मोवाइलमै बजारको गहना छान्ने सुविधा

लीलानाथ घिमिरे

काठमाडौं — गहना छान्न अब बजार पुग्नु नपर्ने भएको छ ।

मोवाइलमै बजारको गहना छान्ने सुविधा
घरमै बसीबसी काठमाडौंका प्रतिष्ठित गहना पसलका सुन, चाँदी र हिराका गहना छान्न सकिने मोवाइल एप गहना बजार सोमबार राजधानीमा सार्बजनिक भएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टममा उपलब्ध यस एपमा गहनाका विभिन्न डिजाइन तस्बिर हेर्दै गहना छान्न सकिने छ । त्यस्तै ग्राहकले आफ्नो क्षमता अनुसारको मूल्यका औंठी, नेकलेस, इयररिङ, पेन्डेन्ट, जन्तर, तिलहरी, टप, बेंगल, मंगलसूत्र, सिक्रीलगायतका गहना खोज्न सक्ने छन् । खोजेपछि त्यसलाई आफ्नो फेबरेट बनाएर सेभ गरेर सकिन्छ । फूर्सदमा बजार गएर त्यही डिजाइनको गहना किन्न सकिन्छ ।
आइटी कम्पनी विधिले नेपालमै पहिलो पटक गहनाबारे तस्बिरसहित सम्पूर्ण जानकारी गराउने मोवाइल एप गहना बजार सार्बजनिक गरेको हो । कम्पनीले एक सातामै आइओएसमा समेत एप उपलब्ध गराउने बताएको छ ।
'हामीलाई पसलेले कति तौलको गहना दिएको छ भन्ने जानकारी हुँदैन,' विधिका प्रमुख कार्यकारी अधिकृत सुवाश सापकोटाले भने,  'पसलेले जति तौल भन्यो, त्यतिमै विश्वास गर्नुपर्ने अवस्था छ । गहना बजार एपले त्यो गहनाको वास्तविक तौल, जर्ती र बनाउने ज्याला छुट्याएर हिसाव गर्ने तरिकासमेत सिकाउँछ ।' त्यसले गर्दा ग्राहक ठगिनबाट जोगिने उनको दावी छ ।
एप्समा दैनिक सुनको मूल्य आफै अपडेट हुन्छ । ग्राहकले ब्यवसायीले बताएको मूल्यमा भर पर्नु पर्दैन । त्यस्तै पसलको विश्वसनियताबारे बुझ्न सक्ने ब्यवस्था एपमा छ । दुई पसलका गहनाबीच तुलना गरेर गहना छान्नसकिन्छ । यस्तो सुविधा मोवाइलमा मात्र हैन, गहना बजारको वेवसाइटमा समेत उपलब्ध छ । 'गहना किन्दा ठगिने प्रबृत्ति रोक्न यस्तो एप्प विकास गरेका हौं,' विधिका प्राविधिक निर्देशक शंकर उप्रेतीले भने, 'यसलाई अन्तराष्ट्रिय बजारमा समेत विस्तार गर्ने योजना छ ।' विधिले ल्याएको एप सुरुमा गहना बजारका लागि भए पनि अन्य बस्तुसमेत खरिद विक्रीका लागि राख्न मिल्ने गरी डिजाइन गरिएको छ । यसले किनमेलको शैली परिवर्तन गर्ने उसको दावी छ  । ग्राहक पसलमा गएर गहनाका डिजाइन छानेर बस्न नभ्याउने अबस्थामा  मोवाइलमै सबै प्रकारका डिजाइन हेरेर पाइने पसलमा किन्न सक्छ ।
कम्पनीले आफ्नो मोवाइलमा गहना बजार एप डाउनलोड गरेको देखाएमा पसलबाट १५ देखि ३० प्रतिशतसम्म छुट पाउने ब्यवस्था मिलाएको जनाएको छ । 
 

प्रकाशित : पुस १४, २०७१ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?