२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सीसी क्यामरा प्रयोगविहीन

कान्तिपुर संवाददाता

दमक — नगरमा जडान गरिएका सीसी क्यामेराहरूको संरक्षण नहुँदा अलपत्र बनेका छन् । शान्ति सुरक्षामा सहयोग पुग्ने उद्देश्यले जडान गरिएका सीसी क्यामेरा मर्मत सम्भार अभावमा प्रयोगविहीन बनेका हुन् ।

विभिन्न ८ स्थानमा जडान गरिएका सीसी क्यामेरा चल्न छाडेको ८ महिनाभन्दा बढी भइसकेको छ । बिग्रिएका क्यामेरा कसले मर्मत गर्ने ? स्पष्ट नहुँदा १० लाखभन्दा बढीको लगानी बालुवामा पानी भएको छ । दमक उद्योग वाणिज्य संघको पहलमा ०७१ को अन्त्यतिर उक्त क्यामेरा जडान गरिएको थियो ।

नगरपालिकाको ५ लाख, वाणिज्य संघको ३ लाख ५० र सीसी क्यामेरा जडान समन्वय समितिको २ लाख लागतमा राखिएको हो । जडान गरेको एक वर्षसम्म जेनतेन चले पनि त्यसपछि सबै चल्न बन्द भएका छन् । सबैजसो क्यामेरा बिग्रिएको लामो समय बित्दा पनि सरोकारवाला निकाय बेवास्ता रहेको स्थानीयले बताए ।

वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल सीसी क्यामेरा संरक्षण जिम्मा नगरपालिकाको भएको बताउँछन् । उनले यसप्रति नगरपालिकाले आवश्यक चासो नदेखाउँदा उपयोग गर्न नपाएको बताए । क्यामेरा जडान ठेक्का पाएको अनलाइन कम्प्युटर सप्लायर्सको कमजोरीका कारण पनि छिट्टै चल्न छाडेको ढकालको आरोप छ । उनले सप्लायर्सले कमसल जडान गरिदिँदा छिट्टै बिग्रिएको दाबी गरे । ढकालले बिग्रिएको थाहा पाएलगत्तै आफूले तत्काल बनाउन भने पनि सप्लायर्सले अहिलेसम्म बेवास्ता गर्दा प्रयोगविहीन बनेको जनाए ।

नगरपालिका समाज कल्याण शाखा प्रमुख डम्बर बराल भने सीसी क्यामेरा संरक्षणको जिम्मा वाणिज्य संघकै भएको बताउँछन् । उनले भने, ‘यो कार्यक्रम वाणिज्य संघले नै ल्याएको हो । हामीले केही सहयोग मात्र गरेका हौं ।’ बरालले जडानपछिको मर्मत सम्भारबारे नगरपालिकासँग कुनै सम्झौता नभएको जानकारी दिए ।

प्रकाशित : फाल्गुन ३, २०७३ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?