अनलाइनमार्फत लघुउद्यमीको लगत

कान्तिपुर संवाददाता

हेटौंडा — उद्योग मन्त्रालयले देशभरका लघुउद्यमीको लगत अनलाइनमार्फत अद्यावधिक गर्ने भएको छ । दाताको सहयोगमा करिब १० वर्ष सञ्चालित लघुउद्यम विकास कार्यक्रम र ५ वर्ष सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमबाट उद्यमी बनेका देशभरका १ लाख ५० हजारभन्दा बढी उद्यमीको लगत अनलाइनमार्फत मन्त्रालयले अद्यावधिक गर्न लागेको मन्त्रालयकी सचिव यमकुमारी खतिवडाले बताइन् ।

१० वर्ष लघुउद्यम विकास कार्यक्रम पछिल्लो ५ वर्षदेखि गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका रूपमा सञ्चालित रहेको छ ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम पनि पछिल्लो व्यवस्थाअनुसार स्थानीय सरकारमा गाभिने पनि सचिव खतिवडाले जानकारी गराइन् । लघुउद्यमीको विस्तृत विवरण अद्यावधिक गर्ने तयारीस्वरूप उद्योग मन्त्रालय, उद्योग विभाग र गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको देशभर रहेका ८ वटा क्षेत्रीय कार्यालयका सूचना तथा प्रविधि शाखाका अधिकारीलाई हेटौंडामा आइतबारदेखि तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

तालिमको उद्घाटन गर्दै उद्योग सचिव खतिवडाले देशभर विस्तार भएको लघुउद्यम विकास कार्यक्रमलाई परिवर्तित राज्य व्यवस्थाअनुसार स्थापित गर्न स्थानीय तहमा हस्तान्तरण गर्नुअघि लघुउद्यमीको विस्तृत विवरण अनलाइनमार्फत अद्यावधिक गरिने बताइन् ।

लघुउद्यम विकास कार्यक्रममार्फत सरकारले पछिल्लो डेढ दशकमा ३ देखि ६ महिनाको आवधिक सीपमूलक तालिम प्रदान गरी उद्यमशीलता विकासका लागि सहयोग गर्दै आएको छ । ठूला उद्योगलाई सरकारले औद्योगिक वातावरण मात्रै बनाए पर्याप्त हुने भए पनि लघुउद्यम विकासका लागि सरकारले नै लगानी गरेर प्रवद्र्धनात्मक, क्षमता तथा सीप विकास र प्रविधिको विकासमा सहयोग गर्नुपर्ने सचिव खतिवडाको भनाइ थियो । तालिमको उद्घाटन कार्यक्रममा लघुउद्यमी विकास कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डा. रामजीप्रसाद न्यौपानेले लघुउद्यमीको विस्तृत विवरण अद्यावधिक गरेपछि आगामी दिनमा उपयुक्त नीति निर्माणका लागि सहयोग पुग्ने बताए ।

लघुउद्यमीको विस्तृत विवरण अद्यावधिक गर्न सके भावी दिनमा संघ, प्रदेश र स्थानीय तह गरी तहगत रूपमा गर्नुपर्ने कामबारे पनि योजना बनाउन सहज हुने डा. न्यौपानेको विश्वास छ ।

लघुउद्यम विकास कार्यक्रमले मकवानपुर जिल्लामा आर्थिक वर्ष २०७३/७४ को अन्त्यसम्ममा १ हजार ७७ युवालाई लघुउद्यमी बनाएको घरेलु तथा साना उद्योग कार्यालयका अधिकारीले बताए । घरेलु तथा साना उद्योग कार्यालय अहिले हेटौंडा उपमहानगरपालिका मातहत उद्योग विकास शाखाका रूपमा सञ्चालनमा रहेको छ । 

मकवानपुर जिल्लामा ५ वर्षअघिबाट गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालनमा आएको हो ।

प्रकाशित : कार्तिक २०, २०७४ ०८:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फिफा भ्रष्टाचार मुद्दाको सुनुवाइ हुँदै

एएफपी

न्युयोर्क — विश्वको सबैभन्दा लोकप्रिय खेल फुटबल जगतमा साढे दुई वर्षअगाडि नसोचेको घटनाक्रम घट्यो । अमेरिकी सरकारको आग्रहमा स्विस पुलिसले ज्युरिचको पाँचतारे होटलबाट सात जना फुटबलका पदाधिकारीलाई गिरफ्तार गर्‍यो ।

वर्षौंदेखिको मिहिनेतपश्चात् मे २७, २०१५ मा अमेरिकी अनुसन्धानकर्ताहरूले जारी गरेको रिपोर्टमा लगाएको आरोपहरू आश्चर्यजनक थिए । २५ वर्षदेखि फिफामा भएको भ्रष्टाचारको भण्डाफोर हुँदा ४२ जना पदाधिकारी र व्यापारिक अधिकारीहरू अनुसन्धानको दायरामा परे । २ सय ३६ पाना लामो रिपोर्टमा २ सय मिलियन डलर बराबरको ९२ अपराध र १५ भ्रष्टाचार योजना सामेल थिए । यो फुटबलकै सबैभन्दा ठूलो भ्रष्टाचारको भन्डाफोर थियो । तीमध्ये अझै पनि आफूलाई निर्दोष छु भन्ने तीन पदाधिकारीको सोमबार न्युयोर्कमा सुनुवाइ हुँदै छ । तीनै जना दक्षिण अमेरिकाका धनाढ्य र कुनै समय निकै शक्तिशाली फुटबल पदाधिकारी थिए ।

‘दुई पुस्ताका फुटबल पदाधिकारीले आफ्नो संस्थामा पदको दुरुपयोग गरेर खेल व्यवसायीबाट फाइदा लिई त्यसको सट्टामा फुटबल प्रतियोगिताहरूको व्यावसायिक अधिकार दिए । यो कार्य पटक–पटक, वर्षैपिच्छे र प्रतियोगितापिच्छे जारी रह्यो,’ महान्यायाधिवक्ता लोरेट्टा लिन्चले बताइन् । दसौं मिलियन डलर हङकङ, केमन आइल्यान्ड र स्विटजरल्यान्डको बैंक खातामा लुकाएर राखिएको खुलेको थियो ।

सोमबार ब्रुकलिनको संघीय अदालतमा बेन्च गठनसँगै सुनुवाइको सुरुआत हुँदै छ । यद्यपि अदालतको कारबाही अगाडि बढ्न केही समय लाग्नेछ । ३ लाख ५० हजार पाना लामो सबुत र दर्जनौं साक्षी प्रस्तुत हुने कारण निर्णय आउन महिनौं लाग्ने आकलन गरिएको छ ।

प्रतिवादीमध्ये ८५ वर्षीय जोसे मारिया मारिन ब्राजिल फुटबल संघका पूर्व–अध्यक्ष हुन् । ज्युरिचमा पक्राउ परेर धरौटीमा छुटेका उनी त्यसयता ट्रम्प टावरमा विलासी जीवन बिताइरहेका छन् ।

उनीसँगै फिफाका पूर्वउपाध्यक्ष रहेका ५९ वर्षीय जुआन एन्जल नापुट र पेरु फुटबल संघका पूर्वअध्यक्ष म्यानुयल बुर्गा पनि छन् । आरोप सावित भएमा उनीहरूलाई २० वर्षसम्म जेल सजाय हुनेछ । कुल ४२ प्रतिवादीमा २४ जनाले आरोप स्विकार्दै कम सजाय हुने आशामा कारबाहीमा सहयोग गरे । २ जनाविरुद्ध गत महिना ८ र १५ महिना जेल सजाय सुनाइयो । अन्य २२ जना अझैसम्म अदालतको निर्णयको पर्खाइमा छन् । बाँकी १५ जना आफ्नै देशमा छन् ।

गिरफ्तारको समयमा सेप ब्लाटर पुन: फिफाको अध्यक्ष हुने प्रतीक्षामा थिए । तर अनुसन्धानको रिपोर्टले उनको यात्रा रोकियो । ब्लाटर त्यसपछि ६ वर्षका लागि फुटबलबाट प्रतिबन्धित भए । उनको उत्तराधिकारी मानिएका मिसेल प्लाटिनी पनि ४ वर्षे प्रतिबन्धमा परे ।

फिफा कार्यसमितिका पूर्व–सदस्य चक ब्लेजरले लामो समयदेखि आयकर नतिरेकाले अमेरिकी सरकारले सन् २०११ मा अनुसन्धान सुरु गरेको थियो । ब्लेजरले कम सजाय पाउने आशामा एफबीआईसँग सहकार्य गरेर अनुसन्धानमा सहयोग गरे । उनको क्यान्सरका कारण गत जुलाईमा मृत्यु भयो ।

प्रकाशित : कार्तिक २०, २०७४ ०८:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT