१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

माघ १५ देखि क्यान इन्फोटेक

काठमाडौँ — आगामी माघ १५ देखि २० सम्म सूचना प्रविधि मेला क्यान इन्फोटेक हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले इन्फोटेक आयोजना गर्न लागेको हो ।

माघ १५ देखि क्यान इन्फोटेक

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको उक्त मेला (इन्फोटेक) छ दिनसम्म चल्नेछ । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तीन वर्षपछि (सन् १९९५) देखि मेला आयोजना गर्दै आएको छ ।


भृकुटीमण्डपमा सञ्चालन हुने इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास गरिएको विज्ञप्तिमा उल्लेख छ ।


नयाँनयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनमा राखिने जनाइएको छ । मेलालाई विशेष बनाउन नयाँनयाँ स्किम पनि ल्याएको छ । मेलामा प्रत्येक तीन–तीन घण्टामा चिट्ठामार्फत अवलोकनकर्तालाई पुरस्कार प्रदान गरिने र एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।


मेलामा कुनै पनि पुराना इलेक्ट्रोनिक सामान लगेर अवलोकनकर्ताले आकर्षक गिफ्ट या अर्को सामानमा छुटसमेत प्राप्त गर्न सक्ने जनाइएको छ । नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिनेछ । सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषय अध्ययनरत विद्यार्थीले मेलास्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आईटी कम्पनीहरूमा पठाइदिनेछ र रोजगारीका लागि आवश्यक सहजीकरण गरिदिने जनाइएको छ ।


काठमाडौं बाहिर प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३, प्रदेश २ को वीरगन्जमा पुस २७ देखि ३०, प्रदेश ३ को चितवनमा माघ २५ देखि २९, गण्डकी प्रदेशको पोखरामा फागुन २४ देखि २८, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ सम्म प्रादेशिक इन्फोटेक आयोजना गरिएको संघको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : पुस २६, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?