‘इन्सेक्ट आर्मी’ बनाउने तयारी

दिनेश यादव

काठमाडौँ — बाली नष्ट हुनबाट जोगाउन अमेरिकी रक्षा नियोग पेन्टागनले ‘इन्सेक्ट आर्मी’ (किट सेना) बनाउने जनाएको छ । यसका लागि अध्ययन समेत सुरु गरिसकिएको छ । 

‘इन्सेक्ट आर्मी’ बनाउने तयारी

अमेरिकी सेनाको अनुसन्धान नियोग डिफेन्स एडवान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी (डार्पा) ले विरुवा र बालीको ‘जीन इडिटिंग’ प्रविधिबारे अध्ययन थालेको हो । बालीलाई किराफट्यांग्राबाट जोगाउन यो प्रविधिको विकासमा जोड दिएको पेन्टागनले जनाएको छ ।


यस परियोजना अन्तर्गत बालीलाई क्षति पुर्‍याउन सक्ने किराफट्यांग्राको सूची तयार पारिदै छ । ती किराहरुको प्रकृति हेरी विशेष प्रकारको ‘बग्स’ को प्रयोग गरी गहूँ र मकैलाई हानिकारक किराहरुबाट बचाउन सकिने दाबी शोधकर्ताहरुको छ ।


डार्पाको वेबसाइटले यो प्रविधिलाई एउटा मात्र मौसममा प्रयोग गर्न सकिने जनाएको छ । ‘जर्नल साइन्स’मा प्रकाशित लेख अनुसार यसलाई ‘इन्सेक्ट एलाईज’ नाम दिएको छ । यसले बालीमा लागेको किरालाई तत्कालै समाप्त पार्ने क्षमता राख्छ । वैज्ञानिकहरुले भने ‘बायोलजिकल ह्वेपन (जैविक हतियार) भनेका छन् ।’ एउटा फ्रेन्च र दुई जर्मन विश्वविद्यालयका पाँच जना वैज्ञानिकहरुले यसबारे ‘साइन्स’ पत्रिकामा सूचना सम्प्रेषण गरेका छन् ।


फौजी किराबारे नेपाली किसानहरु जानकार नै छन् । ती फौजी किराले किसानले खेतमा लगाएको बालीलाई क्षति पुराउँछ । तर अमेरिकामा तयार पार्न लागेको ‘किट सेना’ ले बालीनालीलाई हानीकारक किरा फट्यांग्राबाट बचाउन सक्छ । ‘लाइफ साइन्स’ ले बालीमा फैलिने हानिकारक किरा नियन्त्रण गर्न अमेरिकामा ‘आर्मी अफ भाईरस’ बनाउन लागेको जनाएको छ ।


जैविक हतियारका रुपमा प्रयोग हुन सक्ने भन्दै केहीले ‘किट सेना’ को विरोध गरिरहेका छन् । ‘युनिभर्सिटी अफ फ्रेबर्ग’मा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक सिलजा भोएनेकीले विरुवा या बालिनालीमा ‘जीन एडिटिङ’ प्रक्रिया जैविक हतियार सन्धिको उल्लघंन भएको प्रतिक्रिया दिए ।


आलोचकहरुले भने यो खतरनाक हुनसक्ने भन्दै परियोजना तत्कालै बन्द गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । वैज्ञानिक तथा अनुशन्धानकर्ताहरुले विशेष प्रविधिबाट तयार पारिने ‘इंसेक्ट एलाइज’ भविष्यमा समस्या खडा गर्न सक्ने खालको छ । उनीहरु भन्छन्,‘अमेरिकाको यो निर्णय विरुद्ध आवाज उठाउनु पर्छ ।’ यसका लागि उनीहरुले एउटा ‘वेभसाइट’ बनाएरै जनतालाई सचेत गराउन थालेका छन् ।


तर, कन्सास स्टेट विश्वविद्यालयका प्लान्ट प्याथोलजिस्ट जेम्स स्ट्याक भने ‘किट सेना’ को पक्षमा उभिएका छन् । उनी भन्छन्,‘किरा फट्यांग्रा सम्बन्धी प्रविधि प्रयोगबारे प्रश्न खडा गर्नु तर्कहीन छ ।’ डार्पा इन्सेक्ट अलाइजका कार्यक्रम निर्देशक ब्लेक बेक्सटीन भन्छन्,‘यो कार्यक्रमले शान्तिको स्थितिको अवहेलना गर्दैन । यसको भावी असरबारे चाही सरकारी नियोगहरुबाट जाँच भइरहेको छ, आत्तिनु पर्ने अवस्था छैन । ’ यसो त यसको तयारी कृषि सुरक्षालाई ध्यानमा राखेर गरिएको उनले बताए ।


‘सर्वसाधारण डराउनु पदैन’ बेक्सटीनले भने,‘यो प्रविधि दुई तरिकाले प्रयोग गर्न सकिन्छ । एउटा कसैलाई बचाउन र अर्को हानी पुर्याउनका लागि हुन सक्छ । यी दुई कार्य बिना उच्च र आधुनिक प्रविधिको सम्भव छैन ।’


वैज्ञानिकहरुका अनुसार विरुवाको ‘जीन एडिटिंङ’ गरी वंशाणुलाई सक्रिय वा निस्क्रिय बनाउन सकिन्छ । सुख्खा मौसममा यो प्रविधिबाट विरुवाको विकासलाई रोक्नु हो । मौसममा सुधार भएकोपछि यो ‘जीन एडिटिंङ’ कार्य अगाडि बढाउन सकिन्छ । यसबाट किसानलाई हानी हुदैन । तैपनि किसानहरुले समस्या भोग्न सक्ने भन्दै बेलायती शोधकर्ताहरुले अनुशन्धान समेत गरिरहेका छन् ।


उनीहरुले अध्ययनका क्रममा एउटा मलिक्यूल बनाएका छन,जसले किराहरुको सुँघ्ने क्षमतालाई प्रभावित गर्न राख्छ । जैविक विज्ञानका शोधकर्ता एन्टोनी हुपरका अनुसार किराहरुको सुँघ्ने क्षमता नै समाप्त पारेपछि त्यसबाट विरुवा या बाली हानी पुग्दैन । यो नयाँ प्रविधि कृषकका लागि महत्वपूर्ण हुन सक्छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : कार्तिक ७, २०७५ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?