कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेस्ट अफ दि बेस्ट एप्स

लीलानाथ घिमिरे

काठमाडौ — आइडियाले अवसर दिलाउँछ भन्ने भनाइ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियर शिवजन चौलागाईंको जीवनमा ठ्याक्कै लागू हुन्छ ।

बेस्ट अफ दि बेस्ट एप्स
उनको कृषकलाई प्रविधिसँग जोड्ने मोबाइल एप आइडिया आइसिटी फर एग्रिकल्चरले एक महिनाभित्र दुई पुरस्कार जित्योे । पढाइभन्दा फरक क्षेत्रमा आफूलाई परीक्षण गरिरहेका उनको मोबाइल एप गत साता सम्पन्न एनसेल एप क्याम्पमा सर्वोत्कृष्ट भयो । यसमा उनको समूहले ५ लाख रुपैयाँ पायो । त्यस्तै समूह विजेता भएकाले थप २ लाख ५० हजार पनि हात पार्‍यो । करिब १ महिनाअघि भएको रिकनेक्टमा उनको समूहले १ लाख जितेको थियो ।

एप क्याम्पमा आइसिटी फर एग्रिकल्चरजस्ता १ सय ५० भन्दा बढी एप्स डेभलपर समूह सहभागी थिए । एनसेलले कृषि, शिक्षा, पर्यटन र कर्पोरेट गरी ४ समूहमा डेभलपरलाई कम्पिटिसन गराएको थियो । फाइनलमा प्रवेश गरेका २३ समूहलाई पछि पार्दै कर्पोरेटमा चन्दन गुप्ता समूहको ओपिनियो, शिक्षामा मनीष श्रेष्ठ समूहको रीतिरिवाज र टुरिज्ममा रोहितमान अमात्य समूहको लिपि उत्कृष्ट भए । हरेक समूहले २ लाख ५० हजार रुपैयाँ पुरस्कार जिते । पुरस्कार राशिभन्दा ठूलो थियो उनीहरूले पाएको रिकग्निसन ।


कस्ता छन् उत्कृष्ट एप ?

सर्वोत्कृष्ट भएको आइसिटी फर एग्रिकल्चर एपले मुख्य बाली लगाउने तरिका कृषकलाई मोबाइलमै उपलब्ध गराउँछ । यसैगरी पशुमा लाग्ने रोग, मल, माटोको जानकारी, बजार भाउ, मौसमको पूर्वानुमान र कृषि उत्पादन किन्ने व्यापारीको डाटासमेत यसमै पाइन्छ । 'किसानले एप्समा उपलब्ध हुने मौसम पूर्वानुमान हेरेर आज धान काट्ने/नकाट्ने निर्णय गर्छन्,' टोली नेता चौलागाईं भन्छन्, 'विभिन्न बजारमा कृषि उपजको तुलनात्मक मूल्य हेरेर धेरै पाउने बजारमा आफ्नो उत्पादन पुर्‍याउँछन् ।'

झन्डै ४ महिना लामो क्याम्पमा सहभागी भएपछि समूहले कृषकलाई कुनै बालीमा समस्या देखिए मोबाइलबाटै फोटो खिचेर विवरणसहित पोस्ट गर्ने व्यवस्था मिलाइएको छ । त्यसलाई विज्ञकहाँ पुर्‍याउने व्यवस्था एपले गर्छ । विज्ञले दिएको समाधान एउटा फोरममा उपलब्ध हुन्छ । त्यस फोरममा अरू कृषकले आ-आफ्ना धारणा कमेन्टका रूपमा राख्न सक्छन्् । त्यसबाहेक घरेलु प्रविधिबाट मल, किटनाशक विषादी बनाउने तरिका, त्यसलाई प्रयोग गर्न तराईको कठ्ठा, पहाडको रोपनीजस्ता जग्गा नाप्ने इकाईलाई कन्भर्ट गर्ने व्यवस्था यस एपमा छ । यस एप डेभलपमा अविनाश झा, प्रशान्तराज मालाकार, रुविन वज्राचार्य, सुस्मिता कार्की, दीप घिसिङ र राजेन्द्र साहुलगायतले चौलागाईंलाई सघाएका थिए ।


कर्पोरेट सोलुसनतर्फको विजेता ओपिनियोले कुनै कम्पनीले गरेका उत्पादनबारे ग्राहकले दिएका ओपिनियनलाई एकीकृत गरेर सम्बन्धित कर्पोरेट हाउससम्म पुर्‍याउँछ । 'हामीले सामाजिक सञ्जाल, ब्लगलगायतमा कुनै प्रोडक्टबारे युजरका नेगेटिभ/पोजिटिभ धारणा एकीकृत गरेर उत्पादकसम्म पुर्‍याउँछौं,' टिम लिडर गुप्ता भन्छन्, 'त्यसले उत्पादकलाई आफ्ना सामग्रीबारे बजारको धारणा बुझेर त्यसअनुसार सुधार गर्न सघाउँछ ।' त्यस्तै ग्राहकले एपमा कुनै प्रोडक्ट पहिल्यै प्रयोग गर्ने युजरले व्यक्त गरेरका धारणा हेरेर किन्ने/नकिन्ने निर्णय गर्न सक्ने उनको भनाइ छ । गुप्तालाई आकृषि भुसाल, प्रतीक श्रेष्ठ, अमित जोशी र अस्मित भट्टराईले एप्स डेभलपमा साथ दिएका थिए ।

रीतिरिवाज यस्तो एप्प हो, जसले हामीले पछ्याउँदै आएका परम्परा पछाडिको वैज्ञानिक र धार्मिक पक्षबारे बताउँछ । शिक्षा विधामा उत्कृष्ट यस एपलाई मनीषको आइडियामा सुजन जोशी, समीर डंगोल, प्रेक्षा वज्राचार्य र लीलाराम श्रेष्ठले डेभलप गरेका हुन् । 'हामीले परम्परागत रूपमा चाडपर्व, रीतिरिवाजलाई मनाउनुका पछाडि अन्धविश्वासमात्र छैन,' मनीष भन्छन्, 'यसका पछाडि वैज्ञानिक कारण छन्, तिनै कुराहरू एपमा राखिएको छ ।' त्यस्तै यसमा कुनै पर्व मनाउन वा धार्मिक कार्य गर्न आवश्यक सम्पूर्ण सामग्री ई-सपमार्फत उपलब्ध गराउँछ ।


टुरिस्टका लागि अत्यन्तै उपयोगी एप डेभलप गरेको छ टुरिज्म समूहमा उत्कृष्ट रोहितको समूहले । उनीहरूको लिपि एपले बाटोमा नेपालीमा लेखिएको बोर्डको तस्बिर मोबाइलमा खिचेर त्यसमा भएको लिपिलाई टेक्स्टमा कन्भर्ट गर्छ । त्यसलाई अंग्रेजीमा ट्रान्सलेट गर्ने व्यवस्था एपमै छ । 'हाम्रो एपमा नेपाली भाषाको तस्बिरलाई 'अप्टिकल क्यारेक्टर रिकग्निसन' मार्फत टेक्स्टमा बदल्ने सुविधा छ,' रोहितले भने, 'त्यसपछि नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा ट्रान्सलेट गर्न सकिन्छ ।' यस समूहमा थिए मिलन थापा, सलिल अवाले, रूपकराज घिमिरे र उज्ज्वल देवकोटा ।

आइडिया यसरी

इन्जिनियरिङ सकेपछि शिवजन जागिर खान छाडेर गाउँ फर्किए स्कुल पढाउन । गाउँमा बस्दा उनले बारीमा काँक्रा, बोडीलगायत तरकारी लगाए, किरा लागेर उत्पादन हुँदै भएन । त्यतिखेर उनलाई एउटा आइडियो आयो । उनको साथमा मोबाइल थियो । त्यही मोबाइललाई कृषकलाई आवश्यक सूचना दिने माध्यम किन नबनाउने ? त्यसैको परिणाम हो, आइसिटिफर एग्रिकल्चर ।

लिपिको डेभलपको कथा झन् रोचक छ । रोहित दसैंअघि श्रीलंका घुम्न गएका थिए । त्यहाँ सिंहाली भाषामा लेखिएको बोर्ड नबुझेर हैरान । 'हाम्रो देशमा आउने टुरिस्टले पनि त्यस्तै समस्या भोगेका होलान् भन्ने लाग्यो,' उनी भन्छन्, 'त्यसपछि हामी उनीहरूलाई नेपाली बुझाउने एप निर्माणमा लाग्यौं ।'

नेवार परिवारका मनीषको घरमा धेरै रीतिरिवाज मनाइन्छ । 'त्यस्ता रीति किन मनाएको भनेर सोध्दा बुबाले बाजेको पालादेखिकै चलन भन्नुभयो,' उनले भने, 'त्यसपछि अरूलाई सोध्नुभन्दा आफैं अनुसन्धानमा लागें ।' चन्दनले भने मास्टर्स गर्दा कर्पोरेट सोलुसन कसरी गर्न सकिन्छ भनेर गरेको अनुसन्धानलाई ओपिनियोमा प्रयोग गरेका हुन् ।


उनीहरूको एपलाई विभिन्न क्षेत्रका विज्ञहरू कुन्द दीक्षित, नरोत्तम अर्याल, पूर्णबहादुर छेत्री, सौरभ ज्योति, सुमन पाण्डे, टमी अहोनेन र टमस मार्टुनसलगायतले जज गरेको थियो । एपले समाधान गर्ने समस्याको प्रकृति, व्यावसायिक नमुना, व्यवसाय विस्तारको सम्भावना र प्रस्तुतिको स्तरका आधारमा उनीहरूलाई अंक प्रदान गरिएको थियो ।
 

प्रकाशित : पुस ५, २०७१ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?