एप्पलका नयाँ तीन

कान्तिपुर संवाददाता

काठमाडौँ — एप्पलले आइफोनबाहेकका लोकप्रिय आफ्ना नयाँ उत्पादन न्युयोर्कमा मंगलबार सार्वजनिक गर्‍यो  । एप्पलले नयाँ म्याकबुक एयर, म्याक मिनी र आइप्याड प्रो सार्वजनिक गरेको हो  ।

एप्पलका नयाँ तीन

एप्पलले सार्वजनिक गरेका नयाँ तीन उत्पादन कस्ता छन् त ?


म्याक बुक एयर

एप्पलले आठ वर्षपछि आफ्नो लोकप्रिय उत्पादन म्याकबुक एयरको डिजाइनमा परिवर्तन गरेको छ । नयाँ म्याकबुक एयर कम्पनीले उत्पादन गरेको सबैभन्दा पातलो र हलुका ल्यापटप हो । १३.३ इन्चको ल्यापटपमा हाई रिजोलुसनको रेटिना डिस्प्ले प्रयोग गरिएको छ ।


म्याकबुक एयरमा १.६ गिगाहर्जको कोर आइफाइभ सीपीयू, ८ जीबीको र्‍याम र १२८ जीबीको एसएसडी प्रयोग गरिएको छ । र्‍यामलाई बढाएर १६ जीबीसम्म र एसएसडीलाई १.५ टेराबाइटसम्म पुर्‍याउन सकिनेछ । यसमा इन्टेलको आठौं जेनेरेसनको प्रोसेसर प्रयोग गरिएको छ ।


यसको ट्रयाकप्याड र किबोर्डको डिजाइनमा परिवर्तन गरिएको छ । साथै, यसमा फिंगरप्रिन्टमार्फत लग इन गर्न सकिने नयाँ फिचरसमेत समावेश गरिएको छ । एयर पूर्णत पुन: प्रयोग गर्न मिल्ने वस्तुहरू समावेश गरेर निर्माण गरिएको एप्पलको दाबी छ ।

म्याक मिनी

म्याक मिनीलाई एप्पलले डेस्कटप, माउस र किबोर्डबिनाको कम्युटरका रूपमा ब्रान्डिङ गर्दै आएको छ । चार वर्षपछि यसको डिजाइनमा परिवर्तन गर्दै कम्पनीले म्याक मिनीको क्षमता बढाएको छ । म्याक मिनीले ६४ जीबीसम्म र्‍याम सपोर्ट गर्ने र २ टेराबाइटसम्म स्पेस बढाउन सकिने कम्पनीले जनाएको छ । म्याक मिनीमा चार वटा यूएसबी पोर्ट सी पोर्ट, इथरनेट र दुई वटा यूएसबी ए पोर्ट रहनेछन् ।


म्याक मिनीको बेस मोडल कोर आइथ्री प्रोसेसरसहित ८ जीबी र्‍याममा उपलब्ध हुनेछ । यसको सुरुवाती एसएसडी १२८ जीबी रहनेछ । यसको क्षमता बढाएर ६४ जीबीसम्म र्‍याम, सिक्स कोर इन्टेल कोर आई सेभेन प्रोसेसर, २ टेराबाइट एसएसडीसम्म बनाउन मिल्ने कम्पनीले जनाएको छ ।

आइप्याड प्रो

कम्पनीले दुई नयाँ आइप्याड प्रो पनि सार्वजनिक गर्‍यो । जुन स्क्रिन साइजका आधारमा दुई मोडलमा उपलब्ध हुनेछन् । यसअघि हल्ला भएझैं आइप्याड प्रोबाट टच आईडी हटाइएको छ भने यसको सट्टा फेसआईडी राखिएको छ । प्रयोगकर्ताले आइफोनमा जस्तै अब आइप्याड खोल्न पनि आफ्नो अनुहारमा भर पर्नुपर्नेछ ।


यो ११ इन्च र १२.९ इन्चको मोडलमा उपलब्ध हुनेछ । नयाँ आइप्याड प्रो अघिल्ला आइप्याडभन्दा २५ प्रतिशत पातलो भएको कम्पनीले जनाएको छ । आइप्याड प्रोमा सेभेन एनएम प्रोसेसरमा आधारमा एटुवेल्भ एक्स वायोनिक चिपसेट प्रयोग गरिएको छ । आइफोन एक्सएस र आइफोन एक्सआरमा प्रयोग गरिएको पछिल्लो ए टुवेल्भ भन्दा आइप्याड प्रोमा प्रयोग गरिएको चिपसेट बढी शक्तिशाली भएको एप्पलले जनाएको छ ।


यसले यूएसबी सी पोर्ट सपोर्ट गर्नुका साथै इसिमसमेत सपोर्ट गर्न सक्नेछ । नयाँ आइफोनमा जस्तै यसमा पनि रिभर्स चार्जिङ टेक्नोलोजी प्रयोग गरिएको छ, जसका कारण आइप्याडबाट अन्य आइफोनसमेत चार्ज गर्न मिल्छ । एप्पलले यी तीन नयाँ उत्पादनसँगै आइओएस १२.१ पनि सार्वजनिक गर्‍यो । जसमा फेसटाइममा ग्रुप भिडियो कलिङ फिचर र नयाँ स्टिकरहरू थपिएका छन् ।

प्रकाशित : कार्तिक १६, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?