कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गुगल @ नेपाली

लीलानाथ घिमिरे

काठमाडौ — तपाईं ठमेलको कुनै रेस्टुरेन्ट जाँदै हुनु हुन्छ । त्यसको लोकेसन तपाईंलाई थाहा छैन । तपाईंलाई नेपाली भाषा मात्रै आउँछ । चिन्ता नलिनुस् ।

गुगल @ नेपाली
गुगलले तपाईंलाई बाटोभरि गाइड गर्नेछ, हरेक मोडमा 'दायाँ मोडिनुस्, बायाँ मोडिनुस्' भन्दै । चौबाटोमा तपाईंलाई कता जाने भनेर अलमलिनु पर्नेछैन । गुगलको निर्देशन पर्खे पुग्छ । तपाईंलाई त्यहाँ पुग्न ट्याक्सी, बस, पैदल वा साइकल कुन माध्यमबाट जान सजिलो हुने छ भन्ने गुगलले बताइ दिने छ ।
तपाईंलाई त्यहाँ पुग्ने बैकल्पिक बाटोबारे जानकारी उसैले दिनेछ । गुगल म्याप्सको नियमित प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई लाग्ला यस्तो सुविधा कहाँ नयाँ हो र ! हो गुगलले अरु भाषामा यस्तो सुविधा दिँदै आएको धरै भयोे । नेभिगेशनलाई नेपाली भाषामा समेत चलाउन मिल्ने बनाएको भने केही साता मात्रै भएको छ ।
तपाईंले नेभिगेशन आफ्नै भाषामा प्रयोग गर्न आफू जान चाहेको स्थान गुगल गर्नुपर्छ । त्यसपछि गुगलले नक्सासहित बक्समा 'मार्गदर्शन' देखाउँछ । त्यसमा तपाईंले आफ्नो लोकेसन इन्ट्री गरेपछि म्यापले मार्गदर्शन गर्न थाल्छ । तपाईंले मोवाइल, ट्याब्लेटलगायतका डिभाइसमा गुगल म्याप्स इन्स्टल गर्नु भएको भए तपाईंको यात्रासँगै नेभिगेशनले मार्गदर्शन गर्दैजान्छ ।
गुगगले नेपालीकरण गरेको आफ्नो पछिल्लो प्रोडक्ट हो नेभिगेशन । 'यसलाई जति धेरै युजरले चलाउँदै जान्छन्,' यसको सत्यता बढ्दै जाने गुगलका प्रोडक्टलाई नेपालीकरण गर्ने समुहलाई परिचालन गर्दै आएका गुगल कन्ट्री इन्जिनियरिङ कन्सल्टेन्ट सरोज ढकाल भन्छन । 'प्रयोग बढ्दै जाँदा गुगल म्यापले 'यो बाटोमा जाम छ, अर्को बाटो जानुस्, भनेर सुझावसमेत दिनेछ,' उनले भने ।
विश्व बजारमा आफ्ना प्रोडक्टहरु मार्फत लिडिङ गरिरहेको कम्पनी गुगल । सर्च इन्जिन, मोवाइल अपरेटिङ सिस्टम (एन्ड्रोइ), म्याप्स, भिडियो सेयरिङ साइट (युट्युव), ब्लगिङ टुल (ब्लगस्पट) लगायतमा उसको प्रतिस्पर्धी नै छैनन् भने पनि हुन्छ । त्यसबाहेक उसका गुगल प्लस, गुगल ड्राइभ, क्यालेन्डर, बुक, वालेट, ट्रान्सलेट, डकदेखि गुगल नेक्सस मोवाइल/ट्याब्लेटलगायतका दर्जनौ उत्पादनले विश्व बजारमा आफ्नो प्रभुत्व जमाइरहेका छन् ।
त्यही गुगलले पछिल्लो समय नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो प्रोडक्टसँग जोडिरहेको छ । केही महिनाअघि उसले मेसिनले ट्रान्सलेट गर्ने भाषामा नेपालीलाई समेत समावेश गरेको थियो । गुगल ट्रान्न्सलेटमा नेपालीसमित ८० भाषामा यस्तो सुविधा छ । गुगलको दावीअनुसार नेपाल, भुटान, भारतलगायतका मुलुकमा बस्ने १ करोड ७० लाख जनसंख्या मात्रैको मातृभाषा हो नेपाली । ट्रान्सलेट सुविधाले विश्वभर रहेका अरु ७९ भाषामा रहेका लिखित डकुमेन्टका साथै ती भाषाका वेवसाइटलाई नेपालीमा देखाइ दिन्छ । त्यस्तै विश्वभर रहेका अरु भाषाभाषीले नेपाली भाषाको वेवसाइटलाई ट्रान्सलेट गरेर आफ्नो भाषामा पढ्न सक्छन् ।
त्यसको केही समयपछि आएको थियो जिमेल नेपालीमा । इमेलमा यु्जर नेम र पासवर्ड इन्ट्री गर्नासाथ अग्रेजी 'लोडिङ' को ठाउँमा 'लोड गरिदै' नेपाली युनिकोडमा देख्दा सबै नेपालीभाषीलाई आनन्दित बनाउँछ । इमेल खोलेपछि देखिने अप्सनहरु 'तारांकित', 'महत्वपूर्ण', 'कुराकानी', 'पठाएको मेल', 'रद्दीटोकरी' लगायत नेपालीकरण गरिएका शब्द देख्न पाउदा हरेक नेपालीलाई गुगलप्रति आभार प्रकट गर्न मन लाग्छ । 
गुगलले यस्ता आफना प्रोडक्टलाई नेपालीकरण गर्ने दर्जनभन्दा बढी प्रोजेक्ट संचालन गरिरहेको छ । गुगल स्रोतका अनुसार उसका अरु केही प्रोजेक्टहरु पाइपलाइनमा छन् ।
माइक्रोसफ्ट, याहुलगायतका ठूला आइटी कम्पनीहरूले आफ्ना प्रोडक्टहरूलाई विकसित, धनी, धेरै युजर भएका मुलुक र धेरैले बोल्ने भाषा केन्द्रीत गरेर सार्बजनिक गर्ने गरेका छन् । गुगलले भने त्यस्ता मुलुकसहित अतिकम विकसित देश, थोरै जनसंख्याले बोल्ने भाषालाई समान महत्व दिएर प्रोजेक्ट संचालन गरिरहेको कन्सल्टेन्ट ढकाल बताउँछन् ।
गुगलले आफ्ना प्रोडक्टलाई नेपालीकरण गर्न प्रतिष्ठित भाषाविज्ञ, प्राध्यापकहरूको समुहको सहयोग लिने गरेको छ । उनीहरूले गरेको कामको अन्तिम परीक्षण गरेर त्यसलाई रिलिज गर्न गुगलको टिम अहोरात्र खटिइरहेको छ ।
गुगलले नेपाली म्यापलाई रिच बनाउन नेपाली पार्टनरहरूसँग मिलेर विभिन्न जिल्लामा म्याप मेकर क्याम्प गरिरहेको छ । त्यसमा सहभागीलाई गुगलमा कसरी आफ्नो ठाउँको नाम, तस्बिरलगायतका सामग्री इन्ट्री गर्ने भनेर सिकाइन्छ । यसो गर्दा नेपालका स्थानहरूको गुगल म्यापमा पहुँच बढिरहेको छ । सिन्धुली, तनहु, गोर्खा, म्याग्दीलगायतका स्थानमा उसले स्टोरी साइकलसँग मिलेर यस्ता क्याम्प गरिसकेको छ । उसले म्याप मेकर कम्युनिटी बनाएर नेपालको नक्सालाई धनी बनाउँदैछ ।
गुगलले गुगल बिजनेश ग्रुप (जिबिजी) बनाएर नेपालमा ओपन सोर्स टेक्नोलोजी, गुगल टेक्नोलोजीलाई प्रोमोसन गरिरहेको छ ।  
ग्रुपका म्यानेजर अमित अग्रवाल आफूहरूले अनलाइनमार्फत नेपाली बिजनेश बढाउन सपोर्ट गरिहेको बताउँछन । 'ग्रुपले टेक्नोलोजी युज गरेर विजनेश गरिरहेकाहरूको आइडिया अरुलाई शेयर गर्ने, त्यस्ता ब्यक्ति/समूहबीच प्रतिस्पर्धा गराउने, आवश्यक परेकाहरूलाई टेक्निकल सपोर्ट गर्ने गरिरहेको छ,' उनले भने । अमितको घरमा ५ दिनमा एक पटक पानी आउँछ । उनी गुगल क्यालेन्डरमा सामान्य सेटिङ मिलाउँछन् । त्यसपछि पानी आउने दिन उनको मोवाइलमा एसएमएस आउँछ । गुगलका प्रोडक्टबाट लिन सकिने यस्ता अनगिन्ती सुबिधाबारे समूहले अरुलाई सिकाउँछ । यस्तै गुगलले गुगल डेभलपर ग्रुप (जिडिजी) बनाएर नेपालमा एप्लिकेसन डेभलप गर्नेहरूलाई सघाइरहेको छ ।
यसबाहेक गुगलले आफ्नो किबोर्डमा नेपाली सपोर्ट गर्ने बनाएको छ । गुगल प्लेबाट गुगल किबोर्ड डाउनलोड गरेर नेपाली ट्र्याडिसनल, रोमनाइज्ड र ट्रान्सलिटरेेशन तरिकाबाट नेपाली टाइप गर्न सकिन्छ । यस्तै गुगल प्ले मुभिजमा नेपाली रुपैयाँ सपोर्ट गर्छ । भुक्तानी नेपाली रुपैयाँमै तिर्न सकिन्छ । गुगल क्रोमले नेपाली डिटेक्ट गर्छ । ड्राइभ, जिमेल, ट्रान्सलेसन र ट्रान्सलेटर टुलकिटको लागि नेपाली किबोर्ड गुगलले उपलब्ध गराएको छ । यसबाहेक गुगल ड्राइभ, गुगल सर्चसमेत नेपालीमा प्रयोग गर्न सकिन्छ ।
गुगलकर्ताको संख्या बढ्दै गए भविष्यमा उसले नेपालमा आफनो कार्यालय खोल्न सक्ने सम्भावना देख्छन जिविजीका म्यानेजर अग्रवाल । 'गुगल नेपालमा आए ठूलो उपलब्धी हुनेछ,' उनी भन्छन्, 'नेपाल र नेपाली भाषालाई विश्वभर चिनाउन यसले ठूलो मद्दत गर्ने छ ।'
 

प्रकाशित : आश्विन ३१, २०७१ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?