कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रयोगकर्ताको तथ्यांक गोप्य रहला ?

सामाजिक सञ्जालमा हाम्रा विवरण हामीलाई थाहै नभई प्रयोग भएका पनि हुन सक्छन्
एजेन्सी

लन्डन — सामाजिक सञ्जाल मार्फत प्रयोगकर्ताहरू एकआपसमा जोडिने यो संसारमा उनीहरूले अनलाइन मार्फत बाँड्ने सामग्री किनबेचको वस्तु बनेको छ ।

प्रयोगकर्ताको तथ्यांक गोप्य रहला ?

प्रयोगकर्ताबाट संकलन गरिएको तथ्यांकको आधारमा उनीहरूलाई वस्तु तथा सेवाको बिक्री गर्ने प्रवृत्ति पछिल्लो समय बढेको हो । यसले तथ्यांकमा आधारित आर्थिक वृद्धिको सम्भावनालाई पनि बढाएको छ । तर, पछिल्लो समय बेलायती कम्पनी क्याम्ब्रिज एनालिटिकाले करिब ९ करोड फेसबुक प्रयोगकर्ताको जानकारी संकलन गरी दुरुपयोग गरेको घटनालाई वास्ता नगर्दा यसबारेको छलफल अपूर्ण हुन्छ । यो घटनाले के पुष्टि गर्छ भने हाम्रा विवरणहरू हामीलाई थाहै नभई प्रयोग भएका पनि हुन सक्छन् ।

यही मे महिनादेखि अनलाइन प्रयोगकर्ताको जानकारी प्रविधि कम्पनीहरूले संकलन गर्नमा कडाइ गरी नयाँ गोपनीयताको कानुन युरोपभर लागू भएको छ, जसले प्रयोगकर्तालाई आफूले बाँड्ने जानकारीमा नियन्त्रण दिन्छ भने यो नियम उल्लंघन गर्ने कम्पनीलाई कडा जरिवानाको व्यवस्था गरेको छ । हामीले के सम्झनुपर्ने हुन्छ भने हामीबाट संकलिन जानकारी सजिलै कपी गर्न, बाँड्न र धेरै स्रोतमा संकलन गर्न मिल्छ ।

हामीले मोबाइल डिभाइसदेखि वेब ब्राउजर वा कार्ड वा हरेक डिजिटल साधन प्रयोग गर्छौं, हामीले केही जानकारी बाँडिरहेका हुन्छौं, जुन विज्ञापनकर्ता, बिमा कम्पनी, प्रहरीजस्ता निकायलाई काम लाग्ने हुन्छन् । यस्ता जानकारीको उपलब्धता र यसलाई हासिल गर्नेहरूको बुद्धिमतामा यसको उपयोग निर्भर रहन्छ ।

धेरै प्रयोगकर्ताबाट संकलिन यस्ता जानकारीहरू किनबेच गर्न मिल्ने भए पनि यी परम्परागत वस्तुजस्ता भने होइनन् । जस्तो : हामी घर किनबेच गर्छौं तर अनलाइनबाट संकलिन जानकारीहरूको किनबेच घर किनबेचजस्तो होइन । कसैले हाम्रो घर किन्न आउँछ भने घरको डिजाइन र प्रयोग भएका वस्तुहरूबाट उसले तपाईंको व्यक्तित्व थाहा पाउनेछ । योबाहेक थप जानकारी पाउन उसलाई गाह्रो हुन्छ किनकि तपाईंको डायरी र फोटो एल्बम हेर्ने मौका उसले नपाउन सक्छ । तर, अनलाइनबाट संकलिन जानकारीको किचबेचमा भने यो अवस्था फरक हुन्छ । जब तपाईंले कुनै अनलाइन सेवाका लागि आफ्नो विवरण दर्ता गर्नुहुन्छ त्यहाँबाट तपाईंको जानकारी संकलनको सीमाहीन प्रक्रिया सुरु हुन्छ ।

यस्ता सेवामा जाने बेलामा प्रयोगकर्ताले सहमति जनाउने एग्रिमेन्टबाट हामीले कम्पनीहरूलाई आफ्नो जानकारी संकलनको अनुमति दिइसकेका हुन्छौं, हामीमध्ये धेरैले एग्रिमेन्टमा लेखिएको विवरण र सर्तहरू नपढी अनुमति दिन्छौं ।

यो भनेको हामीले खाली गरेको घर नबेचेर आफ्ना सबै व्यक्तिगत सामग्रीसहितको घर बेच्नुजस्तै हो । घर किन्नेले आएर तपाईं कोसँग कसरी बोल्नुहुन्छ, केके कुरा गर्नुहुन्छ, तपाईं कोसँग बस्नुहुन्छ भन्ने विवरण संकलन गरेजस्तै हो ।

धेरै मानिसहरूलाई अनलाइन मार्फत संकलन गरिएका आफूसम्बन्धी जानकारी कसरी बाँडिन्छन् र बिक्री हुन्छन् भन्ने विषयमा जानकारी नै हुँदैन । हामीबाट संकलित यस्ता जानकारीहरू अन्य स्रोतबाट संकलन गरिएका जानकारीसँग मिलाएर हाम्राबारे गहिरो जानकारी लिन विशेष प्रकारले अनुसन्धान गरिन्छ । यसबाट हामीलाई मन पर्ने वस्तु, हाम्रो व्यवहार जानकारी लिन सकिन्छ ।

यस्ता जानकारीहरू हामीलाई थाहै नहुने गरी हामीलाई प्रभावित पार्न प्रयोग गरिन्छ । हामीले अनलाइनमा देख्ने विज्ञापन, समाचार र हामीबाट संकलित यस्तै जानकारीका नतिजा हुन् । यस्ता जानकारीहरू एक स्रोतबाट अर्को स्रोतमा बाँड्न र संकलन गर्न सकिन्छ । हामीबाट संकलित जानकारीबाट हाम्रो गोपनीयतामा असर पर्छ भन्ने कुरा त प्रस्ट छ । यसैलाई मनन गर्दै यसलाई रोक्न कानुनहरू बन्ने क्रममा छन् । युरोपमा मे २५ देखि जेनेरल डाटा प्रोजेक्सन रेगुलेसन (जीडीपीआर) लागू हुनेछ ।

यो कानुनको उद्देश्य अनलाइन प्रयोगकर्ताहरूलाई उनीहरूको के के जानकारी संकलन गरिन्छ र के प्रयोजनका लागि प्रयोग हुन्छ भन्ने जानकारी दिनु हो । व्यक्तिगत जानकारीहरू बुद्धिमतापूर्वक र पूर्वजानकारीसहित मात्रै संकलन गर्नुपर्छ भन्ने यो कानुनको मान्यता हो । यो कानुनको पालना गर्न कम्पनीहरूले आफ्ना प्रयोगकर्ताको तथ्यांक किन र कुन प्रयोजनका लागि गर्ने भन्ने निक्र्योल गर्न जरुरी छ ।

यही कानुनका कारण सोसल मिडियामा प्रयोगकर्ताले महत्त्वपूर्ण अपडेट भन्दै नयाँ सूचना देख्न सक्छौं । फेसबुक, टीटरजस्ता सोसल मिडियाले आफ्ना प्रयोगकर्तालाई उनीहरूबाट संकलित जानकारीको सूचना दिन यस्तो अपडेट पठाउन थालिसके । यस्ता कम्पनीहरूले प्रयोगकर्ताको गोपनीयताको स्वत: सुरक्षा गर्नुपर्ने बाध्यकारी व्यवस्था पनि ईयूको कानुनमा छ । यदि यस्ता जानकारीहरू चोरी भएमा वा दुरुपयोग भएमा प्रयोगकर्तालाई यसको जानकारी अनिवार्य गराउनुपर्ने नियम छ । ईयूको कानुनमा सोसल मिडिया कम्पनीहरूले आफ्ना सर्तहरूसमेत कानुनी भाषामा नभई सामान्य भाषामा लेख्नुपर्ने बाध्यकारी नियम छ । कम्पनीले यो नियमलाई मान्नैपर्ने बाध्यता पनि छ किनकि यो प्रावधान लागू नभई कम्पनीहरूले आफ्नो विश्वव्यापी कारोबारको ४ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

ईयूको कानुन भए पनि ईयू बाहिरबाट सञ्चालित कम्पनीहरूले समेत यसलाई मान्नुपर्ने हुन्छ, यदि यो ईयूका जनताले प्रयोग गर्छन् भने । ईयूले बनाएको यही नियमको आधारमा बेलायतले पनि यस्तै कानुन पारित गर्दै छ । यसबाहेक, ईयूले बनाएको नयाँ कानुनको प्रभाव ईयूको क्षेत्रभित्र मात्रै नभई विश्वभर प्रभाव पर्नेछ । किनकि फेसबुकले विश्वभरका प्रयोगकर्तालाई आफ्नो गोपनीयतासम्बन्धी नियम प्रस्ट पार्ने बताइसकेको छ । यस्तो कानुन लागू गर्न र प्रयोगकर्तालाई उनीहरूको गोपनीयताको अधिकारबारे जानकारी गराउन क्याम्ब्रिज एनालिटिकाको डाटा विवादको ठूलो योगदान छ ।

क्याम्ब्रिज एनालिटिका बन्द हुने
फेसबुकबाट प्रयोगकर्ताको जानकारी संकलन गरी दुरुपयोग गरेको आरोप खेपेको बेलायती कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । फेसबुकका अनुसार करिब ८ करोड प्रयोगकर्ताको जानकारी एक एपको माध्यमबाट संकलन गरी राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको थियो ।

फेसबुकले आफ्ना प्रयोगकर्ताको जानकारी संकलन गरी दुरुपयोग गरेको भन्दै क्याम्ब्रिज एनालिटिकामाथि अनुसन्धान जारी रहने बताएको छ । फेसबुकका प्रवक्ताले के कारणले आफ्ना प्रयोगकर्ताको जानकारी दुरुपयोग भयो भन्नेबारे अनुसन्धान जारी रहने र सम्बन्धित निकायलाई सहयोग पनि गर्ने बताए ।

क्याम्ब्रिज एनालिटिकालाई फेसबुक प्रयोगकर्ताको जानकारी दुरुपयोग गरी सन् २०१६ मा भएको अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन भूमिका खेलेको र युरोपबाट छुट्टिने कि नछुट्टिने भन्ने विषयमा बेलायतमा भएको जनमतसंग्रहको नतिजा प्रभाव पार्न प्रयोग गरेको आरोप लागेको छ । गत महिना एक टेलिभिजन च्यानलले क्याम्ब्रिज एनालिटिकाका प्रमुख कार्यकारी अधिकृत एलेक्जेन्डर निक्सले आफ्नो कम्पनीले संसारभरको निर्वाचनको नतिजा फरक पार्न सक्ने भन्दै बोलेको फुटेज सार्वजनिक गरेको थियो ।

बेलायती यो कम्पनीले अमेरिकाबाहेक इटाली, केन्या, नाइजेरियाजस्ता देशका राजनीतिक दललाई चुनावी प्रचारमा सघाएको थियो । क्याम्ब्रिज एनालिटिकाले कम्पनी बन्द हुनुको कारणबारे विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा उसले आफूले नैतिक रूपमा जानकारीहरूको प्रयोग गरेको कम्पनीलाई आरोप लगाइएको बताएको छ । तथ्यहित मिडिया कभरेजका कारण आफ्ना कम्पनीका ग्राहकहरू ध्यान मोडिएको उसले जनाएको छ ।

‘केही महिनायता क्याम्ब्रिज एनालिटिका विवादको विषय बनेको छ । हामीले यसलाई प्रस्ट पार्न खोज्दा पनि कम्पनीले गरेको कानुनी रूपमा जायज कामलाई पनि बंग्याइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नतिजास्वरूप यो अवस्थामा कम्पनी चलाउन नसकिने निक्र्योल हामीले गरेका छौं ।’

क्याम्ब्रिज एनालिटिका बन्द भए पनि योसँग भएको जानकारी अर्को कम्पनीका रूपमा प्रयोग हुन सक्नेमा विज्ञहरूले चिन्ता जनाएका छन् । क्याम्ब्रिज एनालिटिकाले भने आफूसँग भएको सबै जानकारीहरू डिजिट गरिएको दाबी गर्दै आएको छ । बेलायत ईयूबाट छुट्टिने विषयमा कम्पनीको भूमिकालाई लिएर बेलायती संसदले समेत अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : वैशाख २३, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?