कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नासाले खिच्यो सूर्यको सबैभन्दा नजिकबाट तस्बिर

दिनेश यादव

काठमाडौँ — अमेरिकी अन्तरिक्ष नियोग ‘नासा’ ले एकपछि अर्को सफलता हात पार्दै गएको छ । पछिल्लो साता मंगल ग्रहमा पुगेको ‘इन्साइट’ यानले त्यहाँ बतास चलेको आवाज रेकर्ड गरी पृथ्वीमा पठाएको थियो । 

नासाले खिच्यो सूर्यको सबैभन्दा नजिकबाट तस्बिर

झन्डै पाँच महिनाअघि ‘टू टच दि सन’ अभियान अन्तर्गत अन्तरिक्षमा पठाएको यान सूर्य नजिक पुगेर विभिन्न फोटो तथा जानकारीहरू पठाउन थालेको छ । ‘पार्कर सोलार प्रोब(पीएसपी)’ यानले सूर्य नजिक पुगेर जानकारीहरू पठाएको हो ।

पार्करलाई गत १२ अगस्टमा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । ताराहरूको गठन र बनावटबारे थप जानकारी प्राप्त गर्न सूर्यको वातावरण अध्ययन गर्ने उद्देश्यले यानलाई अन्तरिक्षमा पठाइएको हो ।


पार्करले पठाएका तस्बिरहरू यानमा जडित तातोबाट बच्ने कवचहरूको पछाडिबाट लिएको नासाका वैज्ञानिकहरूले बताएका छन् । डिसेम्बर १३ मा खिचिएको तस्बिरमा बुध एउटा चम्किलो बिन्दुका रूपमा देखिएको छ । फोटोमा एउटा ‘कोरोनल स्ट्रिमर’ लाई चम्किलो फ्ल्यासमा राम्ररी हेर्न सकिन्छ ।

नासाले ताराको गतिविधिहरूलाई राम्ररी बुझ्नका लागि सूर्यको सबैभन्दा नजिकबाट तस्बिर र जानकारीहरू प्राप्त गरेको यो पहिलो हो । फोटोहरू खिच्ने बेला पार्कर सूर्यको सतहबाट करिब २७ दशमलव १ मिलियन(दुई करोड ७१ लाख) किमी टाढा थियो ।


पार्करद्वारा सम्प्रेषित फोटोमा बुधलाई एउटा चम्किलो कालो धब्बा ‘ब्लोब’ को रूपमा हेर्न सकिन्छ । कालो बिन्दुहरू क्यामेराबाट ‘पृष्ठभूमि समायोजन’ का कारण देखिएको हुन सक्ने बताइएको छ । सूर्यको अत्यधिक सक्रिय क्षेत्र ‘कोरोनल स्ट्रिमर’ नजिक सौर्य सामग्रीहरू तस्बिरमा चम्किलो रेखाका रूपमा हेर्न पनि देखिएको नासाको साइटमा उल्लेख छ । खगोलविद्हरूले पार्कर मिसन सूर्यको रहस्यमय प्रक्रियालाई बुझ्न सहयोग पुग्ने मूल्यवान् तथ्याङ्कहरू उपलब्ध गराउन सक्ने अपेक्षा गरेका छन् ।


नासाको ‘गोडार्ड स्पेस फ्लाइट सेन्टर’ का एक जना अन्तरिक्ष भौतिक शास्त्री टेरी कुकेराले भने, ‘पार्कर एउटा यस्तो क्षेत्रमा प्रवेश गरेको छ, जसलाई हामीले कहिले देखेकै थिएनौँ । अझ नजिक पुगेर जुन तस्बिरहरू हामीलाई पठाएको छ, त्यो साच्चिकै हामीलाई कोशेढुंगा साबित हुनेछन् । ’ उनले एउटा निश्चित दुरीमा रहेर हामी सूर्यको कोरोना वा बाहिरी भागको निरीक्षण गर्न सक्ने अवस्थाको नजिक पनि पुगिरहेको बताए ।


नासाले पार्कर प्रोबले तीन मुख्य रहस्यहरूबारे जानकारी दिन सक्ने जनाएको छ । लामो समयसम्म वैज्ञानिकहरूलाई भ्रमित पार्ने केही तथ्यहरूलाई समेत यसले चिर्ने छ ।

यो मिसनको उद्देश्य भनेको सूर्यको बाहिर सतह वा कोरोनामा नजिकैको सतहको तुलनामा तीन सय गुणा बढी तापक्रम हुनुका कारण, सौर्य बतास तीव्र गतिमा अगाडि बढ्नुको रहस्य र सूर्यको प्रकाशको आधा गतिमा केही कणहरू कसरी निस्किन्छन् भन्ने रहस्य पनि खोतल्नु रहेको छ ।

‘पार्कर एउटा अन्वेषण अभियान हो, नयाँ खोजहरूको सम्भावना यसमा अत्यधिक छ ’ पार्कर शोधकर्ता नौर राउफीले भने , ‘पार्करको पछिल्लो गतिविधिबाट हामी हौस्सिएका छौ । ’


नासाको ‘पीएसपी’ले अहिलेसम्म सूर्यको नजिक पुगेको अन्तरिक्ष यानको तुलनामा सात गुणा नजिकसम्म पुगेर आफ्नो कार्य थालेको हो । गत अगस्टमा फ्लोरिडाको केप टाउनबाटलाई यसलाई प्रक्षेपण गरिएको थियो । यो यानले अत्यधिक ताप र विकिरणहरुको सामना गर्दैछ । ताराको नजिक पुगेको अवस्थामा यसको वेग ४ लाख ३० हजार माइलप्रति घन्टाको गति भएको नासाको रिपोर्टमा छ ।


यो यानमा सोलार प्यानल, म्याग्नेटोमिटर, हाई गेन र इलेक्ट्रोम्योग्नेटिक एन्टेना, ८ फुट व्यास र साढे चार इन्च मोटो सेरामिकले लेप गरिएको कार्बनयुक्त तापीय कवच, सौर्य नजिकका कणहरूलाई सङ्कलन गर्न फराडे कप लगायतका आधुनिक उपकरणहरू जडान गरिएको छ ।


सन् १९५८ मा सौर्य बतासबारे पहिलो पटक व्याख्या गर्ने ९१ वर्षीय युगेने पार्करको नाममा ‘पीएसपी’ को नाममा ‘पार्कर’ शब्द जोडिएको हो । उनी एक जना अन्तरिक्ष भौतिक शास्त्री हुन् । पार्कर प्रोबले सूर्यको नजिक पुग्ने रेकर्ड मात्रै तोडेको छैन यसले एउटा अन्तरिक्ष यानका लागि नयाँ गति रेकर्ड पनि स्थापित गरिरहेको छ ।

हालै ‘फ्लाईबी’(हवाईपूल) माथि यसले ३ लाख ७५ हजार किमीप्रति घन्टाको गति हासिल गरेको छ । यसअघिका यानको गति फ्लाईबीमा लगभग २ लाख ५० हजार किमीप्रतिघन्टा रहेको थियो ।

नासा/स्पेस डटकमबाट अनुवादित

प्रकाशित : पुस ५, २०७५ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?