कान्तिपुर टेलिभिजन आजदेखि एचडीमा

कान्तिपुर संवाददाता

काठमाडौं — कान्तिपुर टेलिभिजन बिहीबारदेखि उच्च दृष्टिकोणको नयाँ स्वरूपसहित हाइडेफिनेसन (एचडी) प्रविधिमार्फत प्रसारण हुने भएको छ । पछिल्लो समय विकास भएका प्रविधिलाई आत्मसात् गर्दै गहन विषयवस्तु अझ स्पष्ट दृश्यमार्फत दर्शकमाझ पुर्‍याउने लक्ष्यसाथ स्तरोन्नति गरिएको टेलिभिजनले जनाएको छ ।


‘सूचना, शिक्षा, मनोरन्जनमार्फत नागरिकलाई सुसूचित गर्ने सिलसिलालाई थप परिष्कृत र परिमार्जन गर्दै एचडी प्रविधि र नयाँ स्वरूपसहित प्रसारणमा लगिएको हो,’ कान्तिपुर टेलिभिजन नेटवर्क प्रालिद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपाली टेलिभिजन इतिहासमै नयाँ आयाम स्थापित गर्न सफल हुने विश्वास छ ।’
कान्तिपुर टेलिभिजन २०६० असार २९ देखि टेरेस्ट्रियल प्रविधिमार्फत प्रसारणमा आएको हो । काठमाडौं उपत्यकामा मात्र प्रसारण पहुँच रहेको उक्त प्रविधिलाई स्तरोन्नति गर्दै यसले छोटो समयमै स्याटेलाइटमार्फत विश्वका सयभन्दा बढी देशमा प्रसारण क्षमता विस्तार गर्न सफल भएको छ ।
‘नेपाली राजनीतिक इतिहासको कठिन कालखण्डमा स्थापित कान्तिपुर टेलिभिजनले प्रेस स्वतन्त्रता, लोकतन्त्र, शान्ति र मानव अधिकारका पक्षमा निरन्तर जिम्मेवार र उत्तरदायी पत्रकारिताको अभ्यासमा जोड दिँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘२०६३ को जनआन्दोलन, शान्ति प्रक्रिया, संविधानसभा, गणतन्त्र बहाली, नयाँ संविधान र पछिल्ला निर्वाचनजस्ता ऐतिहासिक घटनाक्रम हुन् वा भूकम्प तथा बाढी–पहिरोजस्ता प्राकृतिक
विपद्मा हामीले पलपलका घटनाबारे जनतालाई सुुुसूचित गर्ने जिम्मेवारी निर्वाह गरिरह्यौं । मुलुकको दिगो शान्ति र स्थायित्वका लागि सदाझैं सन्तुलित विषयवस्तुलाई जिम्मेवारीपूर्वक प्रसारण गर्न सदैव प्रतिबद्ध छौं ।’ स्थापनाकालदेखि लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै विज्ञप्तिमा अबका दिनमा मुलुकको राजनीतिक स्थिरता र आर्थिक विकासमा जोड दिन व्यावसायिक र उत्तरदायी पत्रकारिता थप महत्त्वपूर्ण हुने औंल्याइएको छ । टेलिभिजनले आफ्नो यात्रामा साथ दिने दर्शक तथा शुभेच्छुकको माया र हौसला निरन्तर पाइरहने अपेक्षा पनि राखेको छ ।

प्रकाशित : मंसिर २८, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्

निरन्तर जित

कुलचन्द्र न्यौपाने, वेदराज पौडेल

काठमाडौं/सुनसरी — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता विजयकुमार गच्छदार यस्ता भाग्यवानी हुन्, जसले २०४८ यता कहिल्यै चुनाव हार्नुपरेको छैन । ०४८ देखि निरन्तर चुनाव जित्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको यात्रा भने यस पटकबाट टुंगिएको छ ।

तनहुँ–१ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग पराजित भएसँगै पौडेलको विजययात्रा टुंगिएको हो । मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान विजुक्छे भने प्रतिस्पर्धामै उत्रिएनन् । 

देउवा डडेलधुरा र गच्छदार सुनसरीबाट निरन्तर चुनाव जित्नेमा पर्छन् । देउवाले वाम गठबन्धनबाट माओवादी उम्मेदवार खगराज भट्टलाई करिब ७ हजार मतान्तरमा पराजित गरेका थिए । बुधबारमात्रै निर्वाचित घोषित गच्छदारले वाम गठबन्धनबाट उम्मेदवार रहेकी एमालेकी भगवती चौधरीलाई ३ सय २१ मतले हराए । गच्छदारले ३८ हजार ९ सय ७२ र चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याएकी थिइन् ।
देउवा र गच्छदार चुनाव मात्र होइन, सबभन्दा बढी सत्ता–अभ्यास गर्नेमा पनि पर्छन् । देउवा गृहमन्त्री हुँदै चार पटक प्रधानमन्त्री बनेर ‘रेकर्ड’ राखिसकेका छन् । अझै थाकेका छैनन् । ज्योतिषले ५ पटकसम्म प्रधानमन्त्री बन्ने योग देखाएको भन्दै देउवाले अझै प्रधानमन्त्री बन्ने लक्ष्य राख्दै आएका छन् । गच्छदार उपप्रधानमन्त्रीका रूपमा ५ र मन्त्रीका रूपमा १३ पटक प्रभावशाली र ‘आकर्षक’ मन्त्रालय लिएर सत्ताको केन्द्रमा छाइरहे । राजनीतिक दलका नेताहरू उनलाई मन्त्रीमा लोकसेवा नै पास गरेको भन्दै व्यंग्यसमेत गर्छन् । 
देउवा ०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गृहमन्त्री भएका थिए । ०५२ सालको मध्यावधि निर्वाचनपछि उनलाई प्रधानमन्त्री बन्ने ढोका खुलेको हो । पहिलो पटक प्रधानमन्त्री बन्दा उनी जम्मा ४९ वर्षका थिए । समकालीन नेतामा युवावयमै प्रधानमन्त्री बन्ने सौभाग्यसमेत यिनैलाई मिलेको छ । 
गच्छदार पनि ०४८ देखि नै गिरिजाप्रसाद कोइरालाको निकट रहेर सत्तामा हावी बन्न पुगेका थिए । त्यतिबेला कोइरालाको किचेन क्याबिनेटका रूपमा एकेजीबी (अर्जुननरसिंह केसी, खुमबहादुर खडका, गोविन्दराज जोशी र विजय गच्छदार) का नामले उनी चर्चामा थिए । कोइरालाको अवसानपछि पनि उनी कहिल्यै सत्ताबाट बाहिरिनु परेन ।
इतिहासको संयोग यस्तो छ कि यी दुवैले पार्टी छाडेर आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरे । ०५८ मंसिरमा सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई नियन्त्रणमा लिन देउवाले संकटकाल लगाएका थिए । घोषणा गरेको संकटकालको अवधि बढाउने निर्णय र संसद् विघटन गरी नयाँ संसदको चुनाव गराउने विषयले पार्टीमा तीव्र विवाद बढेपछि देउवाले पार्टी विभाजित गरी आफ्नै नेतृत्वमा कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । ०६४ सालको संविधानसभा चुनावअघि पार्टी एकीकरण भएको हो ।
गच्छदारले ०६४ को संविधानसभा निर्वाचनअघि आफ्ना केही मान्छेले टिकट नपाएकामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग विद्रोह गरेर कांग्रेस छाडेका थिए । उपेन्द्र यादव नेतृत्वको संघीय फोरममा प्रवेश गरी ०६४ को संविधानसभा चुनावमा उनी निर्वाचित भए । माओवादी नेतृत्वको सरकार सात महिनामा ढलेपछि उनले उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजन गरी गच्छदारले आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे । लगत्तै उनी तत्कालीन माधव नेपाल नेतृत्वको सरकारमा मन्त्री भएका थिए । 
सत्ताका विभिन्न घुम्ती पार गर्दै उम्मेदवार मनोनयन गर्नुअघि गच्छदार कांग्रेस प्रवेश गरेका हुन् । देउवा पार्टी एकीकरणपछिको दोस्रो अर्थात् १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन् । ०४८ सालपछि सत्ता र शक्तिमा निरन्तर रहेका यी दुई नेताले चुनावी प्रतिस्पर्धामा पनि डबल ‘हयाट्रिक’ गरेका छन् । 
गच्छदारलाई ०७० र यस पटकको चुनावमा समेत एमाले उम्मेदवार चौधरीले कडा टक्कर दिइन् । यी दुवै चुनावमा चौधरीले थोरै मतान्तरमा मात्रै पराजय भोग्नुपर्‍यो । संविधानसभाको दोस्रो निर्वाचनमा गच्छदारले यिनै चौधरीसँग ३ सय ६२ मतान्तरमा जितेका थिए । त्यो बेला उनले १७ हजार ५ सय २४ र चौधरीले १७ हजार १ सय ६२ मत ल्याएकी थिइन् । अघिल्लो निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेर आफूलाई हराएको आरोप लगाउँदै आएकी चौधरीले यस पटक मतगणना स्थल छाडिनन् । 
गच्छदार मतगणना स्थलमा एक पटक मात्र पुगेका थिए । तर, चौधरीले सीसी क्यामेरा थप गर्ने, छतमा चढ्ने भर्‍याङ हटाउने, मतपेटिका राखिएको कोठामा ताला लगाउने कामसमेत आफैंले गरेकी थिइन् । २० रुपैयाँसहित भेटिएको सूर्य चिह्नमा छाप लागेको मतपत्र सांकेतिक भएको भन्दै बदर गरिएपछि चौधरी असन्तुष्ट भएकी थिइन् । उनले नौवटा अर्धकट्टीभन्दा माथिको भागमा समेत रूखको छाप भेटिएपछि त्यसलाई पनि बदर गराउनुपर्ने माग राखेकी थिइन् । यही विवादले लामो समय मतगणना प्रभावित भएको थियो । निर्वाचन आयोगले मत निरन्तर गन्नु भन्ने आदेश दिएपछि एकदिन ढिलो नतिजा आएको हो । सुनसरीमा पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा एक सिटमा मात्र सीमित भएको कांग्रेस यस पटक तीन सिटमा विजयी भएको छ । पूर्वका मोरङबाहेकका जिल्लामा शून्य रहेको कांग्रेसले सुनसरीमा ०४८ मा कायम गरेको वर्चस्व यस पटक जोगाएको छ ।
देउवाले डडेलधुराबाट निरन्तर जित हासिल गरे पनि आफ्नो प्रदेशमा प्रभाव भने जमाउन सकेनन् । प्रदेश नम्बर ७ का ३२ सिटमा कांग्रेसले जम्मा ४ सिटमात्रै जितेको छ ।

प्रकाशित : मंसिर २८, २०७४ ०६:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT