२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

द्रुतगतिमा गुड्ने सुपरसोनिक हाइपरलुप क्याप्सुल बन्यो 

दिनेश यादव

काठमाडौँ — स्पेनस्थित हाइपरलुप ट्रान्सपोर्टेशन टेक्नोलजी (एचटीटी) ले गत मंगलबार पहिलो पटक आफ्नो पूर्ण आकारको यात्रुबाहक क्याप्सुल (रेल) सार्वजनिक गरेको छ ।

द्रुतगतिमा गुड्ने सुपरसोनिक हाइपरलुप क्याप्सुल बन्यो 

यसले यात्रुहरुलाई अतितिब्र गतिमा एउटा चुम्बकीय नलीमा गुड्ने क्याप्सुलमार्फत यात्रा गर्ने सपना पुरा हुने निश्चित बनेको छ । टेस्ला कम्पनीका संस्थापक एलन मस्कको मस्तिष्कको उपज हो, हाइपरलुप । सन २०१३ मा उनले एउटा ह्वाइटपेपरका रुपमा यसको आधारभूत डिजाइन सार्वजनिक गरेका थिए । यो एउटा ट्युबमा चल्छ, जसमा हावाको मात्रा अत्यन्तै कम या नगन्य हुन्छ । हाइपरलुपको सिद्धान्त अनुसार यो ध्वनीको गति भन्दा पनि तीव्र गतिमा चल्न सक्छ ।


हाइपरलुप क्याप्सुल चुम्बकीय शक्तिमा आधारित प्रविधि हो । यस अन्तर्गत खम्बाको माथि एलिभेटेड पारदर्शक ट्युब जडान गरिएको हुन्छ, जसबाट बुलेट जस्तै देखिने लामो सिंगल डब्बा हावामा तैरिंदै गुड्छ । यसमा घर्षण नभएकाले यसको गति ७६० माइलप्रतिघन्टा (१२ सय किलोमिटर प्रतिघन्टा) भन्दा बढी हुन सक्छ । यसको विशेषता भनेको न्युन विद्युत खर्च, घर्षणरहित सञ्चालन र यात्रु तथा मालसमानको ओसारपोसार तिब्र गतिमा गर्न सक्नु हो ।


क्याप्सुलमा तीन भाग रहेको हुन्छ । अगाडिको भागमा वायु–कम्प्रेसरमा एयर इन्लेट, फ्यान, एयर स्टोरेज र मोटर जडान गरिएको हुन्छ । यसको बीच भागमा यात्रु चढने या मालसमान ओसारपोसार गर्ने डब्बा र पछाडिको भागमा ब्याट्री राखिएको हुन्छ । एचटीटी कम्पनीका सिईओ डर्कले भने, ‘तीन वर्षभित्र एउटा पूर्ण हाइपरलूप प्रणालीमा हामी यात्रा गर्न सक्ने हुन्छौ ।’


हो, अबको केही वर्षभित्रै सुपरसोनिक टर्वेजेट विमान ‘कन्कर्ड’ पछिको सबैभन्दा द्रुत गति भएको पारवहन साधन हाइपरलुप क्याप्सुल बन्दैछ । कन्कर्डको गति १३ सय ५४ माइल प्रतिघन्टा हन्छ छ भने हाइपरलुपको गति ७६० माइल प्रति घन्टा हुनेछ । यसैगरि बोइङ ७३७ को गति ४८५, बुलेट ट्रेनको गति २७५ र युरोस्टारको गति १८६ माइल प्रति घन्टा हुन्छ । विश्वकै पहिलो व्यापारिक हाइपरलुप सम्भवत: अर्को वर्षदेखि सञ्चालनमा आउँने दाबी कम्पनीको छ । धेरै पटकको परीक्षणपछि यसलाई सञ्चालनमा ल्याउनेगरि तयारी भइरहेको कम्पनीले जनाएको छ ।

एचटीटीले स्पेनको प्युएर्टो डी सान्ता मारियामा आफ्नो पूर्ण आकारको यात्रुबाहक यो साधन सार्वजनिक गरेको हो । भविष्यको आधुनिक यो पारवहनबारे मस्कको सपना साकार पार्नेमा कम्पनी पहिलो बन्ने तर्खरमा छ । ‘क्वीन्टेरिया वन’ लाई डब गरि बनाइएको विशाल हाइपरलुप क्याप्सूलको लम्बाई १०० फीट र तौल ५ टन रहेको छ । कम्पनीले यसको निर्माण सेन्सर–एम्बेडेड कार्बन फाइबर सामग्रीबाट गरेको हो । यो विशेष सामग्रीको नाम ‘भाईब्रेनियम’ हो ।


वाहनलाई ‘पोड’ वा ‘क्याप्सुल’ भन्ने गरिएको छ । यसको भित्रि भागको बनाबटलाई २८ देखि ४० यात्रुले यात्रा गर्ने गरि विकसित गरिंदैछ । क्याप्सुललाई थप परिमार्जन र ट्र्याकमा पुर्ण रुपमा परीक्षण गर्नका लागि फ्रान्सको टोलुजस्थित अनुसन्धान तथा विकास केन्द्रमा लगिएको छ । पूर्ण आकारको प्रोटाटाइप क्याप्सूल एयरटिफिशियलको एयरोस्पेसमा निर्माण गरिएको थियो, जुन कम्पनी एचटीटीको एउटा साझेदार पनि हो । एचटीटीका सह–संस्थापक र सिईओ डिर्क अहलबोर्न भन्छन्, ‘यो क्याप्सुलले इन्जिनियरिंग र अत्याधुनिक सामग्रीको विकासलाई प्रतिनिधित्व गर्छ । हाइपरलुपका लागि आवश्यक पर्ने सबै प्रविधिको निर्माण मात्र पाँच वर्षमा गरिनु महत्वपूर्ण उपलब्धी हो । यसका लागि चाहिने न्यु लेमिटेसन प्रणाली (नयाँ उत्थान प्रणाली), भ्याकुम पम्प, ब्याट्री र स्मार्ट कम्पोजिट्समा गजबको सुधार गर्दै सफल भएका हौ ।’ उनले यो क्याप्सुल हालसम्मकै सबैभन्दा कुशल परिवहन प्रणालीहरुको एउटा हिस्सा हुने दाबी गरे ।

सन् २०१३ मा मस्कले हाइपरलुपबारे आफ्नो मन्तब्यमा भनेका थिए, ‘यात्रुहरुले हाइपरलुपमा चढेर ३० मिनेटमा लस एन्जेलसबाट सनफ्रान्सिस्कोसम्मको ३८० माइल (६१०किमि) यात्रा गर्न सक्नेछन्, जुन विमानको तुलनामा आधा समय हुनेछ ।’ मौसम र भूकम्पविरुद्ध सुरक्षाका लागि ट्युबलाई जमिन भन्दा माथि राखिएको छ । विभिन्न कम्पनीहरु हाइपरलुप टीटीसंगै यो प्रविधि ल्याउनका लागि प्रतिस्पर्धामा उत्रेका छन् । जसमा एलोन मस्कको अर्रिभो र भर्जिन हापरलुप वन पनि समावेश छ ।


भर्जिन हाइपरलुप वन, जसलाई मुगल रिचर्ड ब्रैनसनको समर्थन छ, नेवादा भरुभूमिमा १६ सय फिटसम्म परीक्षणका लागि ट्र्याक बनाइएको छ । डाउनटाउन डनभरमा एक हाइपरलुप–प्रेरित प्रणालीमाथि एरिभोले काम गरिरहेको छ । कम्पनीले चीन र विश्वभरिको परियोजनाहरुलाई अगाडी बढाउनका लागि राज्य सञ्चालित लगानीका साथै साझेदारी गर्न सफलता पाएको छ । एचटीटीले सन २०२० सम्म आबुधाबीमा पुर्ण रुपमा परिचालित हायपरलुप प्रणाली सञ्चालनमा ल्याउन प्रतिबद्धता जनाईसकेको छ । यो ट्र्याक लगभग ६०० माइल लामो हुनेछ । आबुधाबी र दुवईको सीमास्थित अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यो रहने छ ।


– एजेन्सीहरुको सहयोगमा



प्रकाशित : आश्विन २१, २०७५ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?