कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनलाइन व्यापारमा हात हाल्नुअघि थाहा पाउनु पर्ने कुरा

विष्णु पोखरेल

अमेरिका बस्ने डीएस भण्डारी जग्गा किन्ने सोचका साथ करिब एक महिनाअघि नेपाल आए । नेपाल आएको साता नपुग्दै उनले आफूलाई मनपर्ने जग्गा किने । जग्गा किन्न न उनले आफन्त र साथीभाइ गुहारे न त ‘दलाल’ को खोजी नै गरे ।

अनलाइन व्यापारमा हात हाल्नुअघि थाहा पाउनु पर्ने कुरा

त्यत्रि मात्र होइन, उनले नेपाल आउनुअघि अमेरिकाबाटै आफूले किन्ने जग्गा लगभग रोजिसकेका थिए । नभन्दै अमेरिका हुँदै मन पराएको जग्गा नै किन्न पाए । एक महिनाको छुट्टीमा आएका उनी दुई साताअघि नै काम सकेर फर्किए । उनलाई अमेरिकामै बसेर रोज्न र नेपाल आएर जग्गा किन्न सजिलो परिदिएको हो– रियलस्टेट कारोबार गराउने एउटा अनलाइनले । 

भण्डारी मात्र होइन, विदेशमा कमाएको रकमले नेपालमा घरजग्गा जोड्न चाहने धेरैलाई सजिलो पारिदिएको छ अनलाइन घरजग्गा कारोबारले । त्यत्रि मात्र होइन, अहिले खानेकुरादेखि लत्ताकपडासम्म अनलाइनबाटै किन्न सकिन्छ । शिक्षा, स्वास्थ्यजस्ता सेवा मात्र होइन, जागिरसमेत अनलाइनबाटै खोज्न पाउँछौं । अरूलाई सुविधा दिने यस्ता अनलाइनहरू आफैंमा राम्रो आम्दानी हुने व्यवसाय बन्दै गएका छन् । सूचना प्रविधिको विकास र विस्तारसँगै नेपालमा ‘ई–कमर्स’ अर्थात् अनलाइन व्यवसाय पनि फस्टाउँदै गएको छ । 

ई–कमर्सका लागि तयारी 
ई–कमर्स सुरु गर्नपूर्व गर्नुपर्ने मुख्य काम भनेकै बजारबारे बुझ्नु हो । बजार नबुझी र अध्ययन नगरी ई–कमर्स सुरु गर्नु मूर्खता हुने बताउँछन्– यस क्षेत्रमा कारोबार गरिरहेकाहरू । ई–कमर्स आफैंमा व्यापक क्षेत्र हो । ई–कमर्सभित्र वस्तु मात्र होइन सेवासमेत पर्छ । त्यसले गर्दा आफूले कुन वस्तु वा सेवा बेच्ने हो निक्र्योल नगरी व्यवसाय सुरु गर्दा घाटा लाग्न सक्छ । सबै बुझ्न बजार सर्वेक्षण जरुरी छ । 

कहिले सुरू गर्ने ? 
बजारको आवश्यकता र तपाईंको इच्छा मिलेपछि ई–कमर्स सुरु गर्न सक्नुहुन्छ । यसका लागि कम्पनी दर्ता गर्ने प्रक्रिया भनेको अरू कम्पनीकै जस्तो हो । कम्पनी रजिस्ट्रारको कार्यालयमा गई कम्पनी दर्ता गर्नुपर्छ । करमा दर्ता गर्नेलगायतका विषय पनि अरू कम्पनीकै जस्तो हो । अरू कम्पनीभन्दा फरक भनेको चाहिँ यसका मुख्य दुइटा कुरा हुन्– आपूर्ति व्यवस्थापन र भुक्तानी लिने प्रक्रिया (पेमेन्ट सिस्टम) । अरू व्यवसायमा भन्दा यसमा यी दुवै कुरा फरक हुन्छन् । त्यसैले सूचना प्रविधिका साथै यी प्रक्रियाबारे बुझेर मात्र लगानी गर्नुपर्छ । तपाईंसँग लगानीको इच्छा, बजार मागको जानकारी, आपूर्ति व्यवस्थापन र भुक्तानी लिने प्रक्रियासम्बन्धी जानकारी छ भने सुरु गर्न सक्नुहुन्छ । 

कसरी सुरू गर्ने ? 
कम्पनी दर्तालगायतका प्रक्रिया पूरा गरेपछि तपाईं ई–कमर्स साइट लन्च गर्न सक्नुहुन्छ । त्यसका लागि सुरुमा तपाईंले तीव्र गतिको इन्टरनेट सेवा लिनुपर्छ । कम्तीमा पनि १ मेगाबाइट्स प्रतिसेकेन्ड गतिभन्दा माथिको इन्टरनेट लिनु उपयुक्त हुन्छ । इन्टरनेट मात्र होइन, तपार्इंले वेबसाइटका लागि ग्राहकलाई आकर्षित गर्ने खालको र सजिलो डोमेन लिनुपर्छ । यसका लागि सामान्य वेबसाइट वा ब्लग चलाउँदा आवश्यक पर्नेजस्तो थोरै क्षमताको होइन, धेरै क्षमताको ‘होस्टिङ’ सेवा लिनु जरुरी छ । कम क्षमताको लिएमा वेबसाइट ‘क्र्यास’ हुने सम्भावना हुन्छ । वेबसाइट बनाउँदा सामान भए सामान र सेवा भए सेवाको आकर्षक ‘डिस्प्ले’ गर्न र ‘पेमेन्ट गेटवे’ को व्यवस्था गर्नु जरुरी हुन्छ । विदेशमा बस्ने नेपाली वा विदेशीलाई समेत लक्ष्य गरेर व्यवसाय गर्ने भए त्यसैअनुसार ‘पेमेन्ट गेटवे’ को व्यवस्था गर्नुपर्छ । जस्तो पेपाल, मास्टर कार्ड, गुगल वालेटलगायतबाट भुक्तानी लिन सक्ने व्यवस्था हुनुपर्छ । यो व्यवस्था गर्न त्यत्ति सजिलो छैन । यसका लागि तपाईंले विदेशमा बस्ने नेपालीलाई साझेदार बनाउनुभयो भने सबैभन्दा उपयुक्त हुन्छ । 

आपूर्ति र भुक्तानी व्यवस्थापन 
अनलाइन व्यापार सुरु गर्नेलाई आपूर्ति र भुक्तानी व्यवस्थापन चुनौतीकै रूपमा रहेको हुन्छ । आपूर्ति व्यवस्थापनमा मुख्यत: तीनखाले प्रणाली अपनाउन सकिन्छ– आफैं सामान स्टक राखेर आपूर्ति गर्ने, अरूको स्टकलाई प्रयोग गरी कमिसन लिने तथा अरूकै स्टक र आपूर्तिलाई विज्ञापन गरे जसरी ग्राहकसँग जोडिदिने । सबैभन्दा सजिलो मोडल भनेको अरूकै स्टक र आपूर्तिलाई विज्ञापन गरेर ग्राहकसँग जोडिदिने हो । तर, यसमा नाफाको हिस्सा एकदमै कम हुन्छ । धेरै सामान बिक्री गर्न सक्नु भएन भने व्यवसाय चलाउन गाह्रो पर्न सक्छ । 
अरू दुईवटा मोडलमा भने तपाईं आफैंले आपूर्ति गर्ने प्रणाली विकास गर्नुपर्छ । त्यसका लागि सवारी साधन र डेलिभरी गर्ने कामदार आवश्यक हुन्छ । उनीहरूले अर्डरअनुसार सामान पुर्‍याउने काम गर्छन् । नेपालमा सूचना प्रविधिको ज्ञान हुने ग्राहक कम छन् । त्यसले गर्दा एकदमै थोरैले मात्र ‘अनलाइन पेमेन्ट गेटवे’ प्रयोग गर्छन् । त्यसैले धेरैलाई तपार्इंले ‘क्यास अन डेलिभरी’ गरिदिनुपर्ने हुन्छ । यस्तो गर्दा सुरक्षाको कुरा पनि आउँछ । एकान्त स्थानमा सामान डेलिभरी गरिदिन बोलाएर सामान लुटेर हिँड्ने घटनासमेत भइसकेकाले त्यसतर्फ पनि सचेत रहनुपर्छ । 
अनलाइनबाटै सेवाको व्यापार गर्ने भए पनि तीनैखाले प्रणालीमा काम गर्न सकिन्छ । त्यसमा फरक भनेको सामानको साटो सेवा आपूर्ति गर्ने हो । जस्तो अहिले अनलाइनबाटै जागिर खोजिदिने कम्पनीहरू सञ्चालनमा आएका छन् । उनीहरूले रोजगारदाता र रोजगारी खोज्नेलाई एक आपासमा जोड्ने काम गर्छन् । यसका लागि कसैले विज्ञापन गरिदिएको जस्तो शैली अपनाएका छन् भने कतिपयले चाहिँ रोजगारदातालाई जागिर खोज्नेहरूसमेत भेटाइदिन्छन् । यसका लागि सम्पर्कको ठूलो भूमिका हुन्छ । त्यसैले अनलाइन सेवा व्यापारका लागि ‘पब्लिक रिलेसन’ को भूमिका महत्त्वपूर्ण हुन्छ । 

वैधानिक बाटो 
अनलाइन व्यवसाय सुरु गर्ने कतिपयले कम्पनी दर्ता नगरी वा करसमेत नतिरी सेवा सुरु गर्छन् । सजिलै डोमेन दर्ता गर्न र अनलाइन बनाउन सकिने हुँदा उनीहरूले यस्तो गरेका हुन् । त्यसले दुर्घटना निम्त्याउने हुन्छ । सरकारी निकायलाई छलेर गरिने यस्तो व्यवसाय र व्यवसायी जुनसुकै बेला समस्यामा पर्न सक्छन् । केही चलेका नेपाली ई–कमर्स साइटहरू यस्तै कारणले बन्द भएका छन् । न्यून बिजकीकरण भएर आएका सामान बिक्री गर्ने र भन्सार नतिरी सामान ल्याउने जस्ता कार्य गर्दा पनि यस्ता व्यवसायी फसेको देखिन्छ । यस्ता झन्झटमा नपर्नका लागि तपार्इंले सबै सरकारी निकायमा दर्ता गरेर वैधानिक बाटोबाट व्यवसाय सुरु गर्नुपर्छ । 


“नयाँ सोचको व्यापार थाल्नुपर्छ”
 - अनिल बस्नेत, सञ्चालक, मेट्रो तरकारी

सात वर्षअघि मैले आईटीमा स्नातक गरें । त्यसपछि विभिन्न आईटी कम्पनीमा काम गरें । तीन वर्षजति काम गरेपछि मलाई आफ्नै केही गर्नुपर्छ भन्ने लाग्यो । तीनजना साथीहरू मिलेर आफैं काम गर्न थाल्यौं । हामीले सुरुमा अमेरिका, युरोप, अस्ट्रेलिया लगायतको आउटसोर्सिङको काम गरेका थियौं । बाहिरको काम गरिरहेका बेला हामीलाई नेपालमै केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो । नयाँ काम गर्ने भन्ने त सोचियो तर के गर्ने निर्णय भइसकेको थिएन । 

एकाएक मलाई एउटा समस्याले व्यापारको आइडिया दियो । म अफिसबाट सधैं ढिलो घर जान्थें । बेलुका आमाले फोन गरेर तरकारी लिएर आइज भन्नुहुन्थ्यो । मलाई अफिसबाट निस्केर तरकारी किन्न जाने फुर्सद हुँदैनथ्यो । यस्तै समस्या अरूलाई पनि होला । घरघरमा तरकारी पुर्‍याउन पाए त राम्रै हुन्थ्यो भन्ने लाग्यो । अरू साथीहरूलाई पनि यो योजना सुनाएँ । उनीहरूले एकदम राम्रो सोचाइ, नेपालमा नयाँ हुन्छ भनेर हौसला दिए । 

त्यसपछि मैले ६ महिनाजति यसमा अनुसन्धान नै गरें । बिहान ३ बजे उठेर कालिमाटी बजार जान्थें । त्यहाँ कसरी तरकारीको व्यापार हुन्छ भन्ने सिकें । अनि बिस्तारै व्यापारी र किसानसँग पनि सम्पर्क बढाएँ । सर्भे गरेर पनि हेर्‍यौं । सबैतिरबाट घरघरमा तरकारी पुर्‍याउने व्यापार चल्छ भन्ने नै नतिजा आयो । त्यसपछि हामीले आईटीको पढाइलाई सदुपयोग गर्दै अनलाइनबाट अर्डर लिएर घरघर तरकारी पुर्‍याउने व्यवसाय सुरु गर्‍यौं । मेरो बुवा सरकारी जागिरे, आमा गृहिणी । घरपरिवारबाट व्यवसाय गर्नभन्दा पनि जागिरमै जोड थियो । तर, मैले व्यवसाय नै गर्ने अठोट गरेर ‘मेट्रो तरकारी डटकम’ खोले । सुरुमा अर्डर लिन र डेलिभरी गर्नसमेत समस्या झेलियो । सुरुमा खासै अर्डर पनि आउँदैनथ्यो । बिस्तारै मान्छेहरू अनलाइन किनमेलतर्फ आकर्षित हुँदै गए । अर्डर बढ्न थाल्यो । डेलिभरी दिँदा राम्रो सामान दिनुपर्ने भएकाले हामीले प्याकेजिङ गर्न पनि सिकेर गर्‍यौं । अहिले व्यवसाय विस्तार भइसकेको छ । मेट्रो तरकारी ब्रान्डजस्तो बनेको छ । सुरुमा गाह्रो भए पनि अहिले भने म सन्तुष्ट छु । 

अनलाइन व्यापार सुरु गर्न आईटीको ज्ञान त हुनैपर्छ । म आफैं आईटी पढेकाले मलाई समस्या भएन । डोमेन दर्ता र होस्टिङमा मलाई गाह्रो भएन । अब हामीले बेच्ने नै तरकारी भएकाले किसानसँग र तरकारी सप्लायर्ससँग सम्बन्ध विस्तार गर्‍यौं । त्यसले आपूर्तिमा सजिलो पार्‍यो । डेलिभरीमा हामी चुस्त हुनैपर्छ । ग्राहकले अर्डर गरेपछि भनेको बेलामा पुर्‍याउन सकिएन भने विश्वसनीयतामा कमी आउँछ । यो अनलाइन व्यापार गर्दा सचेत हुनुपर्ने कुरा हो । कम्पनी दर्ता गर्न खासै गाह्रो छैन । सबै प्रक्रिया पूरा गरेर आफैं गर्न पनि सकिन्छ । सबैभन्दा सजिलो भनेको एउटा वकिललाई जिम्मा लगाइदिँदा हुन्छ । उनीहरूले नै सबै काम गर्छन्, आफूले पारिश्रमिक दिनुपर्ने मात्र हो ।     
(कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ९, २०७३ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?