गुगल लेन्स चाँडै

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौं — गुगलले आफ्नो असिस्टेन्टमा भएको क्यामरा टुल गुगल लेन्सलाई चाँडै प्रयोगकर्तासमक्ष ल्याउने भएको छ । उसले मेमा भएको आफ्नो डेभलपर कन्फ्रेन्समा लेन्स सार्वजनिक गरेको थियो । सुरुवाती चरणमा यो केही देशका गुगल पिक्सेल मोबाइल प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।

चाँडै नै एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध गराउनेछ ।
यो टुलले फोटोमा भएको वस्तु चिनेर त्यसैअनुसार सेभ गर्ने सुविधा प्रयोगकर्तालाई दिनेछ । जस्तो : कुनै भिजिटिङ कार्डको फोटो खिचेमा त्यसमा भएको इमेल वा वेबसाइट मात्रै कपी 
गरेर सेभ गर्ने भन्ने सुविधा यसमा हुनेछ । गुगल फोटोजमा पहिल्यै वस्तु पहिचान गर्ने र त्यसैअनुसार सर्च गर्न सक्ने सुविधा छ । 

प्रकाशित : मंसिर १५, २०७४ १६:११
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लाइनमा आकांक्षा

कान्तिपुर संवाददाता

काठमाडौं — जीवनमा जे–जसरी हुन्छ, पहिलो हुनैपर्ने होड पनि गजबकै छ । यो स्पष्ट देखिने अथवा लुकेर बसेको मानवीय स्वभाव नै हो । यो स्वभाव सबैमा छ, जस्तो नेपाली थिएटरमा भर्खरै उदाएकी नाट्यकर्मी/निर्देशक आकांक्षा कार्कीमा पनि छ ।

अमेरिकी नाटककार इजरेल होरोभिचले लेखेको र संसारका ३५ भन्दा बढी भाषामा अनूदित भएर मञ्चन भइसकेको एउटा नाटक ‘लाइन’ मार्फत आकांक्षाले पनि भर्खरै यो मानवीय स्वभाव र मनोभावलाई बाहिर देखाउन पाएकी छन् । शिल्पी थिएटरमा तीन सातासम्म चलेको ‘लाइन’ मा ‘रेडमार्क’ राखिएको थियो– १८ उमेर माथिकाले मात्रै हेर्ने भनेर । ‘तर कोही–कोही भने १८ माथि पुगेर पनि दिमागमा कच्चा र काँचा हुने रहेछन्, परिपक्वता उमेरले मात्रै ल्याउने कुरा होइन कि ?,’ काउन्सिलिङ साइकोलोजीमा बेंग्लोरबाट मास्टर्स गरेकी आकांक्षाले अनुभव सुनाइन् ।

सिंगो जीवन होडले भरिएको छ । जीवन यथार्थभन्दा बढी विसंगतिले भरिएको छ, सक्कलीभन्दा नक्कली कुरा धेरै छन् जीवनमा । बाहिर देखिने आदर्श र मूल्य आफ्नो ठाउँमा होला, तर फेक कामकुरा बढी छन् जीवनमा । एकअर्काको खुट्टा तान्ने प्रवृत्ति अथवा बेनियममा अरूलाई पछारेर अघि बढ्ने स्वभाव नेपाली समाजमा मात्रै होइन, सर्वत्र छ । हरेक मान्छेभित्रको स्वभावसँग मिल्ने भएर होला, ‘लाइन’ कथालाई रंगमञ्चमा हेर्दा खित्का छाडेर हाँसिरहेको दर्शकले आफैंमाथि व्यंग्य भइरहे जस्तो अनुभव गरिरहे जस्तो हुन्छ, एउटै समयमा ।

‘हो, मैले आफूले पनि यही अनुभव गरें,’ आकांक्षा भन्छिन्, ‘बेंग्लोर र मुम्बईमा यो नाटक (लाइन) हेरिरहेका बेला हरेक मानिसभित्र कति धेरै ढोंग छ, कति धेरै पाखण्डपना छ भन्ने बोध भएको थियो । यो विचित्रको अवस्थालाई देखाउन नेपालीमा रूपान्तरण, रि–मिक्सिङ गरेर रंगमञ्चमा आएकी हुँ ।’

आकांक्षा आफू भने नेपाल चौतारी नाटक समूह, कथा–घेरा, प्ले–ब्याक थिएटर ग्रुप सम्बद्ध हुँदै सुशीला आर्ट एकेडेमीमा नाट्य निर्देशक पनि छिन् । उनले दुई वर्षयता सुरु गरेको ‘भेजैना मोनोलग’ (योनीका कथाहरू) ले नेपाली दर्शक र विशेषत: अन्तरसंवाद मन पराउने वर्गमाझ तरंग ल्याएको थियो । यो मोनोलग इम्पावरमेन्टको कथा थियो जुन अहिले पनि जारी छ ।

‘म परम्परागत शैलीको नाट्यकर्म गर्न चाहन्न, सायद सक्दिनँ पनि होला,’ आजको पुस्तालाई सम्बोधन र प्रतिनिधित्व गर्न चाहने आकांक्षा भन्छिन्, ‘म आजको समयको प्रतिनिधि पात्र हुँ, मैले आजैलाई देखाउन सक्नुपर्छ भन्ने लाग्छ ।’ पुरानो कृति अथवा खुराकको कुरा गर्दा उनी कवि माधव घिमिरेको ‘गौरी’ काव्यलाई थिएटरमा काम गर्न सकिन्छ कि भनेर सोचाइ बनाइरहेकी छन् ।

उनी काठमाडौंमा रहेका सबैजसो थिएटर घरमा पुगेकै हुन्छिन् । कहिले नाटक हेर्न, कहिले अभिनय वा निर्देशनका काममा । लाइन हेरेर गुरु सुनील पोखरेल, अभि सुवेदीहरूले ढाढस दिएकामा उनी दंग रहिछन् । रंगमञ्चीय दुनियाँमा नामकाम त छ तर, एकमुस्ट दाम पाएको अथवा राम्रैसँग कमाएको उनलाई अनुभव छैन । पछिल्लो समयमा टेकुस्थित आफ्नै घरको छतमा रंगमञ्च बनाउन उनी व्यस्त रहिछन्, ‘कौसी’ नाममा । आफ्ना दुई छोराछोरी अमेरिका भासिएपछि यता अडिएकी एउटै छोरी देशभित्रै बस्ली कि भनेर बाबुआमाले आकांक्षालाई ‘कौसी’ दिएका रहेछन् ।

दुनियाँमा ख्याति कमाइसकेको ‘लाइन’ न्युयोर्क, ब्रोडवेमा मात्रै ३० वर्षदेखि लगातार चलिरहेको रहेछ । नेपाली ‘लाइन’ पनि राम्रैसँग ३ साता चल्यो तर, तत्काल पुनर्मञ्चनमा जाने र लैजाने स्थान भने यहाँ पाउनै मुस्किल छ । ‘लाइन’ का कलाकारहरू राजकुमार पुडासैनी, सुदाम सीके, सन्देश शाक्य, लुनिभा तुलाधर र सरोज अर्यालले सानो घेरा–सर्कलको मञ्चमा गजबै काम गरेका छन् । आकांक्षाले पनि अंग्रेजी नाटकको नेपालीकरण गर्ने क्रममा कछुवाको सिद्धान्तदेखि कुखुरी काँसम्मका ‘भावानुवाद’ का काम जोडेकी छन् ।

‘लाइन’ मा पनि सेक्सका धेरै संकेत र बिम्बहरू छन्, बोलीचालीमा अलिकति ठाडोपना पनि छ । आकांक्षाका बुझाइमा अंग्रेजी भाषा अथवा बोलीचालीमा सामान्यीकरण भइसकेका सेक्सका शब्द–प्रतीकहरू पनि नेपालीमा भने बेडरुमभित्रै सीमित छन् । ‘बेडरुमबाट बाहिर आएकै छैनन् कतिपय कुराहरू,’ उनले भनिन् । 

प्रकाशित : मंसिर १५, २०७४ १६:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT