कावासोती नगरपालिकाका उपप्रमुखको सवारीमा आगजनी 

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर चढ्ने सरकारी सवारीमा अज्ञात समूहले गएराति आगजनी गरेको छ ।उपप्रमुख प्रेम शंकर मर्दनियाले प्रयोग गर्ने लु १ झ ३२१ नम्बरको गाडीमा गएराति आगजनी भएको हो । राति साढे १ बजे मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारीमा रहेको सवारीमा आगजनी भएको प्रहरीले जनाएको छ । 

उपत्यकामा बन्दकाे प्रभाव न्यून 

नेत्रविक्रम चन्द समूहले आव्हान गरेकाे बन्दकाे प्रभाव उपत्यकामा न्यून छ । मंगलबार बिहानैदेखि यातायात संचालनमा छ । बजार खुलेकाे छ । विद्यालय तथा शिक्षण संस्था भने बन्द छन् । 

चन्द समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ

नेत्रविक्रम चन्द समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

राजमार्ग बन्द गर्न राखेकाे बम सेनाद्वारा निष्क्रिय

पृथ्वीराजमार्गको मलेखु देखि जिल्ला सदरमुकाम आउने कालुपाण्डे सडक मार्गमा राखिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

बीपी राजमार्गमा शंकास्पद वस्तु फेला

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका–७ बुकापुल नजिक मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।

बारेकोट गाउँपालिकाको कार्यालयमा शंकास्पद वस्तु

बारेकोट गाउँपालिकाको कार्यालय लिम्सामा सुतली बम जस्तो शंकास्पद वस्तु फेला परेको छ । कार्यालयको मुल ढोकामा साेमबार राति उक्त शंकास्पद वस्तुका साथै पर्चा समेत राखेको लेखापाल राजबहादुर सिंहले बताए ।

अछामका दुई वडा कार्यालयमा आगजनी 

सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाकाे ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

बर्दियामा प्रेसरकुकर बम, उदयपुरमा शंकास्पद वस्तु फेला

नेत्रविक्रम चन्द समूहले म‌ंगलबार आव्हान गरेकाे बन्दका क्रममा गुलरिया नगरपालिका स्थित हुलाकी मार्गमा प्रेसर कुकर बम फेला परेको छ । वन कार्यालय नजिक मंगलबार बिहान बम राखिएको आशंका प्रहरीले गरेको छ ।