१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

समस्यामा युट्युब

घृणा फैलाउने सामग्रीमा विज्ञापन राखेको खुलासा भएपछि संसारका २ सय बढी ब्रान्डले युट्युबबाट आफ्नो भिडियो हटाएका छन् । र, युट्युबले यो समस्या समाधानका लागि नयाँ योजना अघि सारेको छ ।

यो वर्षको सुरुवातमा युट्युबले खुसी हुँदै घोषणा गरेको थियो– युट्युबमा प्रयोगकर्ताले दैनिक एक अर्ब घण्टा बराबरको भिडियो हेर्ने गर्छन् । फेब्रुअरीमा युट्युबले सार्वजनिक गरेको यो तथ्यांक सन् २०१२ को यही अवधिको भन्दा १० गुणाले बढी हो ।

समस्यामा युट्युब

अर्थात् प्रयोगकर्ताले युट्युबमा हेर्ने भिडियोको अवधि ५ वर्षमा १० गुणाले बढी हो । तर, यो खुसीको एक महिना बितेलगत्तै संसारको सबैभन्दा ठूलो भिडियो लाइब्रेरी अर्को समस्याले जेलिएको छ । अहिले, संसारका दुई सयभन्दा बढी कम्पनीले युट्युबमा विज्ञापन दिन बन्द गरेका छन् । जसका कारण उसलाई हजारौं बिलियन डलर घाटा लागेको भनिएको छ ।

सानो झिल्कोले ठूलो आगो लगाउन सक्छ भनेझैं मार्चको मध्यतिर बेलायती पत्रिका दि टाइम्सले युट्युबबारेको एक समाचार प्रकाशित गरेपछि बेलायत, अमेरिका हुँदै विश्वका ठूला कम्पनीहरूले आफ्नो विज्ञापन धमाधम झिक्न सुरु गरेका थिए । टाइम्सले प्रकाशित गरेको समाचारमा अतिवादी र आतंकवादी संगठनले चलाएको एकाउन्टमा राखिएको घृणा फैलाउने सामग्री (भिडियो) मा युट्युबले विज्ञापन राख्ने गरेको खुलासा गरेको थियो ।
वास्तवमा त्यस्ता सामग्रीमा युट्युबले जानीजानी विज्ञापन राखेको थिएन । युट्युबले विज्ञापन राख्नका लागि प्रयोग गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (भनौं, सफ्टवेयर) ले योग्य ठानिएको भिडियोमा स्वत: विज्ञापन राख्ने गर्छ । यो काम मानिसबाट गर्न सम्भव पनि हुन्न किनकि युट्युबमा हरेक मिनेट करिब ४ सय घण्टा बराबरको भिडियो अपलोड हुन्छ । हरेक भिडियो विज्ञापन राख्नको लागि योग्य छन् कि छैनन्, त्यसमा घृणा फैलाउने खालका सामग्री पो छ कि भनेर जाँच गर्ने हो भने कति जनशक्ति लाग्लान्, यसको कुनै हिसाबकिताब छैन । र, यस्तो काम मानिसले गरेर सायदै सम्भव होला ।
बेलायती पत्रिकाको यो खुलासासँगै प्राय: बेलायतका ठूला र मल्टिनेसनल कम्पनीले युट्युबमा आफ्नो विज्ञापन राख्न बन्द गरे । यसमा अमेरिकीसहित विश्वका अन्य ठूला ब्रान्ड पनि जोडिए ।
समाचार प्रकाशित भएलगत्तै युट्युबले त्यस्ता घृणा फैलाउने खालका सामग्रीमा विज्ञापन राखिएकोप्रति माफी माग्दै विज्ञापन राख्ने आफ्नो प्रणालीलाई परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्‍यो । साथै, उसले घृणा फैलाउने सामग्रीमा विज्ञापन रोक्नका लागि आफ्नो विज्ञापन नीतिलाई थप कडाइ गर्ने र थप जनशक्ति खटाउने बतायो तर समाचार प्रभाव अघि उसको केही जोर चलेन ।
युट्युब गुगलले सन् २००६ मा आफू मातहत ल्याएको थियो । युट्युब अहिले गुगलको मातृ कम्पनी अल्फाबेटअन्तर्गत छ । मार्केटिङ रिसर्च कम्पनी ई–मार्केटरका अनुसार युट्युबले विज्ञापनमार्फत कमाउने आम्दानी अल्फाबेटको कुल आम्दानीको नगन्य छ । अघिल्लो वर्ष साढे ७३ बिलियन डलर आम्दानी गरेको अल्फाबेटको ८ प्रतिशत हिस्सा युट्युबको थियो । अर्थात्, युट्युबले अघिल्लो वर्ष साढे ६ बिलियन डलर आम्दानी गरेको थियो ।
अर्को, क्यापिटल मार्केटिङ विश्लेषक कम्पनी आरबीसीका विश्लेषण मार्क महानेको प्रक्षेपणअनुसार युट्युबमा विज्ञापन नदिने ठूला कम्पनीको निर्णयले यो वर्ष अल्फाबेटको आम्दानी २ प्रतिशतले मात्रै घट्छ । ठूला ब्रान्डले विज्ञापन नराख्ने निर्णय गरेसँगै अल्फाबेटको सेयर ४ प्रतिशतले घटेको थियो ।
युट्युब अल्फाबेटको एउटा हिस्सा भए पनि यसबाट हुने कमाइमा संसारभर हजारौं मानिस निर्भर छन् । युट्युबले भिडियोमा विज्ञापन राखेबापत दिने रकमले संसारभर हजारौं ब्रान्ड, मिडिया, व्यक्तिले भिडियो, बनाएर र खिचेर युट्युबमा राख्ने गरेका छन् जसले युट्युबलाई भिडियोका लागि सबैभन्दा आकर्षक स्थल बनाएको हो ।
युट्युबमा जति धेरै भिडियो हेरियो त्यति धेरै आम्दानी हुने भएकाले भिडियो सामग्री निर्माताहरू यसैका लागि भिडियो बनाउन सक्रिय छन् र यसैका कारण प्रयोगकर्ताले आफ्नो रुचिअनुसारका भिडियो युट्युबमा पाएका हुन् । त्यसैले युट्युबको आम्दानी अल्फाबेटको कुल आम्दानीको सानो हिस्सा भए पनि यसको लोकप्रियता भने निकै ठूलो छ । युट्युब गुगल सर्च इन्जिन र फेसबुकपछि संसारभर सबैभन्दा धेरै हेरिने साइटमा पर्छ ।
युट्युबको यो समस्या धेरै दिन भने नरहन सक्छ । उसले अघिल्लो साता मात्रै विज्ञापन राख्नका लागि युट्युब च्यानलको कुल भ्यु कम्तीमा १० हजार हुनुपर्ने नियम बनाएको छ भने नयाँ सर्तहरू सुरु गरेको छ । जसलाई विज्ञापनदाताहरूले सकारात्मक कदमका रूपमा हेरेको छ । तर, यति धेरै भिडियोमाझ उपयुक्त भिडियोमा मात्रै विज्ञापन राख्न सक्नु युट्युबका लागि चुनौती हुनेछ । 

–एजेन्सीको सहयोगमा

प्रकाशित : वैशाख १, २०७४ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?