कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

अब कारमा चढेर उड्ने दिन आयो !

दिनेश यादव

काठमाडौँ — वैज्ञानिक तथा प्राविधिकहरुले १२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार पारेका छन् । अब यसको विक्री सुरु गर्ने तर्खर गरिँदैछ । कार निर्माता कम्पनिले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्दैछ । ग्राहकले भने अर्को वर्षदेखि मात्रै यो कार घर लान पाउने छन् ।

अब कारमा चढेर उड्ने दिन आयो !



एक मिनेटभन्दा कम समयमा स्वचालित रुपमा उडान भर्नसक्ने क्षमताको यो कारको गति २०० किमी प्रतिघन्टाभन्दा धेरै रहेको छ । ‘हाइब्रिड–इलेक्ट्रिक’ कारको निर्माण भल्भोको भगिनी कम्पनी टेर्राफुगियाले गरेको हो । कम्पनीले हलुका स्पोर्ट बाहनहरुको कम्पनीले उत्पादन गर्दै आएको छ । संचार माध्यमहरुका अनुसार कम्पनीले तत्कालै यसको मूल्य तोकेको छैन । तर, एउटा कारको अनुमानित लागत २ लाख ७९ हजार अमेरिकी डलर रहेको जनाइएको छ ।


सन् २००६ मा निर्माण थालेको कम्पनिले तीन वर्षपछि बल्ल यसको पहिलो परिक्षण उडान गरेको थियो । त्यसपछि कारको परिक्षण र परिमार्जन कम्पनीले सँगसँगै जारी राखेको थियो । पहिले दुईजना बोक्ने गरी बनाइएको यो कारमा चारजना अट्ने गरी विकसित गरिएको छ । टेर्राफुगियाका अनुसार यो कारले १६० किलोमिटरप्रतिघन्टाको वेगमा ६४० किलोमिटरसम्म उडान भर्न सक्छ । बजारमा उपलब्ध हुने बेलासम्म यसमा थप सुधार र परिमार्जन गरिने कम्पनीले जनाएको छ ।

यसमा सिट थप्ने, लगेज स्टोरेज बढाउने, सिट बेल्ट र एयरब्याग्समा सुधार गर्नेगरि काम भईरहेको छ । यसमा जडान गरिएको ‘रियर–भ्यु’ क्यामेरा र एउटा नयाँ पारासुट प्रणालीले कारलाई उन्नत बनाई दिएको छ । आपातकालिन अवस्थामा पारासुटले यात्रुलाई सुरक्षित अवतरणका लागि सहयोग गर्नेछ । यात्रा शुरु गर्नुअघि कारमा जडित कम्प्युटरमा यात्रुले आफ्नो गन्तव्य टाइप गर्नुपर्नेछ । त्यसपछि ढुक्क भएर बसे हुन्छ, आफैं गन्तव्यमा पुगिने छ । रनवे नचाहिने, चालकको पनि आवश्यकता नपर्ने भएकाले व्यापारिक र आकस्मिक प्रयोजनमा यो कोशेढुंगा सावित हुने विश्वास लिइएको छ ।


अमेरिकास्थित फेडरल एभिएसन एड्मिनिस्ट्रेसनद्वारा दुई वर्षअघि नै यो कारले एउटा हलुका ‘स्पोर्ट एयरक्राप्ट’ का रुपमा मान्यता प्राप्त गरिसकेको छ । यसले राष्ट्रिय राजमार्ग गुड्ने गरी ट्राफिक सुरक्षा मापदण्ड समेत पुरा गरिसकेको छ । तर उपभोक्ताहरुले यसका लागि कार चालकको अनुमति मात्रै हैन, विमान चालकको लाइसेन्स पनि लिनु पर्नेछ । साना विमानस्थलमा अवतरण गर्न र घरसम्म सजिलै ड्राइभ गर्न सक्ने भएकाले उपभोक्ताले बढी रुचाउने दाबी गरिएको छ । यो कारमा उड्नका लागि दुईटा पखेटा जडान गरिएको छ, जसको तौल १३ सय पाउण्ड रहेको छ । यसमा ल्याण्डिङ गियर फिक्ड गरिएको छ । यो अधिकतम १० हजार फिट उचाईमा उड्न सक्छ ।


‘टिएफ–एक्स’ नाम दिइएको यो कारमा चारजनासम्म अटाउन सक्ने गरी बनाउने योजना कम्पनीको छ । यो कारको विशेषताबारे कम्पनीले भनेको छ, ‘टीएफ–एक्सलाई उडान भर्न र अवतरण गर्न कुनै विमानस्थलको आवश्यकता पर्दैन, यो सबै खालको सडक र राजमार्गमा गुड्न सक्छ । यसले डोर–टू–डोर पारवहनको सुविधा समेत दिन सक्छ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) क्रिस ज्यारानले जुलाईमा भनेका थिए, ‘यो नयाँ प्रविधिको विकासले धेरै खालको यन्त्रहरु तथा त्यसलाई उन्नत बनाउन सहयोग पुगेको छ । धेरै पटकको परिक्षणपछि परिमार्जित गर्दै बजारमा ल्याउने तयारी गरेका हौं ।’ उपभोक्ताहरुले खरिद गरेर आ–आफ्नो घरमा लग्ने बेलासम्म यसलाई थप उन्नत र सुरक्षित बनाउने योजना आफूहरुको रहेको ज्यारानले बताए ।


‘टिएफ–एक्स’ले स्वचालित रुपमा अन्य एयर ट्राफिक, खराब मौसम र प्रतिबन्धित तथा टावर–नियन्त्रित एयरस्पेसबाट आफूलाई सुरक्षित राख्न सक्षम छ । यो बाहनमा जडान गरिएको ब्याट्री यसको इन्जिनबाट रिचार्ज हुने या विद्युतिय कार चार्जिङ स्टेशनमा रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । ‘द टाइम’ अखबारका अनुसार उत्पादक कम्पनीले गत नोभेम्बरमा चिनिया कार कम्पनी गीलीसंग आर्थिक र प्राविधिक सहयोग मागेको थियो । चिनियाँ कम्पनीले यसमा लगानी, प्राविधिक सहयोग र जनशक्ति दश गुणा बढाएको थियो, दुई सय इन्जिनियर्सले यसमा काम गरेका थिए । बेलायती अनलाईन खबर ‘मिरर’ का अनुसार स्वचालित भएपनि खरिदकर्ताले सडक तथा हलुका विमान चालकको अनुमति पत्र चाहि लिनै पर्नेछ । कम्पनीले निकट भविष्यमा कार्गो र यात्रु सेवाका लागि टिएफ–२ ल्याउने तयारी पनि गरेको जनाएको छ ।


(एजेन्सीको सहयोगमा)


प्रकाशित : आश्विन १२, २०७५ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?