१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चिनियाँले बनाए ‘नेट गार्ड ड्रोन’

अग्ला भवनहरुमा आगलागी भएको अवस्थामा मानिसको आपातकालिन उद्धार गर्न यसको प्रयोग गरिनेछ ।  
दिनेश यादव

काठमाडौँ — ड्रोनमा चासो राख्नेहरुका लागि यो एउटा खेलौना बनिसकेको छ । तर विभिन्न व्यवसायीहरुका लागि यो महत्वपूर्ण उपकरण हो । फोटोग्राफी र जासूसीदेखि घर–घरमा पिजा डेलिभरी गर्नसम्म ड्रोनको प्रयोग भएकै थियो । 

चिनियाँले बनाए ‘नेट गार्ड ड्रोन’

अब, अग्ला भवनहरुमा आपातकालिन् अवस्थामा मानिसको उद्धार गर्न समेत ड्रोन प्रविधिको उपयोग गरिने भएको छ । चिनियाा विद्यार्थीहरुले बनाएको ‘नेट गार्ड ड्रोन’ ले मानिसको जीवनको रक्षा गर्नेछ । ६ जना विद्यार्थीको समूहले अग्ला भवनहरुमा आगलागी या अन्य कुनै घटना भएको अवस्थामा मानिसलाई सुरक्षित बाहिर निकाल्नका लागि यो ड्रोनको विकास गरेको हो ।


ड्रोन एउटा हाई–अल्टिटयुड सेल्फ–ड्राइभन यूएभी उपकरण हो । ‘कन्सेप्ट मोडल’ मा आधारित भएकाले यसले इमरजेन्सी सिग्नलको आधारमा काम गर्छ । यसमा जडित जिपिएस प्रणालीले आगलागी वा अन्य घटना भएको लोकेसनमा पुग्न सहयोग गर्छ । चार वटा प्रोपेलरयुक्त यो ‘नेट गार्ड ड्रोन’ बिना कुनै अवरोधको तीव्रगतिमा उडान भर्न सक्षम छ ।

यसको केन्द्रमा नेट जडान गरिएको छ, जुन पोलियुरेथेन सामग्रीबाट बनाइएको छ । एक जनालाई सजिलै उचाल्न सक्ने क्षमताको यो ड्रोन अति उपयोगी हुने दाबी विद्यार्थीहरुको छ । यो नेट प्रोपेलरको बीचमा मोडिएर रहेको हुन्छ, घटनास्थलमा पुगेपछि स्वचालित रुपमा खुल्ने गर्छ । यो सेन्सरको सहयोगमा वस्तुको अवस्था थाहा पाएर त्यसलाई ट्रयाक गर्छ ।


बलियो उडान भर्नका लागि यसमा चार वटा फ्यान ब्लेड, स्टेटस मोड थाहा पाउनका लागि वार्निङ लाईट र अवतरणको बेला उपकरणलाई क्षति हुनबाट जोगाउनका लागि ‘ब्राकेट’ पनि जडान गरिएको छ । आपातकालिन् स्थितिमा मानिसले हाम फालेमा ड्रोनमा जडित सेन्सरले त्यसलाई पछ्याउदै मानिसलाई उद्धार गरी सुरक्षित स्थलमा लग्ने छ ।


आर्किटेक्चर र डिजाइन लगायतका क्षेत्रबारे जानकारी दिने डिजिटल पत्रिका ‘डिजाइनबूम’ का अनुसार ‘नेट गार्ड’ ड्रोन एउटा एकल क्वाडकप्टर–शैलीको ड्रोन हो । यसमा स्वचालित रुपमा नेट(जाल) फैलिने गर्छ ।

विभिन्न स्थानमा उड्न सक्ने यो ड्रोन गगनचुम्बी भवनमा आगो लागेको अवस्थामा उद्धार कार्यमा सहयोग गर्नसक्छ । चीनमा निर्मित यो ड्रोनले यसै वर्ष १३ हजार अमेरिकी डलर बराबरको ‘गोल्डेन पिन कन्सेप्ट डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको छ ।


कम्प्युटर प्रविधिद्वारा नियन्त्रित एउटा उपकरण हो, ड्रोन । यसलाई उडान भर्नका लागि कुनै पाइलटको आवश्यकता पर्दैन । यसलाई मानवरहित विमान(यूएभी) पनि भनिन्छ ।


स्वचालिक चल्ने गरी यसमा प्रोग्रामिङ गरिएको हुन्छ । व्यावसायिक रुपमा विभिन्न काममा पनि ड्रोन उपयोगी भएको प्रमाणित भइसकेको छ । ‘डोमिनोज’ ले ड्रोन मार्फत पिज्जा डेलिभरी गर्नका लागि परीक्षण गरिसकेको छ ।


इजरायल विश्वकै सबैभन्दा बढी ड्रोन बनाउने र निर्यात गर्ने मुलुक बनेको छ । अमेरिकाले १४ मिलियन डलर पर्ने महंगो मिलिट्री ड्रोन ‘एमक्यु नाइन रिपर’ बनाइसकेको छ । त्यसैगरी सबै भन्दा मंहगो यात्रु ड्रोन चाही चीनले बनाएको छ । तीन लाख अमेरिकी डलरमा उसले ‘इहाङ १८४’ ड्रोन बनाएको हो ।


पहिलो सशस्त्र ड्रोन अमेरिकाले अलकायदाका मुखिया ओसामा बिन लादेनलाई खोज्नका लागि प्रयोग गरेको थियो । युद्धमा पनि यसको प्रयोग बढ्दो छ । अब व्यवहारिक गतिविधिमा पनि यसको प्रयोग गरिन थालिएको छ ।

किसानहरुले घरमै बसेर आफ्नो खेतमा भइरहेको गतिविधिहरुलाई अवलोकन गर्न सक्ने ड्रोनको पनि विकास भइसकेको छ । मनमोहक दृश्यहरु खिच्नका लागि चलचित्र उद्योगमा समेत यसको प्रयोग गरिन्छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : मंसिर ३, २०७५ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?