तपाईंसँग आईटीलाई आम जीवनसँग जोडेर व्यापार गर्ने ‘आइडिया’ छ ?

आईटीमा अथाह अवसर
विष्णु पोखरेल

उबर, फेसबुक र अलिबाबा । तीन फरकखाले व्यापार गर्ने विश्वकै सबैभन्दा ठूला कम्पनी । भिन्न–भिन्न व्यापार गरे पनि यी कम्पनीबीचको एउटा समानता हो– जे कुराको व्यापार गर्छन् त्यही वस्तु आफूसँग नहुनु । कसरी ? उबर विश्वकै सबैभन्दा ठूलो ट्याक्सी कम्पनी, उससँग एउटा पनि ट्याक्सी छैन ।

फेसबुक संसारकै सबैभन्दा ठूलो ‘मिडिया कन्टेन्ट’ उत्पादन र वितरण गर्ने कम्पनी, तर उसले आफैं कुनै पनि ‘मिडिया कन्टेन्ट’ बनाउँदैन । अनि, अलिबाबा संसारकै सबैभन्दा ठूलो खुद्रा बिक्रेता, उसको आफ्नै कुनै उत्पादन छैन । 

यी तीन कम्पनी मात्र होइन, विश्वकै सबैभन्दा ठूलो घरजग्गा कम्पनी एयरबेन्डसँग न घर छ, न जग्गा । सबैभन्दा चर्चित फोटो कम्पनी इन्साग्राम, जसको न आफ्नै क्यामेरा छ न तस्बिरको ठूलो भण्डारण नै । प्रश्न उठ्छ– त्यसो भए यी कम्पनी कसरी आफ्नो क्षेत्रका सबैभन्दा ठूला कम्पनी बने त ? उत्तर सामान्य छ– अरूले दिने सेवा र वस्तुलाई सूचना प्रविधि (आईटी) सँग जोडेर व्यवसाय गरेर । तपाईंसँग पनि आईटीलाई आम जीवनसँग जोडेर व्यापार गर्ने ‘आइडिया’ हुन सक्छ, त्यसलाई तपाईं सुरु गर्न सक्नुहुन्छ अनि बन्न सक्नुहुन्छ उबर वा अलिबाबा जस्तै । 

आईटीमा अवसर 
नयाँ सोच र आईटीको ज्ञान भएका जोसुकैले यस क्षेत्रको व्यवसाय सुरु गर्न सक्छन् । आईटीको औपचारिक अध्ययन नगरेकाले पनि व्यवसाय सुरु गर्न सक्छन् । तर प्राविधिक विषयमा व्यावसायिक सम्झौता गर्नुपर्ने हुँदा यससम्बन्धी आधारभूत सीप सिक्नु जरुरी छ । हार्डवेयर विकास गर्ने खालका भन्दा पनि सफ्टवेयर र सिस्टममा आधारित व्यवसाय सुरु गर्दा नेपालमा फाइदा लिन सकिन्छ । आईटीको विकाससँगै नेपालमा यसको प्रयोग बढ्दै गएको छ । हरेक कार्यालय अटोमेसनमा जाँदैछन् । त्यसका लागि पनि विभिन्नखाले सेवा आवश्यक पर्छ । जसले यस क्षेत्रको माग बढ्दो छ । विशेष गरी सफ्टवेयर, एप्स, सर्भर, क्लाउड, भर्चुअलाइजेसन, आउटसोर्सिङ, प्रोगामिङ, वेब विकास, कन्टेन्ट विकासलगायतका क्षेत्रमा अवसर पाउन सकिन्छ । 

व्यवसायको तयारी 
व्यवसाय सुरु गर्नुपूर्व गृहकार्य जरुरी हुन्छ । अन्य व्यवसायीसँग छलफल, सर्वेक्षण, बजारको अवस्थाबारे जानकारी संकलन गरेर गृहकार्य गर्नुपर्छ । यत्तिले मात्र पुग्दैन, तपाईंले कार्यतालिका तोकेरै योजना, लगानी र उपलब्धिबारे निक्र्योल गर्नुभयो भने व्यवसाय सुरु गर्न र निरन्तरता दिन सजिलो हुन्छ । व्यवसाय सुरु गर्न मुख्य सात वटा कुरा जरुरी हुन्छन्– लगानी, विश्वासिला साझेदार, लक्षित ग्राहक, उत्पादन र सेवाको निदृष्ट योजना, दीर्घकालीन आम्दानीको प्रणाली, नयाँ सोच (आउट अफ बक्स थिङकिङ) र वैधानिक प्रक्रियामार्फत कार्यारम्भ । ‘यी सातावटा कुरालाई मूल मन्त्र मानेर आईटी बिजनेस सुरु गर्दा सफल हुन गाह्रो पर्दैन,’ आईटी व्यवसाय परामर्शदाता अभिजित गुप्ता भन्छन्, ‘कसैले पनि आईटी बिजनेस सुरु गर्दा यी कुरा मनन गर्नु जरुरी छ ।’

दर्ता कसरी गर्ने ? 
जस्तोसुकै प्रकृतिको आईटी व्यवसाय चलाउन पनि सुरुमा कम्पनी रजिस्ट्रारको कार्यालयमा गई दर्ता गर्नुपर्छ । दर्ता भएपछि आफ्नो काम वैधानिक हुने मात्र होइन, धेरैखाले सरकारी सेवा सुविधा लिनसमेत सजिलो पर्छ । कम्पनी दर्ता गर्न सजिलो प्रक्रिया छ । कम्पनीको प्रबन्धपत्र, नियमावलीको ढाँचा तपाईंले कार्यालयको वेबसाइटबाटै पाइन्छ । त्यसकै आधारमा आफ्नो उद्देश्यअनुसार तयार पारी अनलाइनबाटै समेत आवेदन दिन सकिन्छ । सुरुमा एकल कम्पनी दर्ता गर्ने हो वा साझेदारी, त्यो निक्र्योल गरी कम्पनीको सञ्चालक र तिनको पद तय गर्नुपर्छ । बैठक गरेर त्यसको निर्णयको कपीसमेत बुझाउनुपर्छ । 
घर भाडामा लिएर सञ्चालन गर्ने भए भाडा सम्झौता लगायतका कागज आवश्यक पर्छ । यसका अतिरिक्त लगानी योजनासमेत पेस गर्नुपर्छ । लगानी आधारमा कम्पनी रजिस्ट्रारले शुल्क लिने भएकाले त्यसलाई खुलाउनु जरुरी छ । सबै कानुनी प्रक्रिया पूरा गर्न झन्झटिलो लाग्छ भने कानुन व्यवसायीको सेवा लिन सक्नुहुन्छ । 
कम्पनीमा दर्ता हुँदैमा उद्देश्यअनुसार काम गर्न भने मिल्दैन । प्रमाणपत्रमै आफ्नो उद्देश्यअनुसार सम्बन्धित सरकारी निकायबाट अनुमति लिएर मात्र काम गर्न सकिने खुलाइएको हुन्छ । त्यसका लागि व्यवसायको प्रकृति हेरेर विभिन्न स्थानबाट अनुमति लिनुपर्ने हुन सक्छ । यस्ता निकायबाट अनुमति लिनुपूर्व दुईवटा काम गरेमा सबैभन्दा राम्रो हुन्छ । पहिलो– कम्पनीको प्रमाणपत्रका आधारमा कर कार्यालयबाट मूल्य अभिवृद्धि करमा दर्ता गराउने । दोस्रो– कम्पनीका नाममा बैंक खाता खोल्ने । 
आईटी व्यवसाय गर्न चाहनेले अर्को चरणमा गर्नुपर्ने काम हो– सम्बन्धित सरकारी निकायबाट अनुमति लिने । जस्तो सफ्टवेयर विकास गर्न चाहनेले घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता गर्दा हुन्छ । विदेशी लगानी भित्र्याउन चाहनेले भने उद्योग विभागबाट वैदेशिक लगानी स्वीकृत गराउनुपर्छ । कामको प्रकृतिअनुसार अन्य निकायबाट स्वीकृति लिनुपर्ने हुन्छ । जस्तो, अनलाइन पेमेन्ट सेवा चलाउन चाहनेले राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ । त्यस्तै रेडियो फ्रिक्वेन्सी प्रयोग हुने सेवा चलाउनेले सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिनुपर्छ । ‘अनुमति लिनुपर्ने निकायबाट लिएर नै व्यवसाय सुरु गर्नुपर्छ,’ कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष विनोद ढकाल भन्छन्, ‘यसले आफूलाई कानुनी रूपमा पनि दरिलो बनाउँछ ।’

बैंकिङ सुविधा
सूचना प्रविधि क्षेत्रकै लागि विशेष कर्जा सुविधा उपलब्ध छैन । यद्यपि कम्पनीको अवस्था, सम्भाव्यता, सञ्चालकहरूको विश्वसनीयता लगायतका आधारमा बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गरेका छन् । तर, त्यस्ता ऋणमा ब्याज सहुलियत तथा छुट उपलब्ध छैन । त्यस्ता कम्पनीहरूले विभिन्न शीर्षकमा ऋण लिएर व्यवसाय सञ्चालन गरेको पाइन्छ । 
अहिले बैंक तथा वित्तीय संस्था र ऋणीको आपसी सहमतिमा वार्षिक ब्याजदर बढाएर १० प्रतिशतभन्दा बढी ब्याजदरमा यस्तो कर्जा दिइरहेका छन् । परिपक्क अवधि पनि सम्झौतामा तय गरिन्छ ।

विदेशबाट यसरी काम ल्याउने 
आईटी कम्पनीको फाइदा भनेकै संसारभरको काम गर्न पाउनु हो । यो अरू सेवा जस्तो हुँदैन । नेपालमा प्रयोग हुने माइक्रोसफ्टको सफ्टवेयर र अमेरिकामा प्रयोग हुने एउटै हो । त्यस्तै अन्य सेवा पनि संसारभर मिल्ने हुन्छन् । त्यसले गर्दा आईटी कम्पनी सुरु गर्नेको उद्देश्य हुन्छ– विदेशबाट काम ल्याउनु । त्यसलाई आउटसोर्सिङ वा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) भनिन्छ । 
आईटी कम्पनी खोल्नेले विदेशबाट काम ल्याउन चाहन्छन् । त्यसका लागि मुख्यत: दुईखाले माध्यम नेपालमा प्रचलित छन् । पहिलो भनेको विदेशमा रहेका आफ्ना चिनेजानेका व्यक्तिमार्फत उताका कम्पनीसँगको सहकार्यमा काम ल्याउने । सुन्दा गाह्रो लागे पनि यो सजिलो उपाय हो । किनकि अमेरिका वा युरोपमा सय डलर लाग्ने काम नेपालीले १० डलर पाएमा सजिलै गर्छन् । आफ्नो खर्च घट्ने भएपछि विदेशी कम्पनी नेपालमा काम दिन तयार हुन्छन् । 
अर्को तरिका भनेको विभिन्न ‘फ्रिलान्सर’ र ‘आउटसोर्सिङ पोर्टल’ लाई पछ्याउदै काम ल्याउने । अहिले धेरैखाले यस्ता पोर्टल खुलिसकेका छन् । त्यहाँ आवश्यकताअनुसारका कम्पनीको माग गरिएको हुन्छ । तपाईं यिनै पोर्टललाई पछ्याएर पनि काम ल्याउन सक्नुहुन्छ । 
तेस्रो तरिका पनि छ । त्यो भनेको स्वदेशबाटै विदेशको काम पाउनु हो । पहिले नै चलेको कम्पनीले विदेशबाट धेरै काम ल्यायो भने उसले आफंै त्यसलाई पूरा गर्न सक्दैन । यस्तो अवस्थामा अन्य कम्पनी खोजी केही सस्तोमा काम दिन्छ । यसका लागि पहिले नै चलिसकेका स्वदेशी कम्पनीसँग सम्बन्ध विस्तार गर्नु जरुरी छ ।
जुनसुकै तरिकाबाट पनि काम ल्याउनका लागि पनि आफ्नै पोर्टल बनाउनु जरुरी छ । यस्तो पोर्टलमा आफ्नो ‘प्रोटफोलियो’ पनि दरिलो देखाउन सक्नुपर्छ । त्यसो भएमा धेरैले विश्वास गरेर काम दिन सक्छन् । 

वेबसाइट बनाउने 
आईटी कम्पनीको काम अरूको जस्तो ‘म्यानुअल’ हुनुहुँदैन । वेबसाइटबाटै ‘सोलुसन्स’ दिने भएमा सबैभन्दा राम्रो हुन्छ । त्यसका लागि डटकम, डटकम डट एनपी वा अरूखाले डोमेन दर्ता गराउनुपर्छ । डोमेन दर्ता गराएपछि होस्टिङका लागि स्पेस किनेर वेबसाइट चलाउन सकिन्छ । वेबसाइट बनाउँदा आफ्नो कम्पनीलाई ब्रान्डिङ गर्ने गरी कन्टेन्टहरू राख्नु जरुरी हुन्छ । अहिले सोसल मिडियाको जमाना छ । वेबसाइट मात्र होइन, आईटी कम्पनीले सोसल मिडियामा पनि उपस्थिति जनाउनु उपयुक्त हुन्छ । त्यसले ब्रान्डिङमा समेत सहयोग गर्छ । कम्पनी चलाउन कम्प्युटर, इन्टरनेट र दक्ष जनशक्ति नभई नहुने आधार हुन् । 

विदेशबाट “पेमेन्ट” लिन के गर्ने ? 
विदेशबाट पैसा ल्याउन बैंकिङ प्रणालीलाई प्रयोग गर्नु सबैभन्दा सुरक्षित र उपयुक्त उपाय हो । तर कतिपय अवस्थामा बैंकिङ प्रणाली प्रयोग गर्न सकिन्न । कतिपय विदेशी कम्पनीले सानो रकमका लागि अनलाइन पेमेन्ट गेटवे मात्र प्रयोग गर्छन् । त्यसले समस्या हुन सक्छ । तर आफूसँग विदेशमा कमाइ भएको प्रमाण छ भने त्यसका आधारमा विदेशी मुद्रामा बैंक खाता खोल्न सकिन्छ । यदी विदेशी मुद्राको बैंक खाता खोल्नुभयो भने अन्तर्राष्ट्रिय डेबिड र क्रेडिट कार्डसमेत बनाउन सक्नुहुन्छ । त्यसले पैसा ल्याउन सजिलो पारिदिन्छ । नेपालबाट सजिलै बाहिर पैसा पठाउन भने सकिँदैन । सरकारले भ्रष्टाचार, कालो धन नियन्त्रणलगायतका लागि यसमा कडाइ गरेको छ ।

सहयोग 
आईटी व्यवसाय सुरु गर्न चाहने स्टार्टअपलाई नेपालमा विभिन्न समूहले सहायतासमेत गर्छन् । उनीहरूले व्यावसायिक योजना अघि बढाउन सहयोग गर्नेदेखि नयाँ सोचलाई लागानी जुटाउन समेत पहल गर्छन् । उदाहरणका लागि नेपाल इन्टरप्रेनर्स हबले बुटक्याम्प, स्टार्टअप विकेन्ड्सलगायतका कार्यक्रम गरी सहयोग गरिरहेको यसका सञ्चालकमध्येका कर्मठ डंगोलले जानकारी दिए । नयाँ सोचका साथ आईटीको स्टार्टअपले यस्ता कार्यक्रममा सहभागी भई व्यवसाय बढाउन र थप ज्ञान हासिल गर्न पनि सक्छन् । 

“सीप सिकेरै हात हाले राम्रो”
 - राजु अधिकारी, सञ्चालक, ग्रिन आईटी सोलुसन 

मेरो घर चितवन हो । प्लस टुसम्म उतै पढें । स्कुल पढ्दैखेरिदेखि कम्प्युटरप्रति लगाव थियो । अङ्ग्रेजी पढ्न बुबाले इन्स्टिच्युटमा हालिदिनुभएको थियो । त्यहाँ कम्प्युटर देखेपछि त्यहीं सिकें । प्लस टुमा एउटा विषय कम्प्युटर थियो । काठमाडौं आएपछि व्यवस्थापनमा स्नातक पढ्न थाले । मलाई आईटीमै केही गर्नुपर्छ भन्ने लाग्यो । भारत जाने निर्णय गरेर सिस्टम इन्जिनियरिङमा डिप्लोमा गरेर आएँ । भारतबाट पढेर आएपछि पनि विभिन्न स्थानमा पढाउन थालें । मलाई भर्चुअलाइजेसनमा केही गरांै भन्ने इच्छा थियो । त्यसले गर्दा सिंगापुर गएर ‘भर्चुअलाइजेसन’ को ‘भोकेसनल कोर्स’ गरे । आईटीमा केही गर्न दक्ष हुनैपर्छ भन्ने थियो । त्यसैले गर्दा सिंगापुर पुगेर पनि पढें । 
सिंगापुरबाट फर्केपछि भने आफ्नै कम्पनी खोल्ने सोच बनाएँ । सन् २०१० देखि हामीले ग्रिन आईटी सोलुसन सुरु गर्‍यौं । अर्को साथी शिव कार्कीसँग मिलेर एउटा कोठाबाटै कम्पनी सुरु गरियो । यसले भर्चुअलाइजेसनको काम सुरु गर्‍यो । त्यसमा पनि कम ऊर्जा खपत गर्ने खालको ‘ग्रिन टेक्नोलोजी’ सुरु गर्‍यौं । एउटा कोठाबाट सुरु गरेको कम्पनीले अहिले वर्षको केही करोड कारोबार गर्ने भइसकेको छ । पछि साझेदार पनि थपिनुभएको छ । आईटी व्यवसायको अनुभवले मलाई धेरै सिकायो । त्यसका आधारमा आईटी व्यवसाय सुरु गर्न दक्षता, लगानी, आँट र नयाँ सोचलाई सबैभन्दा महत्त्वपूर्ण मान्छु । यी कुरा भएपछि व्यवसाय सुरु गर्न सकिन्छ । नेपालमा कम्पनी दर्ता गर्न गाह्रो छैन । कम्पनी सुरु गर्ने भएपछि त्यसलाई कसरी सबैले विश्वास गर्ने भन्ने बनाउनचाहिँ एकदमै चुनौतीपूर्ण छ । विदेशी कम्पनीसँग काम लिन मात्र होइन, स्वदेशमा काम लिन पनि कम्पनीलाई ‘ट्रस्ट’ गर्ने बनाउन आवश्यक हुन्छ । हामीलाई सुरुमा त कतिले तपार्इंको अफिस हेरेर मात्र काम दिन्छु भने । केही व्यक्तिहरू अफिस हेर्नसमेत आए । ‘सोच मन पर्‍यो, तर तपाईंहरूको ग्यारेन्टी के छ, भोलि भाग्नुभयो भने ?’ भन्थे । त्यसैले ऋण लिएरै अफिसलाई ठूलो र राम्रो बनायौं । व्यवसाय सुरु गर्दा नेपालमा सबैभन्दा ठूलो समस्या भनेको ऋण लिन हो । 
आईटी कम्पनी खोलेर तपाईंले करोडको काम ल्याए पनि धितोचाहिँ घरजग्गा नै राख्नुपर्छ । ठूला कर्पोरेट हाउसले चाहिँ व्यावसायिक योजनाका आधारमा ऋण पाउँछन्, नयाँले भने त्यस्तो प्रस्तावले पाउँदैनन् । आईटीमा लगानी गर्न चाहनेसँग यससम्बन्धी ज्ञान भने हुनैपर्छ । केही वर्ष अर्को कम्पनीमा काम गरेर मात्र व्यवसाय सुरु गर्नु पनि राम्रो हुन सक्छ । अन्यत्र काम गर्दा बजारदेखि व्यावसायिक व्यवहार पनि सिकिन्छ । त्यसले व्यवसायलाई अघि बढाउन धेरै सहयोग गर्छ ।
(कुराकानीमा आधारित) 

प्रकाशित : फाल्गुन ६, २०७३ १८:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रोजाइमा टर्की–अस्ट्रिच

अमृता अनमोल, विमल खतिवडा

काठमाडौं — टर्की–अस्ट्रिच पाल्ने सोच तपाईंमा पलायो भने यसको फार्म एकचोटि हेर्नुस् । विज्ञसँग राम्रोसँग परामर्श लिनुस् । अब टर्की र अस्ट्रिच पाल्न तयार हुनुस् । जग्गाको कागजपत्र जुटाउनुस् । त्यसपछि गाविस वा नगरपालिकाबाट सिफारिस लिनुस् ।

प्रालि बनाउने भए कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराउनुस् । होइन भने घरेलु र पशुसेवा कार्यालयमा दर्ता गरेर व्यवसाय गर्न अघि बढ्नुस् । दर्ताका लागि नागरिकताको प्रमाणपत्र, फोटो र व्यवसायको संक्षिप्त विवरण पनि साथमा बुझाउनुस् । दर्ता गर्दा न्यूनतम शुल्क लाग्छ ।

खोर कस्तो बनाउने
राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला चितवन भरतपुरका पशु चिकित्सक विजय श्रेष्ठका अनुसार टर्कीलाई २५ डिग्रीसम्मको तापक्रम चाहिन्छ । त्यसैले कुखुराकोजस्तै खोर बनाउनुपर्छ । भुइँमा भुस राखे झनै राम्रो हुन्छ । खोरबिनै सामान्य सोखका रूपमा समेत घरमा पाल्न सकिन्छ । तर, अस्ट्रिचलाई भने खोरको आवश्यकता पर्दैन । खुला आकाशमुनि बस्न सक्छ । ३५ डिग्री सेल्सियस तापक्रममा बस्न रुचाउँछ । ५० डिग्रीदेखि शून्य डिग्री सेल्सियस तापक्रममा समेत यो बस्न सक्छ । नेपालको हिमालदेखि पहाड र तराईका सबैजसो क्षेत्रमा यसलाई पाल्न सकिन्छ ।

आहारा
कुखुरालाई जस्तै टर्कीलाई पनि दाना खुवाउन सकिन्छ । सुरुमा एल वान र एल टु दाना खुवाउनुपर्छ । अण्डा पार्न थालेपछि एल थ्री दाना खुवाउनुपर्छ । यो दाना लेयर्स कुखुरालाई खुवाउने दाना हो । यसले घाँस खान्छ । त्यही भएर घाँस पाल्ने ठाउँ आवश्यक पर्छ । बढी फाइबर चाहिने भएकाले नरम घाँस खुवाउन जरुरी हुन्छ । तर, अस्ट्रिचको आहारा टर्कीको भन्दा फरक छ । यसको प्रमुख आहारा कोसेबाली हो । लेघुम जातको घाँस यसले धेरै रुचाउँछ । यसलाई २० प्रतिशत अन्न र पानी खुवाउनुपर्छ ।

रोगको खतरा
पशु चिकित्सकका अनुसार टर्की पाल्नका लागि चितवन आसपास र यस्तै हावापानी उपयुक्त हो । पशु चिकित्सक विजय श्रेष्ठका अनुसार यसलाई एकदम लाग्ने रोग भनेको ‘हिस्टोमोनियसिस’ हो । त्यसैले मेट्रो निडाजोल खुवाउनुपर्छ । ‘सीआरडी’ ‘सीसीआरडी’ ‘पास्चुरेलोसिस’ रोगले पनि सताउँछ । यसलाई घ्यारघ्यार गर्ने, टाउको सुन्निने बढी हुन्छ । त्यही भएर एन्टिबायोटिक एजीथ्रोमाइसिन मुखबाट दिन सकिन्छ । रोगले ग्रस्त भए एमिकासिन इन्जेक्सन दिन सकिन्छ । जुकाको औषधि एक/डेढ महिना अवधिमा खुवाउनुपर्छ । त्यस्तै आईबी प्लस लासोटा भ्याक्सिन पनि एक/डेढ महिनाभित्र दिनुपर्छ । अस्ट्रिचमा भने भाइरल र ब्याक्टेरियल रोगको समस्या हुने गरेको छ । त्यही भएर अस्ट्रिचलाई बाह्य चराचुरुंगीसँग सम्पर्क हुन दिनु हुँदैन । यसको बासस्थान वर्षको एकचोटि डोजर लगाएर सफा गर्नुपर्छ ।

चल्ला कहाँ पाइन्छ ?
टर्कीपालनमा चल्ला पाउन समस्या छैन । २८ दिनमा अण्डाबाट चल्ला निस्कन्छ । मिनी ह्याचरीबाट चल्ला निकाल्न सकिन्छ । अहिले चितवन, बाराका टर्की फार्ममा चल्ला पाइन्छ । अन्य ठाउँमा पनि फाट्टफुट्ट चल्ला पाइन्छ । देशका विभिन्न ठाउँमा आयोजना गरिने मेला महोत्सवमा समेत यसको चल्ला राखिएको हुन्छ । अस्ट्रिचको चल्ला अस्ट्रिच नेपाल प्रालिले समेत बेच्न थालेको छ । व्यवसाय गर्न चाहनेले विदेशबाट आयात गर्नु पर्दैन । रूपन्देहीबाटै किन्न सकिन्छ ।

बजारको अवस्था
चितवनमा टर्की पाल्नेको संख्या बढ्दो छ । खैरहनीमा व्यावसायिक रूपमा पाल्दै आएका नवलपरासी गैंडाकोटका किरण कँडेल क्रिसमसका बेला उपहारका रुपमा दिइने भएकाले माग धेरै हुने बताउँछन् । अहिलेको मुख्य बजार पोखरा हो । होटल बढी भएको ठाउँमा खपत बढी हुन्छ । टर्कीको मासु खसी र राँगाको भन्दा स्वस्थकर हुने चिकित्सक बताउँछन् । ह्वाइट मासु हुने भएकाले फ्याट हुँदैन । एउटा टर्की १० देखि १५ केजीसम्मको हुन्छ । जिउँदोमा प्रतिकेजी ८ सय पर्छ । अस्ट्रिचको मासु विश्व बजारमा प्रतिकिलो झन्डै ६ हजार ५ सय रुपैयाँ छ । नेपालमा भने हाड भएको मासु प्रतिकिलो ८ सय ९० रुपैयाँमा पाइन्छ । हाड नभएको १ हजार ४ सय ९० रुपैयाँमा बिक्री हुन्छ । रूपन्देहीसहित काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, नेपालगन्ज, विराटनगर, धनगढी सहितका मुख्य सहर र तिनको आसपासमा अस्ट्रिचको मासु पाइन्छ । भिटामिन र ओमेगा तत्त्व प्रचुर मात्रामा पाइने भएकाले स्वस्थकर मानिन्छ ।

हेरचाह
टर्की किसान कँडेलका अनुसार यो लोकल कुखुराजस्तै हो । एक महिनासम्म यसलाई चिसोबाट जोगाउनुपर्छ । न्यानोमा राख्नुपर्छ । यो बेला चल्ला लगेमा बचाउन समस्या हुन्छ । ठूलो भएपछि समस्या हुँदैन । यसले ८० प्रतिशत घाँस र २० प्रतिशत दाना खान्छ । दुबो र बर्सिम घाँस खुवाउने गरिएको छ । यसलाई खुला रूपमा चराउन पनि सकिन्छ । अस्ट्रिचलाई भने कम्पाउन्डिङ (तार घेरा) गरेर राखिन्छ । यसलाई बाहिर लगेर डुलाउनु पर्दैन ।
एउटा परिपक्व अस्ट्रिच १ सय २० किलोसम्म तौल र ८ फिटसम्म अग्लो हुने भएकाले ठूलो क्षेत्र चाहिन्छ । अस्ट्रिचको भाले ३ र पोथी २ वर्षमा वयष्क हुन्छ । वयष्कमा २ सय ५० किलोसम्म तौल हुन्छ । उचाइ ८ फिटसम्म हुन्छ । अस्ट्रिचको आयु ८० वर्षसम्म हुन्छ । ९ देखि १४ महिनामै यो एक क्विन्टल तौलको हुन्छ । ५० वर्षसम्म राम्रो उत्पादन दिन सक्ने एउटा पोथी अस्ट्रिचले एक सिजनमा १ सय २५ वटासम्म अण्डा दिन सक्छ । ४५ वर्षमा एउटा पोथीले ५ हजार २ सयसम्म अण्डा दिन्छ । प्वाँख फेसनदार कपडा बनाउन र सफाइको सामग्री बनाउन प्रयोग गरिन्छ । छाला जुत्ता, पेटी सफासेट, गाडीलगायतको कभर बनाउन र अण्डा तथा बोसो उच्चस्तरका क्रिम, लोसन र औषधि बनाउन प्रयोग हुन्छ । अस्ट्रिचको अण्डाको खोल पनि सजावटका सामग्री बनाउन प्रयोग गरिन्छ ।

बिमा र सरकारी अनुदान
यो व्यवसायका लागि बिमाको व्यवस्था छ । तर, थोरैको संंख्यामा मात्र टर्की पाल्ने किसान छन् । कमैले मात्र बिमा गरेका छन् । सरकारी अनुदान भने छैन । बैंकले ६ प्रतिशतसम्ममा कृषि ऋण दिने गरेका छन् । बिमा गर्दा प्रिमियममा ७५ प्रतिशत सरकारले २५ प्रतिशत आफूले व्यहोर्नुपर्छ । किसानले ९० प्रतिशतसम्म क्षति रकम पाउँछन् । आम्दानीको आधारमा कर तिर्नुपर्छ ।


“पहिले दु:ख, अहिले सुख”

- सीपी शर्मा, अस्ट्रिचपालक

बागलुङमा जन्मिएँ । बुटवलमा हुर्कें । व्यवस्थापन संकायको पढाइपछि केही वर्ष बुटवलमा ट्याक्टर व्यवसाय गरें । यसपछि वैदेशिक रोजगारीमा गएँ । वैदेशिक रोजगारीकै क्रममा अस्ट्रिच र त्यसको फाइदा देखेर यसको व्यावसायिक पालनतर्फ आकर्षित भएँ । अस्ट्रिच पाल्ने सोच आएपछि ४ वर्ष यसको अध्ययन, नेपालको वातावरण र बजार सम्भाव्यता अध्ययनमै बिताएँ । धेरैले जोखिम हुने भनेर सुझाए । कतिले खिसीट्युरी पनि गरे । हिम्मत हारिनँ । आफ्नो लक्ष्यमा पुग्न प्रयास गरिरहें ।
सुरुवातमा केही चुनौती सामना गर्न सके यसबाट लाभ हुन्छ भन्ने मलाई थाहा थियो । त्यसैले म जेजस्तो परे पनि आत्तिएको छैन । ०६५ देखि अस्ट्रिचपालन सुरु गरें । अस्ट्रेलियाबाट आएर एकाएक अस्ट्रिच चरा पाल्ने भन्दा सुरुवातमा कसैले पत्याएन । लामो प्रयासमा जनतन श्रीमतीलाई मनाएँ । यसपछि अस्ट्रिच नेपाल प्रालिका नाममा फर्म दर्ता गरें । अस्ट्रेलियाबाट १ हजार ५ सय अण्डा र केही अस्ट्रिच ल्याएँ । रुपन्देहीको गंगोलियामा २० बिघा क्षेत्रफलमा जग्गा व्यवस्थापन गरेर अस्ट्रिचपालन थालेँ, जुन देशकै पहिलो र एक मात्र अस्ट्रिच फर्म हो ।
अस्ट्रिचको व्यावसायिक पालन र अनुसन्धान गर्ने उद्देश्यले खोलिएको फार्ममा सुरुवातमै करिब ३० करोड रुपैयाँ लगानी भयो । त्यसमा आफन्त चितवनका तिलकराज कँडेलको परिवारले करिब दस प्रतिशत लगानी गरेर सहकार्य गरेँ । जग्गा बढाउनुपर्ने, उपकरण किन्नुपर्ने भएकाले लगानी बढाउनुपर्ने भयो । त्यसपछि साथीले हात झिक्नुभयो । लामो समय एक्लै परें । अहिले भने थोरै लगानीमा भए पनि बुटवलका नवराज श्रेष्ठले साथ दिएका छन् ।
विदेशी बजारलाई लक्षित गरी खुलेको फार्म अहिले दाङसम्म फैलिएको छ । करिब ८ हजार अस्ट्रिच पालेका छौं । त्यसमा साना ४ हजार छन् । मासुका लागि तयार भएका १ हजार छन् । अण्डा उत्पादनका लागि राखिएका एक हजार माउ छन् । योबाहेक ८ सय अस्ट्रिच कन्ट्रयाक्ट फार्मिङमार्फत किसानले पालेका छन् । सुरुमा खोलिएको गंगोलियाको फार्ममा अण्डाबाट चल्ला बनाउने तथा हुर्काउने गरिन्छ । दाङको बेलझुण्डीमा माउ छन् । रुपन्देहीको सूर्यपूरामा ठूला तथा बिक्रीका लागि अस्ट्रिच राखिएको छ । तीनवटै फर्ममा गरी १ अर्ब ७० करोड लगानी पुगेको छ । विदेशबाट चल्ला आयात गर्दा लगानी धेरै लागेको थियो ।
अहिले फर्ममा चल्ला उत्पादन हुन्छ । केही सस्तो र कम जोखिमपूर्ण बनेको छ । फार्ममा एक चिकित्सकसहित १ सय ३७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । करिब १ हजार २ सय घरपरिवारले अप्रत्यक्ष रोजगारी पाएका छन् । दानामा मात्रै दैनिक ५ लाख खर्च छ । आम्दानीको चरणमा भने अझै पुगेको छैन । फर्ममा अहिले करिब ४ सय किलो मासु उत्पादन हुन्छ । यसमध्ये एक सय किलो रूपन्देहीमा खपत छ । बाँकी काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, नेपालगन्ज, विराटनगर, धनगढीलगायत सहरमा जान्छ । देशभरका सबै भाटभटेनी पसलमा अस्ट्रिचको मासु पाइन्छ । २ वर्षदेखि अस्ट्रिचको मासु बजारमा ल्याउँदा स्वाद चखाउँदै बेच्दै गरिएको थियो । अहिले भने त्यस्तो समस्या छैन ।
(कुराकानीमा आधारित)

“टर्कीले व्यवसायी बनायो”
- किरण कँडेल,किसान

घर नवलपरासीको गैंडाकोट भए पनि चितवनको खैरहनी नगरपालिका २ स्थित चैनपुरमा व्यावसायिक रूपमा टर्की पालेको छु । १० वटा चल्लाबाट यो व्यवसाय सुरु गरेको हो । अहिले अण्डा दिने ५ सय माउ, १ सय ५० भाले र ३ हजार चल्ला छन् । दैनिक चल्ला २ सय देखि ३ सय वटासम्म बिक्री हुन्छ । ०६९ सालमा कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा तात्रीबास पशु विकास फर्म तथा कृषि अनुसन्धान केद्रका रूपमा दर्ता गरी ०७० माघबाट यसको पालन सुरु गरिएको हो ।
पहिला चल्ला पाउन समस्या थियो । पोखरा, हेटौंडालगायतका सहरबाट चल्ला ल्याएको थिएँ । अहिले चल्लाको समस्या छैन । देशको जुन ठाउँबाट आए पनि सहज रूपमा चल्ला उपलब्ध गराउँछु । १० महिनामा एउटा टर्की १६ देखि १८ किलोसम्मको हुन्छ । पोखरा र काठमाडौंका ठूला होटलमा यसको माग बढी छ । यसको बारेमा थाहा पाउने थोरै छन् । उनीहरूलाई टर्कीका बारे अझै बुझाउन सकिएको छैन । यसको पालनमा समस्या छैन । उपयोगिता धेरै छ । मासु स्वाथ्यका दृष्टिकोणले उपयुक्त हुन्छ । चल्ला लगेर पाल्नेको संख्या बढ्दै गएको छ । टर्कीले ८ महिनामा अण्डा पार्न सुरु गर्छ । अण्डा पनि बिक्री हुन्छ । टर्कीको चल्ला ५ सय रुपैयाँ प्रतिगोटा बिक्री गर्छु । मेरो लगानी ३५ लाख नाघ्यो । फर्मको नाममा २२ कठ्ठा जग्गा छ । अहिले भौतिक संरचना तयार नभएकाले जग्गा भाडामा लिएर पालिएको छ । छुट्टाछुट्टै ठाउँमा खोर बनाइएको छ । खोर भएको ४ कठ्ठा जग्गाको मासिक भाडा मात्र २७ हजार बुझाउँछु।
टर्की कराउँदैन । शान्तसँग बस्छ । फर्मको नाममा रहेको जग्गामा घाँस लगाएको छु । ३ जनालाई रोजगारी दिएको छु । फर्म दर्ता गरेर सुरुमा बँदेल पाल्ने सोच थियो । बँदेल पाल्न सरकारबाट अनुमति पाउन सकिनँ । केही नयाँ व्यवसाय गरौं भनेर टर्कीपालन सुरु गरेको हुँ । आज टर्कीले व्यवसायीका रूपमा चिनाएको छ । फर्म हेर्न र टर्कीपालनबारे बुझ्न टाढादेखि सर्वसाधारण आउने गरेका छन् ।
(कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ६, २०७३ १८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT