२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा सबैको आँखा

हेलो शुक्रबार

माइक्रोसफ्टले अघिल्लो साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि छुट्टै रिसर्च ल्याब खोल्ने घोषणा गरेको थियो । माइक्रोसफ्टको यो घोषणा कुनै नौलो थिएन किनकि यसअघि नै गुगल, एप्पलजस्ता उसका प्रतिस्पर्धी कम्पनी यो अभियानमा जुटिसकेका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा सबैको आँखा

अहिलेका अधिकांश ठूला प्रविधि कम्पनीको ध्याउन्न आर्टिफिसियल इन्टेलिजेन्सको अनुसन्धानमा छ ।

आर्टिफिसियल इन्टेलिजेन्सलाई अर्को शब्दमा मेसिन लर्निङ पनि भन्न सकिन्छ । यसको सोझो अर्थ कुनै भौतिक मेसिन वा सफ्टवेयरले मानिसले बुद्धि लगाएर काम गरेजस्तै गर्न सक्ने प्रविधि हो । यसले गर्न सक्ने कामको सूची बनाउने हो भने निकै लामो हुन सक्छ ।

जस्तो : फेसबुकमा सामूहिक फोटो अपलोड गर्दा फोटोमा को–को व्यक्ति छन् भनेर चिन्न सक्ने भएको छ, फेसबुक । मानिसले आवाजमार्फत दिएको निर्देशनमा एप्पलको सिरीले मोबाइल र कम्प्युटरमा म्यासेज गर्ने, कसैलाई कल गर्नेदेखि अलार्म सेटसम्मका विभिन्न काम गर्न सक्छ । ठूला कम्पनीहरू कल सेन्टरबाट मानव जनशक्ति हटाएर सफ्टवेयरको भरमा आफ्ना उपभोक्ताको समस्याको सूची तयार पार्ने र त्यसलाई त्यसैमार्फत समाधान गर्न सक्षम भइरहेका छन् ।

यी केही उदाहरण भए जसलाई आर्टिफिसियल इन्टेलिजेन्सले समेट्छ । शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, बैंकिङ, प्रविधि, घरायसीसम्बन्धी अहिले धेरै सफ्टवेयर र उपकरणको विकास भएका छन् । त्यसमा प्रयोग भएका धेरै प्रविधिलाई एआई भन्न सक्छौं जसले मानिसले दिएको निर्देशन वा सिकाइको माध्यमबाट समस्या हल गर्न सक्छन् ।

फेरि अर्को उदाहरण लिऔं, मानिसले गर्ने काम अब रोबोटले गर्नेछ भनेर जति पनि चिन्ता व्यक्त गरिँदै छ, ती सबै एआईमा भएको प्रगतिका उपज हुन् । कुनै मेसिन भनौं वा सफ्टवेयर त्यसले मानिसले गर्ने एकै प्रकृतिका काम सिकेर त्यसैअनुसारको काम गर्न सक्ने भएको छ । जस्तो : कुनै कम्पनीको सर्भिस सेन्टरमा आउने समस्याहरू उस्तै प्रकृतिका हुन्छन् र अधिकांश ग्राहकको प्रश्न पनि उस्तै प्रकारका हुन्छन् । हरेक ग्राहकलाई सोही उत्तर दिन र उनीहरूका सोही प्रश्नको जवाफ दिन मानिस नै भइरहनुपर्छ भन्ने छैन । यसका लागि कुनै सफ्टवेयरले त्यो काम गर्न सक्छ ।

जस्तो : कुनै इन्टरनेट प्रदायक कम्पनीमा हरेक पटक ग्राहकले फोन गर्ने र सोध्ने प्रश्न एकै प्रकृतिका हुन सक्छन् । मेरो इन्टरनेट चलेन वा स्लो भयो । यसका लागि त्यहाँ सर्भिस सेन्टरमा काम गर्ने मानव जनशक्तिले दिने उत्तर पनि एकै हुन सक्छ । यसका लागि मान्छे नै किन चाहियो र ? एकपटक सफ्टवेयर बनाउन खर्च गरेपछि वर्षौंसम्म मानव जनशक्तिलाई दिनुपर्ने तलबको रकम जोगिन्छ । यसैकारण धेरै कम्पनीहरू धेरै मानिस खटेर एकै प्रकारले गर्नुपर्ने कामका लागि मेसिन वा सफ्टवेयरमा निर्भर हुन चाहन्छन् जसका कारण उनीहरूले खर्चमा कमी आओस् । यसअघि मानिसलाई धेरै बल लगाएर गर्नुपर्ने एकै खालको कामलाई मेसिनले विस्थापित गरेको थियो अब भने मानिसले बुद्धि लगाएर गर्ने काम पनि विस्थापित हुने जोखिम बढेको हो । 

तर यो प्रविधिले मानिसको रोजगारी खोस्ने मात्रै होइन, रोजगारीको अन्य अवसर सिर्जना पनि गरिरहेको छ । किनभने यो प्रविधि आफैं जन्मिने नभई मानिसले नै निर्माण गरेका हुन् । र, यो मानव नियन्त्रणबाहिर पक्कै जाने छैन् । यद्यपि केही वैज्ञानिक र जानकारहरूले एआईको सीमालाई नियन्त्रण गर्नुपर्ने आवाज भने उठाउन थालिसकेका छन् किनकि मानिसले सिकाएको मेसिन वा सफ्टवेयर मानिसकै लागि जोखिम बनेको देख्न कोही चाहँदैन । 

त्यसैले आर्टिफिसियल इन्टेलिजेन्सको विकासमा संसारभर धेरै कम्पनी र समूह सक्रिय छन् जो मानिसका लागि उपयोगी सफ्टवेयर वा मेसिन बनाउन उद्यत छन् । मानिसको कामलाई विस्थापित गर्न सक्ने कुनै सफ्टवेयर वा मेसिन बनाउन सके त्यसले उनीहरूलाई दिने सफलता धेरै ठूलो हुन सक्छ, त्यसैले सानादेखि ठूला कम्पनीहरू यस क्षेत्रमा खटिएका छन् ।

ठूला प्रविधि कम्पनीहरूको लगानी यो क्षेत्रमा बढ्दो छ । उनीहरू एआईको क्षेत्रमा केही उपलब्धिमूलक काम गरिरहेका साना खालका कम्पनीहरू खोजी–खोजी किन्न चाहन्छन् जसका कारण उनीहरूको अनुसन्धानमा सहयोग पुगोस् । गुगलले मात्रै अघिल्लो वर्ष एआईको क्षेत्रमा अनुसन्धान गरिरहेका ११ वटा कम्पनीलाई किनेर आफूमा समाहित गरिसकेको छ । उसले एआईको अनुसन्धानका लागि मात्रै डिपमाइन्ट र ब्रेनप्रोजेक्ट छुट्टाछुट्टै सञ्चालन गरिरहेको छ । यसमार्फत आएको धेरथोर उपलब्धि उसले आफ्नो भर्चुअल असिस्टेन्ट टुल गुगल असिस्टेन्टमार्फत प्रयोगकर्तासामु बाँडिरहेको पनि छ । गुगलका असिस्टेन्ट एप्पलको सिरीजस्तै प्रविधि हो जसले प्रयोगकर्ताले आवाजमार्फत दिएको निर्देशनअनुसार मोबाइलमा विभिन्न काम गर्न सक्छ ।

गुगलले सुरुवात गरेको चालकविहीन कार बनाउने होडमा अहिले संसारका सबैजसो ठूला कार कम्पनीहरू समाहित भइसकेका छन् । उनीहरूले इमेजमार्फत सडकमा गुडिरहेको गाडीहरूको अवस्था मूल्यांकन गरी सोहीअनुसार स्पिड नियन्त्रण गर्ने, साइड दिनेजस्ता काम गर्न सक्ने भएका छन् । यसका लागि केही गाडी निर्माता कम्पनीहरूले आफ्नै रिसर्च ल्याब खोलेका छन् भने केहीले प्रविधि कम्पनीसँगको सहकार्यमा अनुसन्धानमा जोड दिइरहेका छन् । केही सहरमा चालकविहीन कार गुडाउने परीक्षण भइरहेका छन् । 

हरेक क्षण मानवीय विवेक आवश्यक पर्ने यस्तो कामका लागि त मानव आवश्यक नपर्ने अवस्था आइसकेको छ भने मानिसले सिर्जनशीलताबिना हरेक पटक एकै काम गर्ने पेसाहरू के होलान् ? अब विस्थापित हुन्छ । सबैको अनुमान यही छ ।

प्रकाशित : श्रावण १०, २०७४ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?