वर्षमा साढे सात सय वेबसाइट हयाक

बैंकका वेबसाइट समेत असुरक्षित
कान्तिपुर संवाददाता

काठमाडौँ — चार महिनाअघि इन्टरनेटमा एनआईसी एसिया बैंकको सुरक्षा कमजोरीको फाइदा उठाउँदै हयाकरले ४१ करोड रुपैयाँ स्विफ्ट हयाकमार्फत भुक्तानीका लागि अन्य देशमा पठाएका थिए । उक्त रकममध्ये १० करोड रुपैयाँ झिकिएपछि ३१ करोड रुपैयाँ फिर्ता आएको थियो ।

स्विफ्ट हयाकको कारणबारे औपचारिक रिपोर्ट सार्वजनिक नभए पनि बैंक कर्मचारीले प्रयोग गरेको कम्युटरबाट हयाकरले स्विफ्ट एकाउन्टका लागि प्रयोग हुने उक्त कम्युटरमा पहुँच पुर्‍याएको हुन सक्ने अनुमान छ ।

उक्त घटनापछि अन्य बैंकहरूलाई पनि साइबर सुरक्षामा संवेदनशील रहन राष्ट्र बैंकले निर्देशन दिएको थियो तर हालसालै सार्वजनिक रिपोर्टले अन्य बैंकहरूको वेबसाइटसमेत असुरक्षित रहेको खुलासा गरेको छ ।

साइबर सुरक्षासम्बन्धी काम गर्ने कम्पनी थ्रेट निक्सले गरेको एक अध्ययनअनुसार सन् २०१७ मा २७ बैंकका वेबसाइटमध्ये १३ वटा वेबसाइट ‘क्लिकज्याकिङ’ को जोखिममा रहेको उल्लेख छ ।

प्रयोगकर्तालाई झुक्याएर उनीहरूले चाहेको ठाउँमा क्लिक गर्न लगाएर डाटा संकलन गर्नुलाई क्लिकज्याकिङ भनिन्छ । अन्य ६ वेबसाइट पनि सुरक्षाका दृष्टिले जोखिममा रहेको रिपोर्टमा जनाइएको छ ।

एक वर्षको अवधिमा साढे सात सय बढी नेपाली वेबसाइट हयाक भएको उक्त रिपोर्टले देखाएको छ । हयाक भएका ७ सय ५६ मध्ये ३ सय ३२ वेबसाइट व्यावसायिक, १ सय ६० सरकारी, १ सय ३३ शैक्षिक संस्थाका वेबसाइट, १ सय २३ संस्थागत वेबसाइट रहेको रिपोर्टमा जनाइएको छ । अनुसन्धानको क्रममा डट एनपी डोमेन रहेका ११ हजार बढी डोमेन हेरिएको अनुसन्धानमा संलग्न सुयश नेपालले जानकारी दिए । ती वेबसाइटमध्ये ९ वटामा क्रिप्टोमाइनिङ कोड भेटिएको थियो ।

नेपालका इन्टरनेट सेवा प्रदायकको पूर्वाधारमा समेत हर्टब्लिड नाम दिइएको सुरक्षा कमजोरी रहेको रिपोर्टमा खुलाइएको छ । यसले हयाकरलाई डाटामा पहुँच पुर्‍याउन सजिलो बनाउँछ ।

एसक्यूएल इन्जेक्सन, सेयर गरिएको होस्डिङ, पुराना फ्रेमवर्क, अपडेट नभएका प्लगिनजस्ता कारणले धेरेजसो वेबसाइटहरू प्रभावित भएको अनुसन्धानमा संलग्न नेपालले बताएका छन् । सुरक्षासम्बन्धी परीक्षण नगर्ने वेबसाइटहरू पनि हयाकरको निसानामा पर्ने सम्भावना हुन्छ ।

साइबर सुरक्षाकै विषयमा अनुसन्धान गर्ने विजय लिम्बु पनि वेबसाइटलाई सुरक्षित पार्ने उपाय नअपनाउने प्रवृत्ति रहेको बताउँछन् । असुरक्षित डोमेन होस्ट र प्रयोगकर्ताले लगइनमा डिफल्ट राख्ने प्रवृत्तिले समेत जोखिम बढाएको उनी बताउँछन् ।

५० भन्दा बढी नेपाली वेबसाइटले फिसिङ पेज होस्ट गरिरहेको उनी बताउँछन् । उनले यस्ता पेजहरूको सूची तयार पारेर सार्वजनिकसमेत गरेका छन् । उनका अनुसार दुई दर्जन नेपाली डिभाइस जुम्बी (इन्टरनेटसँग जोडिएको डिभाइसमा भाइरसमार्फत अरू कसैले नियन्त्रण गर्ने) को सिकार भएका छन् ।

प्रकाशित : फाल्गुन २२, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?