कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

एप्पल र अमेजन : कसको भविष्य उज्ज्वल ?

एजेन्सी

काठमाडौँ — स्याउ र सुन्तला भनेजस्तै एप्पल र अमेजन फरक खालका कम्पनी हुन् । प्रयोगकर्ताले रुचाउने डिभाइस उत्पादन गर्ने एप्पल एक प्रविधि कम्पनी हो । उपभोक्ताहरू अन्य सस्ता ब्रान्ड त्यागेर एप्पलका उत्पादन किन्न खोज्छन् ।

एप्पल र अमेजन : कसको भविष्य उज्ज्वल ?

अर्कोतर्फ अमेजनको बजार त्यहाँ छ जहाँ प्रयोगकर्ताहरू सस्ता सामान खोज्न, सजिलै र छिटो प्राप्त गर्नका लागि जान्छन् ।

सन् २००७ मा पहिलो पटक आइफोन बिक्री सुरु भएपछि एप्पलको सेयर मूल्य ११ सय प्रतिशतले बढेको छ र पछिल्लो वर्षमा मात्रै यो तीन गुणाले बढेको छ ।

अमेजनको सेयर मूल्य भने तीव्र र स्थिर रूपमा बढिरहेको छ । यसको बजार मूल्य १६ दिनमा ६ सय अर्ब डलरबाट बढेर ७ सय अर्ब डलर पुगेको थियो । यसविपरीत एप्पललाई यही सफलता पाउन ६ सय २२ दिन लागेको थियो ।

सेप्टेम्बरको पहिलो साता अमेरिकी कम्पनी अमेजनको बजार मूल्य १० खर्ब डलरमाथि पुग्यो । त्यसको करिब एक महिनाअघि नै एप्पलले पहिलो पब्लिक कम्पनीको रूपमा यो उचाइ छोएको थियो । १० खर्ब डलरभन्दा बढी मूल्यका यी दुवै कम्पनीले पछिल्ला केही वर्षयता ठूलो सफलता प्राप्त गरेका छन् । उनीहरूको यो सफलताको शृंखला जारी रहला ? भविष्यमा कुन कम्पनी झन् सफल बन्ला ?

एप्पल र अमेजनले दुई भिन्न उत्पादन र सेवा आफ्ना ग्राहकलाई प्रदान गर्छन् । यी दुवै कम्पनी बजारमा सबैभन्दा राम्रो सेयर सफलता प्राप्त गरिरहेका ५ प्रविधि कम्पनीमध्येका हुन् जसलाई छोटकरीमा–एफएएएनजी (फाङ) भनिन्छ । यसअन्तर्गत फेसबुक, एप्पल, अमेजन, नेटफ्लिक्स र गुगल पर्छन् ।

डिभाइसको बिक्री
एप्पलको आम्दानीको अधिकांश हिस्सा मुख्यत: आइफोन, आइप्याड, म्याक र आइपोडको बिक्रीबाट प्राप्त हुन्छ । विश्व मोबाइल बजारमा एप्पलको १४ प्रतिशत मात्रै सेयर छ । तैपनि धेरै मोबाइल बिक्री गर्ने सामसङको आम्दानीलाई यसले धेरैले उछिन्छ । जस्तो कि २०१८ को पहिलो त्रैमासिकमा एप्पलको आम्दानी ६१ अर्ब डलर थियो भने सामसङको आम्दानी १९ अर्ब डलर मात्रै थियो । आम्दानीको हिसाबले तेस्रो चिनियाँ कम्पनी हुवावेको आम्दानीको ग्राफ सामसङको भन्दा आधा अर्थात् ८ अर्ब डलर मात्रै छ ।

आफ्नो आईओएस डिभाइसमा निर्भर एप्पलको आम्दानीको स्रोत राम्रो भए पनि आगामी दिनमा हुने प्रयोगकर्ताको सीमितताले उसलाई ठूलो चुनौती आइपर्ने विश्लेषकहरू बताउँछन् ।

‘एप्पलको आम्दानी त घट्नेछैन तर भविष्यमा उसका आम्दानीका नयाँ अवसर भने सीमित बन्दै जान सक्छन्,’ जुनिपर रिसर्चका विन्डसोर होल्डेन भन्छन् ।

डिभाइस बिक्रीमा अमेजनको प्रगति सोचेअनुरूप छैन । अमेजनको किन्डल इ रिडर, किन्डर फायर टयाब्लेट र इको भ्वाइस कन्ट्रोलर स्पिकरको बिक्री सोचेअनुरूप बढेको छैन ।

विश्लेषकहरू प्रतिस्पर्धामा कायम रहनका लागि आफ्नो डिभाइस कम नाफामा बिक्री गर्ने र त्यसबापतको सेवा र त्यसमा प्रयोग हुने सामग्रीबाट नाफा लिने मोडलमा जानुपर्ने विश्लेषकहरूको सुझाव छ ।

जुनिपर रिसर्चका अनुसार सन् २०१७ मा विश्वभर १ अर्ब ५० करोड स्मार्टफोन बजारमा गएको थियो । पश्चिमी देशका अधिकांश व्यक्तिको हातमा स्मार्टफोन पुगिसकेकाले आगामी ५ वर्ष स्मार्टफोनको बिक्री कम हुने आकलन गरिएको छ ।

एप्पलले पनि हरेक देशमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनीबाट ठूलो चुनौती भोगिरहेको छ जसले कम मूल्यमा उच्च सुविधा भएका स्मार्टफोनहरू निर्माण गरिरहेका छन् ।

मूल्य र फिचरमा भइरहेको यो प्रतिस्पर्धाका कारण एप्पललाई आम्दानीको स्रोत डिभाइस बिक्रीमा केन्द्रित राख्नु जोखिमपूर्ण हुन सक्ने विश्लेषकहरू बताउँछन् ।


दीर्घकालीन व्यापार

अमेजन र एप्पल दुवै अहिलेका सफल कम्पनी हुन् । यी दुवै कम्पनीको संयुक्त बजार मूल्य अमेरिकामा सफल रहेका २५ ठूला कम्पनीको मूल्यभन्दा बढी हुन्छ ।

दुवै कम्पनी अहिलेका हिसाबले सफल भए पनि दीर्घकालीन रूपमा कुन कम्पनीको वृद्धि हुनेछ ?

अनुसन्धान कम्पनी ग्लोबल डाटा रिटेलकी नेल सउन्डर्सको विचारमा दुवै कम्पनीले निरन्तर वृद्धि गरिरहनेछन् तर फरक रूपमा ।

एप्पलले भविष्यमा अहिलेजस्तो धेरै आइफोनहरू बजार पठाउन सक्नेछैन । बजारमा हुने प्रतिस्पर्धाका कारण एप्पलको डिभाइस बिक्री घट्ने उनको अनुमान छ ।

एप्पलले आफ्नो वृद्धिलाई ठप्प हुन नदिने एउटा ‘ब्रेकथ्रु’ उत्पादन बजार पठाउनुपर्ने उनको ठहर छ । योबाहेक कम्पनीले आफ्नो ठूलो बजार पनि खोज्नुपर्ने उनको सुझाव छ ।

अमेजन एप्पलभन्दा कान्छो कम्पनी हो । यसको अझै कैयौं देशमा आफ्नो उपस्थिति नै छैन । त्यसकारण अमेजनलाई वृद्धिका लागि एप्पललाई भन्दा बढी अवसर पर्खिरहेका छन् । अमेजनको ग्राहक आधार पनि एप्पलको भन्दा बढी छन् ।

‘एप्पलभन्दा अमेजन मास मार्केट प्लेयर हो,’ उनी भन्छन्, ‘जोकोहीले अमेजनको सेवा लिन सक्छन् ।’

‘एप्पलको हकमा एक ग्राहकले एक वर्षमा बढीमा एउटा डिभाइस मात्रै किन्न सक्ने हुन्छ । यो हिसाबले अमेजनको सम्भावना एप्पलको भन्दा बढी हुनेछ ।’

योबाहेक दुवै कम्पनीले भविष्यमा सामना गर्नुपर्ने अन्य चुनौती पनि छन् । यी दुवै कम्पनी यति ठूला भए कि भविष्यमा दुवै कम्पनीले विभिन्न देशका नियमनकारी निकायबाट ठूलो चुनौती थेग्नुपर्नेछ । नियमनकारीको आँखा पर्नु भनेको टयाक्स बढी तिर्नु पनि हो ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?