कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रंगिए सामाजिक सञ्जाल

घनश्याम खड्का

काठमाडौं — ‘तपाईंको एक भोट देश बदल्न काफी छ,’ विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्रले ट्विट गरे । साताअघि मन्द मुस्कानयुक्त तस्बिरसहित लेखिएको यो पंक्ति २ सय ७१ ले रि–ट्विट गरिसकेका छन् भने ९ सय ९७ ले मन पराएका छन् । ४४ जनाले यसमाथि आफ्नो प्रतिक्रिया दिएका छन् ।

रंगिए सामाजिक सञ्जाल

संयोजक मिश्र र विवेकशील साझाका अन्य उम्मेदवारले यी र यस्तै खालका दर्जनौं नारा बनाएर ट्विटर, फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्चालमार्फत घण्टाघण्टामा पोस्ट गरिरहेका छन् ।

प्रचारका नाममा भित्ते लेखन र पम्प्लेट छाप्ने काम गरेर ‘दृश्य प्रदूषण’ नगर्ने औपचारिक घोषणा नै गरेको विवेकशीलले मिश्रको ‘साझा पार्टी’ सँग एकीकरणपछि पनि यो अभियान जारी छ । विवेकशील साझाले मात्रै होइन, यस पटकको निर्वाचनमा मूलधारका दल र पाका नेताहरूले पनि प्रचारप्रसारको पुरानो शैली अपनाएनन् । उनीहरूले भित्ते लेखन र पर्चा पम्प्लेट टाँस्ने/छर्ने काम करिब–करिब पूरै त्यागेका छन् । विकल्पमा सामाजिक सञ्जालको व्यापक उपयोग गरिएको देखिन्छ ।

भक्तपुर २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएर प्रचारमा खटिएका कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानाले आइतबार ट्विटर एकाउन्ट खोले । उनले पहिलो ट्विट गरे, ‘नमस्कार, म नेपाली कांग्रेसका तर्फबाट भक्तपुर २ को उम्मेदवार, ट्विटर समाजमा यहाँहरूसँग सम्पर्कमा छु ।’ दुई दिनमा २३ ट्विट गरेका दमननाथले ४७ ट्विटेलाई फलो गरेका छन् भने उनलाई २ सय १६ ले फलो गरिसकेका छन् । वर्षौंदेखि ट्विटरमा सक्रिय बीबीसी नेपाली सेवाका पूर्वप्रमुख मिश्रले ९ हजार ४ सय १४ ट्विट गरिसकेका छन् र उनका फलोअर छन् ६ लाख ८ सय ६४ । एमाले नेता माधवकुमार नेपालले एक मिनेटको भिडियो नै बनाएर युट्युबमा राखेका छन्, जहाँ उनले आफू जनताको इच्छाअनुसार नै काठमाडौं २ बाट वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएको उल्लेख गरेका छन् । उनको यो भिडियो मंगलबार साँझसम्म २० हजारले हेरेको अभिलेख छ । यता, चुनाव प्रचारप्रसारमा निक्लिएका ढुंगानाका प्रत्याशी महेश बस्नेतले मंगलबार आफ्नो तस्बिर र नारासहितको रंगीन पोस्टर फेसबुक र ट्विटरको भित्तामा टाँसेका छन् ।

मत माग्न आफ्नो निर्वाचन क्षेत्र तनहुँ १ पुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नोचुनावी अभियान दमौलीको प्रसिद्ध ‘छोले दाइको चिया पसल’ बाट चिया पिएर सुरु भएको ट्विट गर्दा धेरैले पसलेलाई आदरार्थी शब्द प्रयोग नगरेको भनी कमेन्ट गरेका थिए । दमौलीमा स्थानीयसँग हेलमेल भएपछि पौडेलले ‘छोले दाइको पसल’ भन्ने शब्द ख्यालै नगरी प्रयोग गरेकामा सन् २०१४ देखि ट्विट चलाउँदै आएका पौडेललाई सचेत भएर सन्देश प्रवाह गर्न झकझक्याएको हुनुपर्छ ।

युरोप/अमेरिकामा जस्तै नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग चुनावी प्रचारमा बाक्लै रूपले भएको देखिन्छ । फेरिएको यो प्रचारशैलीले के संकेत गर्छ भने अघिल्ला चुनावमा देखिने भद्दा खालका भित्ते प्रचार र नारा अब इतिहास बन्दै छन् ।

प्रविधिको विकास र तुल/ब्यानरलगायत प्रयोग गर्न नपाइने सरकारी नियमले उम्मेदवार सामाजिक सञ्जालतिर आकर्षित भएको मानवशास्त्री सुरेश ढकाल बताउँछन् । ‘यस खालको प्रचार सहरमा बढी छ, किनभने यसका प्रयोगकर्ता यतै बढी छन्,’ ढकालले भने ।

प्रकाशित : कार्तिक २२, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?