२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दृष्टिविहीनको उपचारका लागि वैज्ञानिकहरुले गरे ‘बायोनिक आई’ को प्रिन्ट

दिनेश यादव

काठमाडौँ — वैज्ञानिकहरुले पहिलो पटक कृत्रिम आँखाको नमुनाको थ्रीडी प्रिन्ट निकाल्न सफल भएका छन् । ‘बायोनिक आई’ भनिएको यो कृत्रिम आँखामा लाइट रिसेप्टर (प्रकाश वा रसायनिक संकेतहरु प्राप्त गर्ने) समेत जडान गरिएको छ ।

दृष्टिविहीनको उपचारका लागि वैज्ञानिकहरुले गरे ‘बायोनिक आई’ को प्रिन्ट

शोधकर्ताहरुका अनुसार ‘बायोनिक आई’को प्रयोगबाट दृष्टिविहिन भएकाहरुले भविष्यमा देख्न सक्ने छन् । घुमाउरो सतहमाथि इलेक्ट्रोनिक्स प्रिन्ट निकाल्न कठिन मानिएकै अवस्थामा उनीहरुले यसमा पाएको सफलतालाई कोशेढुंगा भनेका छन् ।


अमेरिकास्थित युनिभर्सिटी अफ मिनिसोटाका वैज्ञानिकहरुले काँचको अर्धगोलाकार टुक्रामाथि कृत्रिम आँखाको नमुनाको थ्रीडी प्रिन्ट तयार गरेका हुन् । अर्धगोलाकार सतहमा प्रकाश ग्रहण सक्ने उपकरण मुद्रित गरिएको यो पहिलो हो । यसले कुनै पनि दृष्टिविहिनलाई हेर्नका लागि सहयोग पुग्छ ।


‘बायोनिक आई’ बारेको अनुशन्धान रिपोर्ट ‘एडभान्स मेटेरियल्स’ मा हालै प्रकाशित छ । रिपोर्टका लेखकले थ्रीडी मुद्रित उपकरणहरुका लागि पेटेन्टको पनि दाबी गरेका छन् । मिनिसोटा विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिंगका सह–प्राध्यापक बेन्जामिन मेहुघ र अनुशन्धान रिपोर्टका सह–लेखक माइकल म्याकअल्पाइनले भने, ‘बायोनिक आँखालाई सामान्यतया विज्ञान कथाका रुपमा लिने गरिन्थ्यो । तर अब हामी एउटा बहुमुल्य थ्रीडी प्रिन्टरको उपयोग गर्दै त्यसको नजिक पुगिसकेका छौं । दृष्टिविहिनहरुलाई अब दृष्टि प्राप्त हुन्छ ।’


अनुशन्धानकर्ताले एउटा अर्धगोलाकार ग्लास डुमलाई घुमारो सतहमा मुद्रित गर्न नसकिने चुनौतिलाई चिरेका छन् । आफ्नो कस्टम–निर्मित थ्रीडी प्रिन्टरको उपयोग गर्दै उनीहरुले चाँदीका कणको मसिबाट प्रिन्ट निकालेका थिए । शोधकर्ताहरुले फोटो डाइओड्स प्रिन्ट गर्नका लागि अर्धचालक पोलिमर सामग्रीहरुको उपयोग गरेका थिए । प्रकाश परावर्तित गर्ने यो सामग्री बनाउन लगभग एक घन्टामा लाग्छ ।


म्याअल्पाइनले भने, ‘यो प्रक्रियाको सबैभन्दा आश्चर्यजनक हिस्सा भनेको पुर्ण रुपमा थ्रीडी मुद्रित अर्धचालकबाट प्राप्त विद्युतमा प्रकासलाई परावर्तित गर्नमा २५ प्रतिशत दक्षता हासिल गर्नु हो ।’ उनले आफूहरुसंग उपलब्ध सक्रिय इलेक्ट्रोनिक्सको प्रयोग गरि नियमित रुपमा प्रिन्ट गर्दै आएकै बताए । ‘अब घुमाउरो सतहमाथि प्रिन्ट निकाल्न सफल भएका छौं,’ उनले भने ।


म्याकअल्पाइन नेतृत्वको टोली थ्रीडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स र जीवविज्ञानलाई एकिकृत गर्ने एउटा मञ्चका लागि काम गर्ने रुपमा चिनिन्छन् । यो टोलीलाई केही वर्षअघि ‘बायोनिक कान’ प्रिन्ट गर्नका लागि ध्यान केन्द्रित भएको । त्यसयता गरिएका प्रयासहरुका कारण सर्जिकल प्रयाक्टिस, इलेक्ट्रोनिक फेब्रिक्सका लागि थ्रीडी प्रिन्ट गर्न थालेको थियो । भित्री हाड भाँचिएको अवस्थामा थ्रीडी प्रिन्टको उपयोग गरि त्यसलाई दुरुस्त बनाउन सकिने उपकरणको पनि अविष्कार गरिसकेका छन् ।


म्याअल्पाइनलाई बायोनिक आंखा बनाउनुको कारण व्यक्तिगत छ । ‘मेरी आमाको एउटा आखा अन्धो छ । जब म आफ्नो कामबारे आमासंग कुरा गर्छु, उहाँले संधै भन्नु्ुहुन्छ, तिमी मेरो लागि बायोनिक आखा कहिलेसम्म प्रिन्ट गर्छौं ।’ आमाको यही सोचका कारण यो दिशातिर आफू अग्रसर भएको उनी बताउँछन । अगामी चरणमा बढी प्रकास ग्रहण गर्ने प्रोटोटाइप बनाउनमा अग्रसर भएको बताए । ‘हामी सफल पनि भएका छौं,’ उनले भने ।


म्याकअल्पाइनले हाल एउटा नरम गोलाकार सामग्रीमाथि प्रिन्ट निकाल्न अत्यन्तै सजिलो उपायहरुको खोजीमा जुटेका छन् , जसलाई वास्तविक आखाँमा लगाउन सकिनेछ । अगामी ५ वर्षमा १३ पिक्सेल क्षमताको बायोनिक आइबल दृष्टिविहिनको आँखामा जडान गर्ने योजना रहेको अनुशन्धान टोलीले जनाएको छ ।

(एजेन्सीको सहयोगमा)


प्रकाशित : भाद्र २५, २०७५ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?