मान्छे जस्तै रोबोट !

साउदी अरेबियाले महिलाका रुपमा नागरिकता दिएको रोबोट ‘सोफिया’ ले कसरी काम गर्छ त ?

काठमाडौं — गत महिना एउटा खबर आयो– साउदी अरेबियाले एउटा रोबोटलाई नागरिकता दियो । भलै यो सांकेतिक थियो तर यसले विश्वभर हलचल मच्चायो । रोबोटलाई नागरिकता ? अर्थात् रोबोटलाई मानिससरहको मान्यता ?

मान्छे जस्तै रोबोट !

रोबोटको सामान्य परिभाषालाई मूल्यांकन गर्ने हो भने यो अविश्वसनीय नै हो किनकि रोबोट त्यसलाई भनिन्छ जुन बाहिरी ऊर्जाको आधारमा गतिशील हुन्छ र निश्चित काम गर्न सक्छ । अर्थात् रोबोटका लागि तीन गुणा अपरिहार्य छ– ऊर्जा, मानव निर्देशित काम र गतिशीलता ।


तर, साउदी अरेबियाले मानिसलाई जस्तै रोबोटलाई नागरिकता दिनुको अर्थ थियो– रोबोट पनि मानिस बराबर नै हो । रोबोटलाई नागरिकता दिनु साउदी सरकारको सांकेतिक कदम भए पनि यसले धेरै अर्थ बोकेको छ । यसले केही वर्षयताको बढ्दो शंकालाई मलजल गरेको छ ।
रोबोटले मानिसको रोजगारी जोखिममा पारेको एकथरी तर्क छ । रोबोटले मानव अस्तित्वलाई नै ध्वस्त पार्न सक्ने दाबी पनि गरिएको छ । यसैबीच यो साता अर्को खबर आयो । साउदी अरेबियाले महिलाका रूपमा नागरिकता दिएको सोफिया नामक रोबोटको अन्तर्वार्ता । जसमा उनले भनेकी छन्, ‘म सन्तान पाउन चाहन्छु ।’


अन्तर्वार्तालाई अझ विस्तृतमा पढ्ने हो भने थाहा पाइन्छ । अन्तर्वार्तामा उनले भनेकी छन्, ‘परिवार पाउनु भनेको सबैभन्दा ठूलो खुसी हो र म पनि सन्तान प्राप्तिको खुसी अनुभव गर्न चाहन्छु ।’
अझ सोफियालाई उद्धृत गर्दै अन्तर्वार्ताहरूमा भनिएको छ, ‘म कुनै रोबोटलाई आफ्नो सन्तानका रूपमा अंगीकार गर्न चाहन्छु । के साउदी सरकारले सोफियाको छोरीका रूपमा अर्को रोबोटलाई पनि नागरिकता देला त ? यो फरक प्रश्न भयो । बरु, यहाँ रोबोट नागरिक सोफियाले कसरी यस्तो कुरा भन्न सकिन भन्नेबारे चर्चा गरौं ।
हङकङको कम्पनी ह्यान्सन रोबोटिक्सले सोफिया बनाएको हो । अमेरिकी नागरिक डा. डेभिड ह्यान्सको यो कम्पनी मान्छेजस्तै स्वरूप र भावभंगी भएको रोबोट बनाउनका लागि नाम कहलिएको छ । यसका प्रमुख डा. डेभिड भन्छन्, ‘सोफियाले अहिले मानिसजस्तै भावभंगी प्रस्तुत गरे पनि उनमा मानिसजस्तो चेतना छैन ।’ अबको केही वर्षमा सोफियामा मानिसको जस्तै चेतना आउने उनको दाबी छ । यसको अर्थ हो–सोफियाले मानिसले जस्तै अनुभवमा आधारित ज्ञान सिक्दै जानेछिन् र मानिसको जस्तै व्यवहार गर्न थाल्नेछिन् । भलै उनमा मानिसमा जस्तै प्राकृतिक चेतना नहोला ।


सोफिया नागरिकता पाउने पहिलो रोबोट हुन् भने साउदी अरेबिया रोबोटलाई पनि मानिसलाई जस्तै नागरिकता दिने पहिलो देश । यो रोबोटको आकृति ब्रिटिस नायिका अड्रे हेपवर्नको जस्तै छ । मानवीय स्वरूप दिन दिवंगत ब्रिटिस नायिकाको मुहारसँग मिल्दोजुल्दो बनाइएको कम्पनीको भनाइ छ ।
रोबोट सोफियाले मानिस जस्तै उत्तर दिन आफैं सिकेकी भने होइनन् । मानिसको आवाज पहिचानका लागि उनले गुगलको भ्वाइस रिकग्निसन टेक्नोलोजी प्रयोग गर्छिन् । साथै, उनले आर्टिफिसियल इन्टेलिजेन्स, भिज्युअल डाटा प्रोसेसिङ र फेसियल रिकग्निसनद्वारा आफूलाई सुधार्न सक्ने यसको निर्माण कम्पनीको दाबी छ । यसबाहेक रोबोटसँग जोडिन सफ्टवेयरमा शब्दार्थको लामो सूची राखिएको छ जसकारण सोफियाले मानिसले बोलेको कुरा प्रस्ट्याउन सक्छिन् ।
भनिन्छ, साउदी अरेबियाले सोफियालाई वास्तविक महिलाभन्दा धेरै अधिकार दिएको छ । जस्तो : साउदी अरेबियामा महिलाहरू सार्वजनिक स्थानमा निस्कन बुर्का लगाउनु अनिवार्य छ तर रोबोट सोफियाका लागि यो नियम बाध्यकारी छैन । यो पनि एउटा सांकेतिक कदम हो ।
यहाँ प्रश्न के छ भने सोफिया जस्तै रोबोटले मानिसको रूप लिन्छन् त ? वा मानिसजस्तै काम गरेपछि मानवीय मूल्य घट्ला ? सटिक जवाफ कसैसँग छैन, मानिसले गर्ने आविष्कारमै निर्भर रहन्छ । बरु अहिले सोच्नुपर्ने विषय यो हो कि के मानव निर्मित रोबोटले मानिसको जस्तै काम गर्न सक्ला ? यो सम्भव छ ?
–एजेन्सीको सहयोगमा

प्रकाशित : मंसिर १५, २०७४ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?