प्रविधिमा नयाँ पुस्ता

काठमाडौं — विज्ञान, सूचना प्रविधि र व्यवस्थापनबीचको सम्बन्ध विस्तारमा जोड दिनको लागि राजधानीमा शनिबार मेला आयोजना गरियो ।

प्रविधिमा नयाँ पुस्ता

कमलपोखरीस्थित किस्ट कलेजमा आयोजित मेलामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले ‘यस्ता मेलाले नयाँ पुस्तामा ऊर्जा थप्ने’ दाबी गरे । ‘पहिले गाई, भैंसी देखाएर हाट बजारमा कृषिको प्रदर्शनी हुन्थे,’ उनले भने, ‘अहिले कृषिमा कसरी आधुनिकीकरण गर्ने भन्ने कुराहरूका बारेमा प्रदर्शनी हुन्छन् र यो राम्रो कुरा हो ।’ 

प्रदर्शनीमा भएका विशेष प्रोजेक्टहरूको प्याटेन्ट राइट दर्ता र प्रकाशन गर्नुपरेमा सहयोग गर्ने पनि पोखरेलले आश्वासन दिए । मेलाले विद्यार्थीहरूमा वैज्ञानिक ज्ञानको गहिराई बुझेर सम्मानका साथ व्यवस्थापकीय अभ्यासमा लागू गर्ने प्रयास गरेको किस्ट कलेजका कार्यकारी निर्देशक इन्द्रप्रसाद सुवेदीले बताए । ‘विद्यार्थीहरूले कक्षामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गरेका छन्,’ उनले भने । 

मेलामा किस्ट कलेज, क्यानभास इन्टरनेसनल कलेज, ग्रामर पब्लिक उमावि, काठमाण्डु मोडल कलेज, हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज, पेन्टागन इन्टरनेसनल कलेज, नासा इन्टरनेसनल कलेज, नेपाल मेगा कलेज लगायत २७ वटा स्कुल, कलेजहरूका ६० भन्दा बढी स्टलहरू राखिएका थिए । विद्यार्थीहरूले खेर गएका वस्तुहरूको उपयोग गर्ने प्रविधि, सोलार र विद्युत्बाट फोहोरको व्यवस्थापन, विकट क्षेत्रको विकास, रगतको सहजताका लागि ब्लड डाटाबेस, लो भोल्टेजमा मेसिनको प्रयोग जस्ता प्रविधिहरूको प्रदर्शनी गरेका थिए । कार्यक्रममा उपत्यकाका एक दर्जन उच्च माविबीच विज्ञान र प्रविधिको प्रोजेक्टहरूको प्रतियोगिता हुनेसमेत बताए । त्यस्तै उपत्यकाका १५ विद्यालयबीच चित्रकला र क्राफ्ट प्रतियोगिता पनि कार्यक्रमअन्तर्गत गरिने बताइएको छ ।

प्रकाशित : मंसिर २६, २०७३ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?