फसाउलान् फेसबुके साथीले

जनकराज सापकोटा

काठमाडौं — महानगरीय अपराध महाशाखाले १२ फागुनमा वैदेशिक रोजगार व्यवसायी प्रेम कटुवाललाई पक्राउ गर्‍यो । कटुवाल पक्राउको कारण धेरैका निम्ति जति अचम्मको विषय थियो, त्यति नै उनलाई लागेको अभियोग । सामाजिक सञ्जाल फेसबुकमार्फत अनेकन आश्वासन दिएर पैसा असुल्ने अन्तर्राष्ट्रिय गिरोहमा कटुवाल संलग्न रहेको महाशाखाको आरोप थियो ।

फसाउलान् फेसबुके साथीले

कटुवाल पक्राउपछि सामाजिक सञ्जाल र अन्य प्रविधिको प्रयोग गरेर लाखौं रुपैयाँ असुल गर्ने प्रवृत्ति सतहमा आएको छ । तर यस्तै प्रकृतिको मुद्दामाथि निरन्तर अनुसन्धान गरिरहेको अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोका निम्ति यी दुवै नयाँ र नौलो कुरा होइनन् । 

केन्द्रीय अनुसन्धान ब्युरोले साउनयता आठ महिनामा मात्रै भर्चुअल ठगीमा संलग्न पाँच फरक घटनाको अनुसन्धान गरिरहेको छ । ब्युरोका अनुसार ती ठगीमा मात्रै पीडितहरूले ६४ लाख रुपैयाँ गुमाएको देखिन्छ । महानगरीय अपराध महाशाखामा पनि यही अवधिमा यस्तै प्रकृतिका सात ठगीका घटना दर्ता भएका छन्, जसमा पीडितले ७० लाख रुपैयाँ गुमाएका छन् । अधिकारीहरूको बुझाइ छ, अनुसन्धानका निम्ति प्रहरीकहाँ आएका यी केही प्रतिनिधि घटना मात्रै हुन् । महाशाखाकी प्रवक्ता एसपी मीरा चौधरी भन्छिन्,'सामाजिक सञ्जालको प्रयोगमार्फत हुने ठगीका घटना सरुवा रोगझै गाउँ–गाउँसम्म फैलिँदै छन् ।’

अस्ट्रेलियन नागरिक हेन उल्ग्यान र भ्यालेन्टाइन उल्ग्यानले फेसबुकमार्फत पठाएको फ्रेन्ड रिक्वेस्ट काठमाडौंकी एक गृहिणीले स्वीकार गरिन् । त्यही फेसबुके मित्रता बिस्तारै संवादमार्फत निकटतामा परिणत भयो । अस्ट्रेलियन दम्पतीले एक दिन कुरैकुरामा ती युवतीलाई भने, तिमीलाई दुई आइफोन, ८५ हजार पाउन्ड र ल्यापटप उपहार पठाएका छौं ।’ यस्तो खबर आएको केही दिनमै ती युवतीलाई भारतीय नम्बरबाट फोन आयो । भारतीय युवतीले भनिन्, 'तिमीलाई पठाएको उपहार भारत आइपुग्यो, त्यसलाई भन्सार छुटाउन ७५ हजार चाहियो ।’ युवतीले उपहारको लोभमा दायाँ–बायाँ केही नसोची रकम पठाइदिइन् । ती युवतीले उपहारको लोभमा चारपटक गरेर ७ लाख ४२ हजार रुपैयाँ भारतीय युवतीले भनेका फरक–फरक बैंक खातामा हालिरहिन् । तर न उनको उपहार आयो, न अस्ट्रेलियन दम्पती नै जवाफदेही बने । त्यसपछि ती युवतीले बल्ल थाहा पाइन्, उनलाई मित्रता र उपहारको लोभमा ठगीको जालोमा फसाइएको रहेछ । 

महाशाखाले यो र यस्तै ठगीको घटनाको तारमा कटुवालको संलग्नता रहेको देखाएको छ । महाशाखाका अनुसार विदेशीले जालमा पारेका नेपालीबाट असुल भएको रकम कटुवालको खातामा पनि पुगेको देखिन्छ । महाशाखाका अनुसार यसैगरी विभिन्न व्यक्तिमार्फत असुल भएको रकममध्ये ३५ देखि ४० लाख रुपैयाँ विभिन्न च्यानल हुँदै कटुवालको खातामा पुगेको छ । 

ठगीमा पर्नेहरूले दिएको बयानलाई केलाउँदा एउटै प्रवृत्ति फेला पर्छ, त्यो हो अज्ञात विदेशी साथीसँगको मित्रता । त्यसपछि उपहारको प्रस्ताव र उपहार हात पार्न भन्सार शुल्क वा अन्य बहानामा रकम असुली । अनौठो त के छ भने, युरोप र अमेरिकाका विदेशी साथी बने पनि उनीहरूले पैसा असुल गर्न भने भारतीय नागरिकहरूलाई सब एजेन्टका रूपमा प्रयोग गरेको देखिन्छ । भारतीयले भने आवश्यकताअनुसार थाहै नदिई नेपाली नागरिकलाई सब एजेन्ट बनाएका छन् । 

२६ मंसिरमा केन्द्रीय अनुसन्धान ब्युरोले अनिलनाथ बोकी श्रेष्ठ र अनिता महर्जनलाई पक्राउ गर्‍यो । यी दुवै त्यस्ता पात्र थिए, जो फेसबुकमार्फत ठगी गर्ने विदेशी नागरिकको भारतीय एजेन्टको पासोमा परेका थिए । फेसबुकमार्फत ठगीको जालमा परेकाहरूबाट पैसा असुलेर भारतीय नागरिकको खातामा पठाइदिने काममा दुवैको संलग्नता देखिन्छ । जसबाट उनीहरूले केही हजार कमिसन लिएका थिए । 

टार्गेटमा महिला 
ब्युरोकी प्रवक्ता चौधरीकहाँ केही साताअघि मात्रै पाल्पाबाट एउटी महिलाले फोन गरिन् । उनको समस्या थियो, फेसबुकमार्फत साथी बनेको विदेशीले पठाउने उपहारको लोभमा ५ लाख ५० हजार रुपैयाँ गुमाउनु । बेलायती नागरिकसँग फेसबुकमार्फत मित्रता गाँसेकी ती महिलाले बेलायती साथीले भनेअनुसार उपहारको लोभमा भारतीय नागरिकको खातामा रकम पठाइदिएकी थिइन् । 

चौधरीले भनिन्, 'यस्ता ठगहरूको पहिलो टार्गेट गृहिणी महिला हुने गरेका देखिन्छन् । जो फुर्सदिला छन् र सजिलै विश्वासमा पर्छन् ।’ चौधरीले ठगीको फन्दामा परेकी हेटौंडाकी एक युवतीको कथा सुनाइन्, जसले विदेशी फेसबुके साथीको विश्वासमा परेर २८ लाख रुपैयाँ गुमाइन् । यो ठगीको घटना अचम्मलाग्दो त थियो नै, अनौठो पनि । बेलायती नागरिकसँग फेसबुकमार्फत साथी बनेकी युवतीलाई ती बेलायतीले महँगा गहना उपहार पठाइदिने बताए । यस्तो आश्वासनको केही दिनमै एक भारतीय नागरिकले ती युवतीलाई सन्देश पठाए, तपाईंको उपहार आइपुगेको छ । भन्सार छुटाउन केही रकम चाहियो । भारतीय नागरिकको भरमा परेर हेटौंडाकी युवती बारम्बार रक्सौल पुगिन् र एकपछि अर्को गर्दै २८ लाख रुपैयाँ एसबीआई बैंकको खातामा राखिदिइन् । तर पछि न उपहार आयो, न भारतीय र बेलायती नागरिक सम्पर्कमा रहे । यस्तै ठगीका घटनामा प्राविधिक अनुसन्धान गरिरहेका एसपी नबिन्द अर्यालको अनुभवले पनि विदेश श्रीमान् रहेको गृहिणी र आर्थिक रूपमा सम्पन्न गृहिणी ठगीको फन्दामा परेको बताउँछन् । उनले भने, 'ब्युरोले हेरिरहेका पाँचमध्ये चार घटनामा गृहिणी ठगिएका छन् ।’ अर्यालका अनुसार यस्तै फेसबुके ठगी जालमा परेकी काठमाडौंकी एक युवतीले तीस लाखको उपहार पाउने आसमा साढे पाँच लाख गुमाइन् । एसपी अर्यालले भने, ‘ती गृहिणीलाई रकम गुमाएको पीर छँदैछ, ठगीको घटना श्रीमान्ले थाहा पाउलान् र घरबार बिग्रिएला भन्ने अर्को चिन्ता छ ।’ 

ठगीका काइदा 
फेसबुकमार्फत हुने यस्ता ठगीका घटनामा अधिकांश बेलायती नागरिकहरूको संलग्नता देखिन्छ । तर तिनका सव–एजेन्ट भने भारतीय नागरिक हुन्छन् । जस्तो कि सुरुमा विदेशी नागरिकले साथी बन्ने प्रस्ताव पठाउँछन् । साथी भइसकेपछि नजिकिन्छन् र अन्त्यमा लाखौं रुपैयाँको उपहार पठाउने झूटो वाचा गर्छन् । 

यस्तो वाचा गरेको केही दिनमै भारतीय नागरिकले फोन वा फेसबुकमार्फत सूचना पठाउँछन्, तपार्इंको उपहार आइपुग्यो, भन्सार छुटाउन रकम चाहियो भन्दै । यसरी सूचना छाड्नेले उपहारको फोटो फेसबुक म्यासेन्जरमार्फत नै पठाइदिन्छन् । अनि, नेपालकै कुनै बैंकको खाता वा मनी ट्रान्सफर कम्पनीमार्फत रकम पठाउन लगाउँछन् । यस्तो रकम नेपालकै एजेन्टमार्फत भारतीय नागरिकको हातमा पुग्न सक्छ वा सोझै भारतीयले हात पार्न पनि सक्छन् । 

प्रकाशित : चैत्र ६, २०७३ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?