प्रविधिमा २०१७ : 'क्वान्टम कम्प्युटर'देखि 'द सेल एट्लस’

दिनेश यादव

काठमाडौँ — सन् २०१७ मा विभिन्न प्रविधिको विकास भए । ति सबै अगामी केही वर्ष शक्तिशाली नै रहने छन् । केहीले विश्वको अर्थव्यस्थालाई प्रभावित पार्ने छन् भने केहीले राजनीतिलाई । गत वर्ष औषधी विज्ञानका लागि पनि त्यति नै महत्वपूर्ण रहयो, थप औषधीहरु विकसित गर्ने मार्ग प्रशस्त भयो ।

यति मै सिमित रहेन अघिल्लो वर्षका प्रविधिको विकास। हाम्रो सभ्यतालाई प्रभावित पार्ने खालका अविष्कारहरु सार्वजनिक भए। रोबोटिक दुनियामा कृत्रिम मानवयन्त्र ‘सोफिया’ ले नागरिकता पाईसकेकी छन्, अब तिनले बच्चा जन्माउने चाहना व्यक्त गरेकी छन्। उत्ता ‘स्याम’ नाम गरेका मानवयन्त्रको अविष्कार भयो। त्यसले चुनावै लड्ने चाहना व्यक्त गरिसकेको छ। उसको चाहना पुरा गर्नका लागि वैज्ञानिकहरु अहोरात्र खटिरहेका छन्। रोबोटिक ‘स्याम’लाई समाजिक सञ्जालमार्फत् लोकव्यवहार र आचरणका लागि प्रशिक्षण दिईदैछ। मानव बृद्धिको चमत्कारको कुराहरु पनि खुबै चर्चामा रहे। यसलाई केहीले मानव सभ्यताका लागि चुनौति भएको समेत भन्न भ्याई सकेका छन्। के र कस्ता चुनौति आउन सक्नेबारे अनुसन्धान हुँदा कृत्रिम बृद्धियुक्त यन्त्रले वास्तविक मानिसको कामलाई सजिलो बनाउने भएपनि रोजगारी र अवसर नखोस्ने निष्कर्ष निकालिसकेको छ। यी त चर्चित प्रसंगहरु भए। केही यस्ता प्रविधिको अविष्कार, परीक्षण र आधारभूत संरचनाका निर्माण गर्ने अवसर समेत सन २०१७ ले प्रदान गर्यो, बल्ल त्यसको खुलासा हुन थालेको छ, अन्यको खुलासा हुन दशक लाग्न सक्छ। अझ नयाँ नयाँ प्रविधिहरु थप्ने क्रम जारी छ। तर ती सबैको जानकारी राख्नु चाही पर्छ। ‘टेक्नोलजीरिभ्यू’ अनलाईनले सन २०१७ का ‘ब्रेकथ्रु टेक्नोलजिज्’ को समिक्षा सार्वजनिक गरेको छ।

Yamaha

उक्त अनलाइनका अनुसार विश्वका प्राविधिक तथा वैज्ञानिकहरुले सन २०१७ मा पक्षाघातमाथि विजय हासिल गर्ने उपकरण अविष्कार गर्न सफल भए। मस्तिष्क प्रत्यारोपणबाट मेरुदण्डमा लागेको चोटका कारण निस्क्रियताको अवस्थामा पुगेको मानिसको अंगलाई पुर्नस्थापन गर्नमा यो प्रविधिको उपयोग गरिने छ। यो ऐतिहासिक अविष्कारले मानिसको ‘स्पाइनल कर्ड’संग सम्बन्धित विभिन्न समस्याहरुको समाधान गर्न सहयोग पुग्ने विश्वास बैज्ञानिकहरुको छ। उक्त उपकरणको सफल परीक्षण भइसकेको छ। अगामी १० देखि १५ वर्षसम्ममा यो बजारमा आउने छन्।

यसैगरी सन २०१७ को अर्को उपलब्धि भनेको चालकविहीन ट्रक पनि एक हो। विश्वका विभिन्न मुलुकमा ट्रकका चालकमा मासिक करोडौ रुपैयाँ खर्चिदै आएको छ। यो खर्चलाई कसरी कटौति गर्न सकिन्छ भन्ने उद्देश्यका साथ बैज्ञानिकहरुले यो क्षेत्रमा क्रियासिल भए। यसमा केही सफलता समेत हात पारिसकिएको छ। एमआईटी टेक रिभ्युका अनुसार अगामी केही वर्षमा अमेरिकी सडकमा चालकविहीन ट्रयालर–ट्रक छयाप्छयापी गुडेको देखिने छन्। यो प्रविधि कार्यान्वयनमा आएपछि अमेरिकामा रहेका १७ लाख ट्रक चालकको रोजीरोटी गुम्ने खतराप्रति चिन्ता व्यक्त गर्न थालिएको छ।

चीनमा गत वर्षदेखि आफ्नो अनुहारबाटै बिल भुक्तानी गर्ने प्रणाली संचालनमा ल्याइए। यसलाई पनि सन २०१७ को ‘ब्रेकथ्रुटेक’ का रुपमा चर्चा गरिएको छ। यो प्रविधिले बिल भुक्तानीका साथै विभिन्न सुविधाहरुमा पहूँच बढाउन र अपराधीको समेत पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। हालका लागि चीनमा एक अर्ब अमेरिकी डलरमा स्थापित ‘फेसप्लसप्लस’ कम्पनीको भवनमा प्रवेश गर्ने क्रममा यसको अनुभव गर्न सकिने छ। यसमा आफ्नो अनुहार एक पटक परिसकेपछि त्यसमा जडान गरिएको सफट्वेयरले ८३ वटा जति कोणहरुबाट तपाईका तस्बिर क्याच गर्न सक्छ। त्यसपछि तपाईको सबैखाले गतिविधिको रेकर्ड र निगरानी गर्नेछ। तपाई जुनसुकै कोठामा भएपनि त्यसले तपाईलाई नियालिरहने छ। चीनमा यो प्रविधिको प्रयोग गरि ‘अलिपे’मार्फत रकामान्तर समेत गर्न सकिन्छ। अलिपे एउटा मोबाइल भुक्तानी एप हो, चीनमा हाल १२ करोड मानिसले यो एपको उपयोग गर्छन्। चीनमा सवारी साधन उपलब्ध गराउने कम्पनी ‘दिदी’ को ग्राहकलाई आफूले यात्रा गरिरहेको सवारीको चालक ठीक छन् या छैनन् भन्ने जानकारी पनि दिने हुँदा यो प्रविधिको विश्वसनियता बढेको हुन सक्छ।

त्यस्तै, ‘व्यवहारिक क्वान्टम कम्प्युटर’ पनि सन २०१७ अर्को उपलब्धि हो। गुगल, इन्टेल र अन्य विभिन्न अनुसन्धान समूहले हालसम्म कल्पना नै नगरेको कम्प्युटरको विकास भयो। अगामी पाँच वर्षभित्रै उक्त कम्प्युटर व्यवसायिक रुपमा बजारमा ल्याउने तयारी अघिल्लो वर्ष नै थालियो। एउटा डच रिसर्च संस्थाले यसको अविष्कार गरेको हो। यो कम्प्युटरले डिजिटल लेखन, पदार्थ विज्ञान, औषधी अनुसन्धान र कृत्रिम बुद्धिका लागि महत्वपूर्ण बरदान सावित हुने दाबी गरिएको छ। हाल यसको विकासमा गुगल, आईबीएम, इन्टेल र माइक्रोसफ्ट जस्ता कम्पनीले संस्थागत लगानी गरेको संचार माध्यमहरुले जनाएका छन्।

चारैतिरको फोटो सजिलै लिन सक्ने गरि ‘३६० डिग्री सेल्फी’ क्यामेराको युगमा अघिल्लो वर्ष हामी प्रवेश गर्न सफल भयौं। अमेरिकाको म्यासाच्युसेट्सको एउटा जंगलबाट एक जना अनुसन्धानकर्मीले यो क्यामेराको सफल प्रयोग गरे। ३६० डिग्री कोणमा तस्बिर खिच्ने यो क्यामेराको प्रयोग गर्दा वेबसाईटका प्रयोगकर्ताले आफ्नो माउसको कर्सर या स्मार्टफोनमा औला चलाउँदा जमिनदेखि छतसम्मको सबैभागको तस्बिर आफूसंगै खिच्न सक्छन्। भर्चुअल रियलिटी (भीआर) को उपयोग गरेर यसको अनुभव लिन सकिन्छ।
अर्को चमत्कारिक अविष्कार हो, तातो सौर्य कोष (हट सोलार सेल)। तापलाई प्रकाश केन्द्रित किरणमा परिवर्तन गर्ने यो नयाँ सौर्य यन्त्र हो। यसले अत्यन्तै सस्तो र लगातार लामो समयसम्म ऊर्जा उपलब्ध गराउने क्षमता राख्छ। सोलार प्यानेलहरुले धेरै जमिन र घरका छतहरु ओगटने गरेको तथा यो क्रम नरोकिने भएपछि प्राविधिकहरुले हट सोलार सेलको अनुशन्धान गरेका हुन। म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीमा सन २०१७ मा सफल परीक्षण गरिएको यो सेल परम्परागत सौर्य ऊर्जा भन्दा दोब्बर बढी क्षमताको भएको दाबी गरिएको छ। प्राविधिकहरु अगामी १० देखि १५ वर्षभित्र यसलाई व्यावसायिक रुपमा बजारमा ल्याउने सोचका साथ काम गरिररहेका छन्।

सन् २०१७ वंशाणुगत समस्या (हेरेडिटी डिसअर्डर) भएकाहरुका लागि बरदान सावित भयो। वैज्ञानिकहरुले बिरलै देखिने वंशाणुगत रोगको उपचारका आधारभूत समस्या समाधान गर्न ‘जीन थेरापी २.०’ विकसित गर्न सफल भए। यो उपचार प्रविधिलाई क्यान्सर, मुटु रोग र अन्य सामान्य रोगहरुमा पनि प्रयोग गर्न सकिन्छ कि भन्नेबारे बैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन्।

सन् २०१७ को अर्को रोचक ब्रेकथ्रु रहयो ‘द सेल एट्लास’। हालसम्म हामी विभिन्न देशको भौगोलिक अवस्था हेर्नका लागि एटलसको प्रयोग गर्थ्यौं। खासगरी भूगोल विषयका विद्यार्थीहरुले। तर अब जीव विज्ञानका विद्यार्थीहरुका लागि एटलस तयार हुँदैछ। यो कोष एट्लासले वास्तवैमा ‘हामी केबाट बनेका छौं’ भन्ने जानकारी दिनेछ। ‘द सेल एटलस’ लाई एउटा परियोजनाकै रुपमा अघि सारिएको छ। जीव विज्ञानको यो परियोजनामा आनुवांशिक र कोष जीवशास्त्र जस्ता विज्ञानका शाखामा शक्तिशाली उपकरणको प्रयोग गरी लाखौं कोषहरुको संरचना पत्ता लगाउने लक्ष्य राखिएको छ। मानव शरीरमा रहेका ३७ हजार दुई सय अर्ब (३७ दशमलव २ ट्रिलियन) कोष छन्, ती सबैको क्याटलग तयार पार्ने लक्ष्य पनि परियोजनाको छ। यो परियोजनामा अमेरिका, इजरायल, बेलायत, स्विडेन, नेडरल्याण्ड र जापानका वैज्ञानिकहरु लागेका छन्। मानव शरीरका हरेक प्रकारका कोषहरुको त्रिआयामिक तस्बिर तथा कोडहरु वैज्ञानिकहरुले एटलसमा समावेश गर्नेछन्।

प्रकाशित : पुस २४, २०७४ १७:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मनाङमा अधिक चिसो, खोलाको पानी जम्यो

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा अत्याधिक चिसोका कारण ठाडो खोलाका पानी जम्न थालेको छ । बगेको पानी चट्टान जस्तै साह्रो बनेको छ । मनाङको चामेमाथिका ठाडोखालामा बग्दै गरेको पानी जमेको स्थानीयले बताए । मर्स्याङ्दी नदीको छेउछाउ पनि जमेको स्थानीयले बताएका छन् ।

चामेकी खरिमाया गुरुङका अनुसार पिउनको लागि हिउँ पगाल्नु परेको छ। पाइपभित्र पानी जमेकाले धारा बन्द छन्। मानिसहरु बाहिर निस्कन सकेका छैनन्। ‘सिंगो बजार सुनसान छ। ढोकाहरु बन्द छन्। २ वटा पसलमात्रै खुले,’ उनले सोमबार कान्तिपुरसित भने। ‘चिसो बढेपछि कोही बेंसी झरे। बेंसी नझरेकाहरु झ्यालढोका थुनेर घरमै बसेका छन्,’ उनले भने।

चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले चिसो अत्याधिक बढेपनि आफू कार्यालयमै रहेको बताए। ‘जाडो त हरेक बर्ष हुन्छ नै। यसपटक अलि बढीजस्तो छ,’ उनले भने। चिसो बढेपछि बाटोमा हिँडडुल पनि कम हुन थालेको छ। स्थानीयका अनुसार जाडो छल्न स्थानीयसँगै जनप्रतिनिधि समेत राजधानी गएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार रातीको समय मनाङ गाउँमा तापक्रम माइनस १६ डिग्री सेल्सियससम्म झरेको छ। थोराङफेदी, खाङसारतिर माइनस २० सम्म झरेको उनले बताए। ‘साँझबिहान समेत माइनस १०–१२ डिग्री सेल्सियसको हाराहारीमा छ। बाहिर निस्कने न त्यस्तै हो, काम गर्न पनि सकेका छैनौं’ उनले भने। उनले चिसोका कारण माथिल्लो मनाङका अधिकांश काठमाडौं झरिसकेको र भएका पनि बाहिर निस्कन नसकेको बताए।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सोमबार बिहान ७ बजे माइनस १२ डिग्री सेन्टीग्रेटको तापक्रम रेकर्ड गरिएको बताए। ‘यहाँ दिनभरी सिरक ओडेर सुत्नुबाहेक कुनै उपाय छैन। काम गर्न सकिएको छैन,’ उनले भने, ‘धारा, खोला सबै जमिसक्यो। घाम लागेको बेला अलिअलि तापक्रम बढ्छ। नत्र घटेकै छैन।’ चिसोका कारण सेवाग्राही पनि कम आएको उनले बताए। सोमबार २ वटा नागरिकता प्रदान गरेको र एउटा पासपोर्टका लागि सिफारिस गरेको उनले बताए।

प्रकाशित : पुस २४, २०७४ १६:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT