२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सीसीक्यामेरा जडानपछि घटे अपराध

‘सीसीक्यामेराले निगरानी थालेपछि अपराधीको मनोबल गिरेको छ, चोरी/डकैती घटेको छ’
तुलाराम पाण्डे

कालीकोट — खाडाचक्र नगरपालिकाको सहकार्यमा प्रहरीले सदरमुकाम मान्म बजारमा सीसीक्यामेरा जडान गरेपछि दिनहुँजसो हुने झैझगडा, चोरी/डकैतीलगायत घटनामा कमी आएको छ । मदिरा सेवन गरेर होहल्ला गर्ने पनि बजारमा भेटिन छाडेका छन् ।

सीसीक्यामेरा जडानपछि घटे अपराध

कालीकोटलाई अपराधमुक्त बनाउन जिल्ला प्रहरीले सीसीक्यामेरा जडान गरेपछि अपराधका घटनामा कमी आएको प्रहरी निरीक्षक देवेन्द्र मल्लले बताए । ‘पहिले दिनहुँजसो चोरी, झैझगडा, कुटपिटका केस प्रहरीमा आउँथे,’ उनले भने, ‘अचेल त्यस्ता घटनामा कमी आएको छ ।’ उनका अनुसार सीसीक्यामेरा जडान हुनअघि दैनिकजसो झैझगडा, चोरी, गाली/बेइज्जतीका उजुरी प्रहरीमा आउने गरे पनि अचेल छिटफुट रूपमा सातामा एक/दुई वटामात्र आउने गरेका छन् ।


सीसीक्यामेरा जडान भएपछि चोरी/डकैती, झैझगडामा कमी हुनुका साथै नागरिक पनि अनुशासित बनेको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । उनले प्रहरीले सीसीक्यामेराबाट निगरानी गर्न थालेपछि अपराधीको मनोबल गिरेको सुनाए ।


तीन महिनाअघि मान्म बजारको मुख्य चोक तथा महत्त्वपूर्ण ठाउँमा ११ वटा सीसीक्यामेरा जडान गरिएको थियो । प्रहरीका अनुसार जिरो प्वाइन्ट, जिल्ला प्रशासन, प्रहरी र जिल्ला समन्वय समिति अगाडि, बीच बजारको बैंक चोक, प्रतिमा चोकस्थित नरहरिनाथ चोकलगायत ठाउँमा सीसीक्यामेरा जडान गरिएको छ ।


सीसीक्यामेरा जडान भएपछि मान्म बजारकी व्यापारी रीता शाहीको नगदसहितको झोला चोरी भएको एक घण्टामै फुटेजका आधारमा फेला परेको थियो । सीसीक्यामेरा फुटेजका आधारमा गाडीमा सुर्खेत जान लागेका तीन जना चोरको समूह पक्राउ परेको थियो ।


मान्म बजारमा सीसीक्यामेरा जडानका लागि जिल्ला प्रहरीको पहलमा तीन चरणको बैठक बसेर स्रोत जुटाइएको डीएसपी विनोद शर्माले बताए । कालीकोटमा हुने अपराध न्यूनीकरणका लागि सीसीक्यामेरा अत्यन्तै प्रभावकारी भएको डीएसपी शर्माको दाबी छ ।


उनले सीसीक्यामेराले अपराधीको मनोबल गिरेको सुनाए । उनका अनुसार मान्म बजारको पश्चिममा पर्ने दरबार एरियामा एक युवतीलाई हातपात गर्ने युवालाई पनि सीसीक्यामेराको फुटेजबाट पक्राउ गर्न प्रहरी सफल भएको थियो ।


प्रहरीका अनुसार मान्म बजारमा रहेका अधिकांश घर यहाँका रैथाने बासिन्दाका नभएकाले दसैं मनाउन घर गएका बेला चोरीका घटना हुने गरे पनि यस वर्ष सीसीक्यामेरामार्फत प्रहरीले विशेष निगरानी राखेकाले चोरी हुन पाएन । दुई वर्षअघि दसैंका बेला राष्ट्रिय वाणिज्य बैंकमा समेत चोरी भएको थियो ।


सीसीक्यामेराले मान्म बजारलाई सुरक्षित बनाएकाले नगरपालिकाले केही रकम साझेदारी गरेको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए । उनले नगरका मुख्य–मुख्य बजार खाडाचक्र, ताडी मोल्फा, पिली, सेरावाडा, हुल्ममा समेत सीसीक्यामेरा जडान गर्ने नगरपालिकाको योजनामा रहेको जनाए ।


मान्म बजारमा सीसीक्यामेरा जडान गर्न नगरपालिकाले पाँच लाख, जिल्ला प्रहरी कार्यालयले एक लाख, मान्मस्थित विभिन्न बैंकले एक लाख ५० हजार र कालीकोट उद्योग वाणिज्य संघले ७५ हजार रुपैयाँ उपलब्ध गराएका थिए । एउटा सीसीक्यामेरा जडानमा १८ हजारदेखि २८ हजार रुपैयाँसम्म खर्च भएको छ ।

प्रकाशित : पुस ७, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?