कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

फोजी प्रयोगकर्ता २० लाख नाघे

थ्रीजी प्रयोगकर्ता १ करोड बढी
सेवा विस्तार भए झन् बढ्छ : प्राधिकरण
विजय तिमल्सिना

काठमाडौँ — नेपालमा फोजी सेवा सुरु भएको करिब २ वर्षमा प्रयोगकर्ता २० लाख नाघेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार असोजसम्म दूरसञ्चार सेवा प्रदायकको फोजी प्रयोगकर्ताको संख्या २० लाख ६० हजार नाघेका छन् ।

फोजी प्रयोगकर्ता २० लाख नाघे

सबैभन्दा धेरै फोजी प्रयोगकर्ता एनसेलका छन् । एनसेलका फोजी प्रयोगकर्ता १३ लाख ५८ हजार बढी रहेको प्राधिकरणले जनाएको छ । एनसेलले फोजी सेवालाई दुई दर्जन बढी सहरमा विस्तार गरेको छ । २०७४ जेठबाट उसले फोजी सेवा सुरु गरेको हो ।


एनसेलभन्दा ५ महिनाअघि नै फोजी सेवा सुरु गरेको नेपाल टेलिकमका प्रयोगकर्ता ६ लाख ५२ हजार नाघेका छन् । टेलिकमले काठमाडौं उपत्यका र पोखरामा मात्रै फोजी सेवा उपलब्ध गराउँदै आएको छ । देशैभर फोजी विस्तार गर्ने योजनासहित टेलिकमले अघिल्लो वर्ष टेन्डर आहवान गरेको थियो ।


देशैभर फोजी विस्तारको लागि टेन्डरमा सहभागी कम्पनीको मूल्यांकन गर्दै यसै साता कामका लागि सम्झौता गर्ने तयारी छ । टेलिकमले २०७३ पुसमा उपत्यका र पोखरामा परीक्षणका रूपमा फोजी सेवा सुरु गरेको हो । अर्को सेवा प्रदायक स्मार्ट टेलिकम प्रालिका फोजी प्रयोगकर्ता करिब ५० हजार रहेको प्राधिकरणले जनाएको छ ।


वैशाखयता मात्रै मात्रै सबै सेवा प्रदायकले कुल ४ लाख १४ हजार बढी फोजी प्रयोगकर्ताको संख्या बढाएका छन् । वैशाखसम्म तीनै सेवा प्रदायकका कुल फोजी प्रयोगकर्ता १६ लाख ४५ हजार थिए । सीमित सेवा भए पनि फोजी प्रयोगकर्ताको बढ्दो संख्याले उपभोक्ताहरू गुणस्तरीय सेवातर्फ आकर्षित भएको संकेत गर्ने विश्लेषकहरू बताउँछन् ।


नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल छोटो समयमै फोजी प्रयोगकर्ताको संख्यामा भएको वृद्धिले उपभोक्ताहरू द्रुत गतिको इन्टरनेटमा आकर्षित भएको ठम्याउन सकिने बताउँछन् । ‘सेवा प्रदायकले पनि उपभोक्तालाई सस्तो मूल्यमा सेवा दिए र सेवा विस्तार गरे भने यो संख्या धेरै बढ्न सक्छ,’ उनी भन्छन्, ‘प्राधिकरणले डाटालाई सस्तो बनाउन प्रयास जारी राखेको छ ।’ प्राधिकरणले डाटाको मूल्य तर्कसंगत रूपमा तय गर्न सेवा प्रदायकलाई पत्राचार गरेको उनले बताए ।


थ्रीजी प्रयोगकर्ताको संख्या भने एक करोड नाघेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको असोजसम्मको तथ्यांकअनुसार नेपालमा थ्रीजी प्रयोगकर्ताको संख्या १ करोड १ लाख ३२ हजारभन्दा बढी छ । थ्रीजी सेवा दिइरहेका दुई सेवा प्रदायकमध्ये सबैभन्दा बढी प्रयोगकर्ता नेपाल टेलिकमका छन् ।


टेलिकमका थ्रीजी प्रयोगकर्ता ५३ लाख ४४ हजार बढी रहेको तथ्यांक छ । एनसेलका थ्रीजी प्रयोगकर्ता करिब ४८ लाख छन् । वैशाखयता मात्रै थ्रीजी प्रयोगकर्ताको संख्या ७ लाखले बढेको छ । वैशाखमा तीन सेवा प्रदायकको थ्रीजी प्रयोगकर्ता ९३ लाख २६ हजार बढी थिए ।


नेपालमा ब्रोडब्यान्ड (द्रुत गतिको इन्टरनेट) प्रयोग गर्नेको संख्या कुल जनसंख्याको ५४ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । जसमध्ये अधिकांशले मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन् । प्राधिकरणले सहरी क्षेत्रमा १० एमबीपीएस र ग्रामीण क्षेत्रमा ५१२ केबीपीएस गतिको इन्टरनेटलाई ब्रोडब्यान्ड भनी परिभाषित गरेको छ ।


कुल जनसंख्याको ४२ प्रतिशतले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने प्राधिकरणको तथ्यांक छ । १० प्रतिशतले मात्रै तारसहितको फिक्स इन्टरनेट प्रयोग गर्छन् ।


तथ्यांकअनुसार नेपालमा स्मार्टफोन प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । एनसेलले सार्वजनिक गरेको तथ्यांकअनुसार उसका कुल प्रयोगकर्तामध्ये ५२ प्रतिशतले स्मार्टफोन बोक्छन् । एनसेलका कुल प्रयोगकर्ताको संख्या १ करोड ६४ लाख छ ।


एनसेलले सार्वजनिक गरेको सन् २०१७ को चौथो त्रैमासिक आर्थिक प्रतिवेदनअनुसार उक्त अवधिमा कम्पनीका कुल प्रयोगकर्तामध्ये ५२ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता थिए । एनसेलले सार्वजनिक गरेको सन् २०१८ को तेस्रो त्रैमासिक आर्थिक प्रतिवेदनअनुसार उसका उपभोक्तामध्ये ५८ प्रतिशतले स्मार्टफोन प्रयोग गर्छन् ।


नेपाली उपभोक्ताले डाटा खपत पनि बढाउँदै लगेको एनसेलको तथ्यांकले देखाउँछ । यो वर्षको तीन महिना (जुलाईदेखि सेप्टेम्बर) अवधिमा १ करोड ८६ लाख जीबी डाटा खपत भएको तथ्यांक एनसेलले सार्वज्निक गरेको छ । जबकि गत वर्षको सोही अवधिमा यो ७७ लाख मात्रै थियो ।


एनसेलको यो तथ्यांकबाट नेपाली उपभोक्ताले डाटा खपत बढाएको तथ्य प्रस्तुत गर्ने अर्यालको विश्लेषण छ । गत वर्ष सो अवधिमा प्रति प्रयोगकर्ताले एक महिनामा साढे तीन सय एमबी डाटा खपत गरेकामा अहिले बढेर यो ८ सय एमबीभन्दा बढी पुगेको छ । ‘मोबाइल इन्टरनेट जहाँ पनि प्रयोग गर्न सकिने भएकाले प्रयोगकर्तालाई सहज हुन्छ,’ उनी भन्छन्, ‘गुणस्तरीय र सस्तो मोबाइल इन्टरनेटले हरेक क्षेत्रलाई डिजिटल विश्वसँग जोड्न सघाउँछ ।’


इन्टरनेटलाई सस्तो बनाउन प्राधिकरणले पूर्वाधार निर्माणमा लगानी गरिरहेको अर्याल बताउँछन् । ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरी सबै जिल्ला सदरमुकाम जोड्ने गरी अप्टिकल फाइबर बिछयाउन तीन सेवा प्रदायकलाई जिम्मेवारी दिइएको उनले बताए ।


यो परियोजनाअन्तर्गत प्रदेश १ देखि ३ का जिल्ला सदरमुकाम जोड्ने गरी अप्टिकल फाइबर बिछयाउने जिम्मा पाएको नेपाल टेलिकमले टेन्डर आहवान गरेर काम अघि बढाउने प्रक्रिया सुरु गरेको छ । अन्य भागमा कामको जिम्मा पाएका स्मार्ट र यूटीएलले काम अघि बढाएका छैनन् ।


प्राधिकरणले भौतिक पूर्वाधारमा लगानी गरेपछि सेवा विस्तारको लागत कम हुने र इन्टरनेटको मूल्य सस्तिने विश्वास अर्यालको छ ।

प्रकाशित : मंसिर २९, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?