गजबको यो डिभाईस, जसले मोबाइल तात्नबाट जोगाउँछ

दिनेश यादव

काठमाडौं — मोबाइल, ट्याबलेट र ल्यापटपलगायतमा देखिने विभिन्न समस्यामध्ये यी उपकरणहरु चाँडै तात्नु पनि एक हो । ब्याट्री चाँडै सकिनु, हयाङ्ग हुनुलगायतका समस्याहरुको समाधान प्राविधिकहरुले धेरै पहिला नै गरिसकेका छन् । तर, मोबाइल डिभाईसहरु तात्ने समस्याको समाधान हुन सकेको थिएन ।

गजबको यो डिभाईस, जसले मोबाइल तात्नबाट जोगाउँछ

धेरै उपभोक्ताको यसबारे गुनासो रहदै आएको थियो । मोबाइल र ल्यापटप बनाउने कम्पनीदेखि प्राविधिकसम्मका लागि ‘हिटिङ इभेक्ट’ समस्या टाउको दुखाईको विषय थियो । लामो समयसम्मको अनुशन्धानपछि प्राविधिकहरुले उक्त असरलाई कम गर्ने उपकरण बनाएका छन् । 

हालै तिनीहरुले मोबाइल इलेक्ट्रोनिक्सलाई प्रयाप्त चिसो बनाउने नयाँ कुलिङ डिभाईस बनाएका हुन ।  लचिलो र सजिलै मोड्न सकिने उक्त डिभाईस धेरै उपयोगी छ । यो फोलिमर फिल्मबाट बनाइएको छ । यसले कम्प्लेक्स कर्भेचर या मुभिङ सर्फेसका साथ मोबाइल इलेक्ट्रोनिक्सलाई अनुकूलन प्रदान गर्छ । अनुशन्धानकर्ताहरुको एउटा टिमले हालै अमेरिकामा यसको पहिलो सफलतापूर्वक प्रदर्शन गरेका छन् । ‘इलेक्ट्रोक्यालोरिक असर’ सिद्धान्तमा आधारित यो उपकरण एउटा ठोस कुलिङ डिभाइस हो । कुनैपनि विद्युतिय क्षेत्रमा उपकरणहरुले काम गरिरहेको अवस्थामा त्यसको तापक्रममा एकाएक परिवर्तन गराउने सकिने/हुने सिद्धान्त हो, इलेक्ट्रोक्यालोरिक इफेक्ट हो । यही सिद्धान्तलाई त्यसमा उपयोग गरिएको छ । 

‘फिजिक्स ओआरजी’ अनलाईनका अनुसार नयाँ पोलिमर कुलिङ डिभाईसलाई तापको स्रोत र ताप बाहिर निस्कने ठाउँमा तह बनाएर राखिन्छ । जब डिभाईसमा विद्युतधारा प्रवाह हुन्छ, पोलिमर हिट सिंकको सम्पर्कमा पुग्छ । त्यसपछि त्यसका अणुहरु तापका स्रोतहरुसम्म पुग्छ र उपकरणलाई चिसो बनाई राख्न सहयोग गर्छ ।

यो प्रक्रिया दोहरी रहने भएकाले तपाईको मोबाइल र ल्यापटपलाई चिसो बनाई राख्न मद्दत पुग्छ । सामान्य अवस्थामा पनि व्याट्रीका कारण मोबाइल तातेमा यो पोर्टेबल र फ्लेक्जीवल डिभाईसले ५० सेकेण्डमै तापक्रम ३ डिग्री सेल्सियसमा झार्न सक्ने क्षमताको भएको दाबी गरिएको छ । ‘साइन्स जर्नल’ का अनुसार इलेक्ट्रोक्यालोरिक(इसी) पोलिमर फिल्मको प्रतिग्राम विशिष्ट कुलिङ सामथ्र्य २ दशमलव ८ वाट रहेको छ । यसै वर्षको सेप्टेम्बर १५ मा ‘साइन्स’ पत्रिकामा यसबारे अनुशन्धानमुलक रिपोर्ट समेत प्रकाशित भइसकेको छ  ।   

अत्यन्तै पातलो यो उपकरणले स्मार्टफोनहरु र ल्यापटप कम्प्युटरलाई अनावश्यक तातो हुनबाट जोगाउने छ । अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटी,हेनरी स्याम्युएली स्कुल अफ इन्जिनियरिङ एन्ड एप्ल्याइड साइन्स र एसआरआई इन्टरनेसनलका इन्जिनियर तथा वैज्ञानिकहरुले यो उपकरण बनाएका हुन । सबै ठाउँमा फिट हुनेगरि यसलाई पातलो र लचिलो बताइएको दाबी उनीहरुको छ । यसलाई वेयरेबल इलेक्ट्रोनिक्स, रोबोटिक सिस्टम तथा नयाँ खाले व्यक्तिगत कुलिङ प्रणालीमा समेत प्रयोग गर्न सकिनेछ ।

 धेरै गर्मी हुने ठाउँमा आफूले लगाउने कपडामा समेत यो डिभाईसलाई सजिलै उपयोग गर्न सकिनेछ । यो अविष्कारले गर्मी ठाउँमा बस्नेहरुका लागि खुशीको संचार पक्कै गरेको हुनुपर्छ । किनभने अब तिनीहरुले शरीरलाई शितलता प्रदान गर्न सक्ने ‘एसी’ लगाएरै या ओढेरै पनि एक ठाउँबाट अर्को ठाउँमा जान सक्नेछन् । एसीको आनन्द लिनका लागि अब घरमै बस्नु पर्ने छैन । तर यसप्रकारको कुलिङ डिभाईसलाई वेयरेबल विद्युतिय सामग्रीमा प्रयोग गर्न केही समय चाहीँ कुर्नै पर्ने भएको छ । प्राविधिकहरु हाल मोबाइल , ल्यापटप र टयाबलेटहरुलाई तात्ने समस्याबाट उन्मुक्ति दिलाउनमा केन्द्रित छन् । 

विज्ञान तथा प्रविधिबारे समाचार सम्प्रेषण गर्ने ‘साइटेकडेली’ को अनलाइन संस्करण अनुसार अनुशन्धानकर्मीहरुले बनाएको यो डिभाईसमा ऊर्जा–क्षमता धेरै छ । यो पातलो पोलिमर फिल्म भएकाले तपाईका इलेक्ट्रोनिक उपकरणमा ताप उत्पादन गर्ने स्रोतहरु (ब्याट्री वा प्रोसेसर वा अन्य) लाई चिसो बनाउन सहयोग गर्छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक क्वीबिङ पेइले भने, ‘नयाँ अविष्कारबाट हामी असाध्य खुशी भएका छौ । मोबाइल विद्युतिय उपकरणहरुमा तात्ने समस्याबाट यो अविस्कारले मुक्ति दिलाउने निश्चित छ । ’ 

उनका अनुसार यो अत्यन्तै पातलो भएकाले मोबाइलमा मात्रै नभई अन्य व्यक्तिगत कामका लागि पनि प्रयोग गर्न सकिनेछ । ‘एउटा एक्टिभ कुलिङ प्याडले गर्मी/तातो हुने स्थान/कार्यालयमा कुनै पनि व्यक्तिले शितलताको अनुभव गर्न सक्ने छन्’ उनी भन्छन्,‘ भवनहरुमा प्रयोग गरिएका एयर कन्डिसन(एसी)हरुमा अनावश्यक विद्युतको खपतलाई पनि पछिल्लो उपकरणले कम गर्न सकिनेछ । यो उपकरणलाई जुत्तामा राखेर वा बढी गर्मी हुने स्थानमा ह्याटमा राखेर सजिलै हिड्न पनि सकिन्छ । ’ उनका अनुसार यो उपकरणले एउटा व्यक्तिगत एयर कन्डिसनरको जस्तो काम गर्नेछ । यो डिभाइसको प्रमुख विशेषता भनेको यसलाई मोबाइल वा बोकेर हिड्ने अधिकांश उपकरणहरुमा सजिलै प्रयोग गर्न सकिन्छ ।  

अधिकांश स्मार्टफोन र ट्याबलेट प्रयोगकर्ताहरुको एउटै गुनासा सुनिन्छ, ‘उपकरण चाँडै तात्छ, खासगरि भिडियो हेर्नेबेला यो समस्या बढी हुने गर्छ । ’ ती डिभाइसहरुमा आन्तरिक रुपमा मेटल रेडिएटर्सको निर्माण गरिएको हुन्छ, जसले ब्याट्री र कम्प्युटर प्रोसेसर्सबाट ताप शोषण गर्छ । तर उपकरणहरु झनै तात्ने गर्छ । यस्तो अवस्थामा मोबाइल या कम्प्युटर आफै  बन्द हुन सक्छ । यति मात्रै हैन, उपकरण धेरै ताते भएमा  त्यसमा क्षति पनि पुग्न सक्छ । त्यसका अवयवहरु तातेर काम नगर्ने अवस्था पनि आउन सक्छ । यी र यस्तै समस्याहरुबाट मुक्ति पाउनका लागि कुलिङ डिभाईस साँच्चीकै बरदान सावित हुनेछ । 

इलेक्ट्रोनिक्स इन्जिनियरहरुका लागि उपकरणहरु अत्याधिक तातो हुनु ठूलो चुनौतिको रुपमा रहदै आएको थियो । यो चुनौतिलाई सावधान गर्न अनुशन्धाकर्ता र उत्पादक कम्पनीहरु जोडतोडका साथ लागेकै थिए । त्यसैको परिणाम हो, लचिलो विद्युतीय डिभाईसको अविष्कार । यो डिभाइसले उपकरणहरु तात्ने समस्याको समाधान गर्न केही सहयोग पुग्ने निश्चित बनेको छ । यसो त कुलिङ प्रणाली धेरै पहिलेदेखि प्रयोगमा आइरहेकै छन । खासगरि एयर कन्डिसनर्स र रेफ्रिजेरेटर्स जस्ता ठूला उपकरणहरुमा यो प्रणालीको उपयोग हुदै आएको हो । यी उपकरणहरुमा जुन प्रक्रियाको प्रयोग गरिएको हुन्छ , त्यसलाई भ्यापर कम्प्रेसन भनिन्छ ।

 तर यो मोबाइल इलेक्ट्रोनिक्सका लागि निक्कै ठूलो हुन्छ । अझ स्मार्टफोन र वेयरेवल प्रविधिमा यसको प्रयोग अव्यवहारिक हुन्छ । किनभने त्यसमा केमिकल कुलेन्ट(चिसो बनाउने रसायन) को प्रयोग गरिएको हुन्छ , जुन वातावरणमैत्री हुँदैन । हाल जुनसुकै उपकरण पनि वातावरणमैत्री हुनैपर्छ । खासगरि मोबाइल र ल्यापटप तथा ट्याबलेटमा प्रयोग गरिने वस्तु या तत्वहरु सबै मानव स्वास्थ्य र पृथ्वीका लागि उपर्युक्त नहुन सक्छ । एसआरआईको पछिल्लो अनुशन्धानबारे इन्जिनियर रोय कर्नब्लुह भन्छन्, ‘त्यसैले प्रयाप्त व्यवहारिक कुलिङ प्रणालीको विकास गरिएको हो , जसमा केमिकल कूलेन्ट्सको प्रयोग गरिएको हुदैन ।’

पोर्टेवल मात्रै हैन, कार्यदक्षता पनि उच्च रहेको यो कुलिङ डिभाईसमा निश्चित पनि अन्य कुलिङ प्रणालीमा प्रयोग गरिएका डिभाइस (खासगरि थर्मोइलेक्ट्रिक कुलर्स) भन्दा केही बढी फाइदाहरु रहेका छन् । उक्त डिभाइसमा मंहगा सेरामिकलगायतका पदार्थहरुको प्रयोग गरिएका हुन्छ । तर त्यसको भ्यापर कम्प्रेसन सिस्टममा कुलिङ क्षमताहरुको अझै मापन गर्न सकिएको छैन । पेइका अनुसार पछिल्लो अविष्कारको अर्को महत्वपूर्ण उपयोगिता भनेको घाइतेहरुको उपचारमा एउटा लचिलो प्याडको रुपमा या थर्मोग्राफिक क्यामेराहरुमा थर्मल ‘नोइज’लाई घटाउनका लागि प्रयोगमा ल्याउन सकिने पनि हो । त्यस्तै वैज्ञानिकहरु तथा अग्निनियन्त्रकहरु लागि पनि यो डिभाई अति उपयोगी छ भने नाइट–भिजन डिभाईलगायत अन्य क्षेत्रमा पनि यसको प्रयोग गर्न सकिने बनाइएको छ । 

‘फिजिक्स डट ओआरजी’ अनलाईनले पनि पोर्टेवल यो कुलिङ डिभाइसलाई अत्यन्तै उपयोगी र व्यवहारिक डिभाइसका रुपमा व्याख्या गरेको छ । उसले घरमा प्रयोग गरिने परम्परावादी एसी भन्दा यो कयौं गुणा राम्रो भएको जनाएको छ । 

लेखेको छ, ‘कुलिङ डिभाइसका रुपमा प्रयोग गरिने पुराना एयर कन्डिसनर्स गह्रौ र एताउता लैजान पनि असजिलो छ । त्यसमा विद्युतको खपत पनि बढी हुन्छ । फेरी ग्रिनहाउस ग्यासहरु(कार्बन डाइअक्साई, कार्बन मोनोअक्साइड, मिथेनलगायत) को उत्पादन पनि बढी नै गर्छ । वातावरणलाई प्रदुषित पार्ने कारक तत्वमध्येको एक रहेको एसीलाई अर्को कुलिङ डिभाइसले विस्थापित गर्नु पर्ने नै टड्कारो थियो । त्यसमा अनुशन्धानकर्मीहरु सफल भएका छन् । ’

प्रकाशित : कार्तिक १०, २०७४ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?