२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

रोग पत्ता लगाउने हाई-टेक शौचालय 

दिनेश यादव

काठमाडौँ — बाथरुमलाई गोपनीयताको अन्तिम आधार मानिन्छ । तर, अब चाडै एउटा नयाँ हाई–टेक ल्याभोटरी(उच्च–प्रविधियुक्त शौचालय) ले मानिसका हरेक गतिविधिलाई ट्रयाक गर्नेछ । 

रोग पत्ता लगाउने हाई-टेक शौचालय 

युरोपेली अन्तरिक्ष नियोग (ईएसए) र म्यासाच्युटेट्स इन्स्टिच्युट अफ टेक्नोलजी(एमआईटी)का शोधकर्ताहरुले उक्त ‘ट्वाइलेट’ बनाउन जुटेका हुन । ‘फिटलू’ नाम दिइएको ट्वाइलेट बनाउनमा यी दुई संस्थाका विशेषज्ञहरु संयुक्त रुपमा काम गरिरहेका छन् ।


अबको पाँच वर्षभित्रै यसको व्यापारिक उत्पादन थालिने उनीहरुले बताएका छन् । यो विशेष प्रविधियुक्त ट्वाइलेट साँच्चिकै ‘स्मार्ट’ हुनेछ । यसले मानिसका विभिन्न रोगहरुको प्रारम्भीक संकेतहरुलाई ट्रयाकिङ र स्क्रिनिङ गर्दै मोबाइलमा जानकारी लिनेछ । ट्वाइलेटमा प्रयोग हुने ‘प्यान’ सेन्सरयुक्त हुनेछ । यसले व्यक्तिका रोगसहित अन्य गतिविधिहरुलाई संकलन गरी उपयोगकर्ताको मोबाइल फोन मार्फत् अवगत गराउने छ । यो मोइबाइल एपबाट सञ्चालित हुनेछ ।


यसमा जडित सेन्सरले बाथरुमबाट सम्प्रेषित जानकारीहरु संकलन गरी व्यक्तिको स्वास्थ्यमा कसरी परिवर्तन भइरहेको छ भन्नेबारे अवगत गराउने लण्डनबाट प्रकाशित हुने ‘डेली टेलिग्राफ’ ले लेखेको छ ।

उसले डिजिटल शौचालय बोर्ड गठबन्धनको नेतृत्व गर्ने स्वास्थ्य र स्मार्ट स्यानिटेसनका माइकल लिंडेनमेयरलाई उद्धत गर्दै भनेको छ ‘यो शौचालयले मानिसलाई उनीहरुको स्वास्थ्यमाथि नियन्त्रण हासिल गर्न अविश्वसनीय अवसर प्रदान गर्छ ।’


शौचालय निर्माताहरुमध्येका एक माइकलले भनेका छन,‘मानिस जब बिरामी हुन्छन, तब मात्रै चिकित्सकहरु कहाँ पुग्ने गर्छन् । फिटलू ट्वाइलेटले तपाई बिरामी भएको कुरो पहिले नै भनिदिनेछ । तपाईलाई उपचारमा सहयोग पनि गर्नेछ ।’ उनी थप्छन्, ‘हामीले आफ्नो शरिरलाई पर्याप्त सुन्दैनौ, ध्यान दिदैनौ तर जब हामी यो स्मार्ट ट्वाइलेटको प्रयोग गर्छौँ, हामी आफ्नो शरिरप्रति सचेत हुनेछौँ । ’

माइकलका अनुसार मानिसले दिनहू धेरै पटक ठूलो परिमाणमा आफ्नो स्वास्थ्यसँग सम्बन्धित जानकारी बाथरुममा फ्लस गरेर बगाई दिने गर्छन् । फिटलू स्मार्ट ट्वाइलेटले ती जानकारीहरुलाई एकत्रित गर्दै मोबाइलमा सम्प्रेषण गरिदिनेछ । खासगरी यसमा भएका सेन्सरबाट प्रयोगकर्ताको मोबाइल फोनमा पुग्नेछ , यसले तपाईको स्वास्थ्यमा के गडबडी या परिवर्तन भइरहेको देखाउने छ ।


बेलायती ‘एक्सप्रेस’ अनलाइनका अनुसार अन्तरिक्षमा प्रयोग भइसकेको यस प्रकारको शौचालय अब सर्वसाधारणले पनि प्रयोग गर्न सक्ने छन् । मानिसको दिशापिसाबको ‘मोनिटर’ गर्दै यसले ऊ बिरामी भए/नभएको जानकारी समेत दिनेछ ।


यसलाई अर्को पिढिको स्मार्ट शौचालयको संज्ञा दिइएको छ । यो शौचालय व्यापारिक रुपमा पाँच वर्षभित्रै बजारमा ल्याउने गरी तयारी भइरहेको छ । अन्तरिक्षयात्रीका लागि प्रयोग गरिने यो शौचालयमा केही प्रविधिहरु जडान गर्नुपर्ने भएकाले डमेस्टिक ट्वाइलेट बनाउनमा समय लाग्ने भएको हो ।


हाइ–टेक शौचालयको प्रमुख विशेषताहरुमा यसले ग्लुकोजको लेभेलमा परिवर्तनबारे जानकारी दिदै रोगहरुको उपचारमा सहयोग पुर्‍याउनेछ । ट्वाइलेटभित्र डेटा प्रयोग गरेको अवस्थामा यसले तपाईको मोबाइल फोनमा जानकारी पठाउने छ ।


ईएसएका अनुशन्धानकर्ताहरुले अन्तरिक्षमा प्रयोग गरिएको प्रविधि डमेस्टिक ट्वाइलेटमा उपयोग गर्दैछन् । अन्तरिक्ष यात्रुले आफ्नो स्वास्थ्यको मनिटर गर्न धेरै पहिले यो प्रविधिको उपयोग गरिसकेका छन् ।


अनुशन्धानकर्ताहरुका अनुसार सार्वजनिक ट्वाइलेटमा लगाइने यस्ता सेन्सरले सरकारी स्वास्थ्य अधिकारीलाई समुदायमा फैलिन सक्ने रोगको भविष्यवाणी गर्दै नियन्त्रण गर्न सहयोग पनि गर्नेछ । त्यस्तै, स्मार्ट ट्वाइलेटले तपाईको दिशाको ट्रयाकिङ गर्दै क्यान्सर र मधुमेह रोगको प्रारम्भीक संकेतहरुबारे जानकारी पनि दिने छ ।

ट्वाइलेट बउलमा रहेको सेन्सरहरु मार्फत् तपाईको पिसाबमा आवश्यकता भन्दा बढी प्रोटिन या ग्लुकोज निस्किरहेको भन्नेबारे पनि जानकारी यसबाट लिन सकिने शोधकर्ताहरुले बताएका छन् ।

(एजेन्सीहरु)

प्रकाशित : मंसिर ११, २०७५ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?