेछ । चिनियाँ लगानी रहेको इन्टरले यसपालिका लागि प्रशिक्षक नै फेरेको छ ।


युभेन्ट्स र चेल्सीका प्रशिक्षक कोन्टे फेरि इटाली फर्किएका छन् । यस्तै एसी मिलानले मार्को ग्याम्पोलो र रोमाले पाउलो फोन्सेका ल्याएका छन् प्रशिक्षकको जिम्मेवारीमा । सारीकै नेतृत्वमा दुई वर्षअघि नेपोली लिग उपाधिको निकै नजिक पुगेर पनि निराश हुनुपरेको थियो । नेपोली त्यति बेला ४ अंकले मात्र पछाडि परेको थियो र त्यसयता नेपोली छाडेर सारी चेल्सीमा गए । यिनै ६० वर्षीय सारी अहिले युभेन्ट्स फर्केका छन् ।


युभेन्ट्सले मासिमिलियानो एलेग्रीको नेतृत्वमा ५ उपाधि जिते पनि युभेन्ट्सले क्लबमा परिवर्तन ल्याउन सारी ल्याए । उनको जन्म नेपोलीमै भएको हो । यस्तोमा उनी युभेन्ट्स जानुलाई क्लब समर्थकले निको मानेका छैनन् । ‘नेपोली समर्थकका लागि त यो गद्दारी नै हो,’ कप्तान लोरेन्जो इन्सिग्ने मान्छन्, ‘अब हाम्रो उद्देश्य भनेको जसरी पनि सारीको टिमलाई हराएर जित्ने हुनेछ ।’


एन्सेलोट्टीले नेपोलीमा तीन वर्षको अनुबन्ध गरेका छन् । अहिले दोस्रो सिजन चलिरहेको छ । यसपालि उनी पनि कुनै न कुनै उपाधि जित्न चाहन्छन् । यी ६० वर्षीय प्रशिक्षकले युरोपमा प्रमुख ५ ठूला लिगको उपाधि जितेका छन् । उनले पछिल्लोपल्ट सन् २००४ मा एसी मिलानबाट सिरी ए जितेका थिए । नेपल्स आउनुअघि उनले तीन च्याम्पियन्स लिग उपाधि पनि जितेका छन्, मिलान र रियल म्याड्रिडबाट । उनले चेल्सीमा दुई वर्ष बिताए र त्यसक्रममा प्रिमियर लिग पनि जिते ।


यी अनुभवी प्रशिक्षक मान्छन्, पहिलो सिजनका क्रममा धेरै सिकियो । उनी भन्छन्, ‘हामीले राम्रो तयारी गर्‍यौं, अब त्यसको प्रतिफल निकाल्ने समय हो ।’ एन्सेलोट्टीले नयाँ सिजनका लागि भनेर सबै क्षेत्रमा सुधार गरेका छन् र यसका लागि डिफेन्समा कोस्टास मनोलस, मिडफिल्डमा एलिफ एल्मस र विंगरमा हिर्भिङ लोजानोलाई अनुबन्ध गरेका छन् । तर प्रश्न भने उही रहनेछ, के यसपल्ट नेपोलीले युभेन्ट्सको प्रभुत्व तोड्न सक्ला ?

प्रकाशित : भाद्र ६, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?